• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

निर्मलालाई न्याय र १६ दिने अभियानको औचित्य

देवी सापकोटा

यो साता देशमा फरक फरक दृश्यहरु देखिए । कतै निर्मलाको न्यायका लागि पोष्टर टास्दै गर्दा सरकारले प्रर्दशनमा रहेका अभियान्ताहरुलाई गिरफतार गर्‍यो त कतै तामझामका साथ सामाजिक सुरक्षा कार्यक्रमको पोष्टर टासियो । निर्मलाको बलत्कार पछि हत्या भए लगतै सडकमा न्यायको आवाज उठेको हो । कञ्चन्पुरबाट मात्र होइन देशभरबाटै न्यायको दिनुपर्ने आवाज संगठित हुदैं गयो ।

 

सरकारले  घटनामा संलग्नलाई सार्वजनिक गर्नु छाडेर अभियान्ताहरुलाई नै निशाना बनायो तर अभियानमा सहभागीहरुले अन्य विषयलाई भन्दा निर्मलाको न्यायको लागि एक जुट हुन आवहान गरे जसले गर्दा यो अभियान अहिले निर्मलालाई न्याय दिलाएरै छाड्ने अठोटका साथ लागि परेको छ । ‘हामीले व्यक्तिगत रुपमै पैसा उठाएर पूर्व मेची देखी पश्चीमसम्मका लामो दुरीका सवारी साधनहरुमा स्टीकर टासीरहेको छौं, देशव्यापी प्रचारलाई अझै व्यापक बनाउँदै छौं । जुन काम एक जनाले मात्र सम्भव छैन । हाम्रो यो कार्यमा धेरैको साथ छ । यो कार्यलाई यहाँसम्म ल्याउन सामाजिक सञ्जालको ठूलो भूमिका छ ।’अभियान्ता लुना भट्टराइले सुनाइन ।   

 

दोषीलाई सार्वजनिक गर्न देशभरबाट जन–दवाब बढदो छ । सरकारले काम गर्न थालेको ९ महिना बढी भइसक्यो । आसा लाग्दा उपलब्धीहरु भन्दा पनि विवादीत र प्रचार मुखी काममा झुकाव राखेको पछिल्ला घटनाहरुबाट प्रष्ट हुन्छ ।

 

सरकारले हरेक बर्ष महिला हिंसा विरुद्ध १६ दिने अभियानको छेकोमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । तर सरकारले महिला हिंसाका घटनाका दोषीलाई सार्वजनिक गर्न जुन उदासीनता देखाइरहेको छ, त्यो देख्दा लाग्छ औपचारीकताका लागि मात्रै यस्ता अभियानहरु छन् । यदि सरकार महिला हिंसाका घटनाका बारेमा सम्बेदनशील हो भने निर्मलाले न्याय पाउन यतिका समय लाग्ने थिएन ।

 

न्यायको लागि महिनौ देखि चिच्याइरहेका निर्मलाका आफन्त र अभियान्ताहरुको स्वर दवाउन उद्दत हुदैं छ सरकार । जुन देशमा न्याय प्राप्तीका लागि महिनौ सडकमा नारा लगाउनु पर्छ, त्यस्तो राष्ट्र महिलाका सवालमा कति संवेदनशील रहेछ भन्ने कुरा त सतहमा आइसकेको छ । महिला र मानव अधिकारका सवालमा यति धेरै निष्ठुरी सरकारले कुन भावले महिला मैत्री अन्तराष्ट्रिय सन्धी संझौताहरुमा पक्ष राष्ट्र बन्छ होला । यो नै अर्को अनौठो र कतै पनि मेल नखाने विषय छ ।

 

निर्मलाको न्यायको लागि चर्कोरुपमा उठेको स्वरले देश भित्रमात्र होइन अन्तराष्ट्रिय स्तरमा समेत त्यसको चर्चा भएको छ । अन्तराष्ट्रिय समुदायले पनि यो घटनालाई निआलिरहेको छ । महिलाका सवालमा सम्बेदनशील भएको ओठे जवाफ दिदै आएका हाम्रा नेतागणको व्यवहार ठिक उल्टो रहेछ भनेर अन्तराष्ट्रिय समुदायले पनि बुझिसकेको छ । महिला मैत्री निती नियम बनाउनु र विभिन्न सन्धी संझौतामा मात्र हस्ताक्षर गर्नु ठूलो कुरा होइन त्यसलाई अनुभुत हुने गरी व्यवहारमा उतार्न सक्नुपर्छ ।

 

शक्तिमा महिला पुग्दैमा  हिंसा कम नहुने रहेछ । सरकारका हरेक निकायमा महिलाको शाषा लाग्दो उपस्थितीले महिलाले सहज अनुभुत गर्नु फरक कुरा रहेछ । जो महिला स्थानीय र केन्द्रका सरकारमा पुगे उनीहरु आम महिलाले भोगेको पिडालाई संबोधन गर्दैन्न । निर्माल पन्तको बलत्कार पछि हत्या भएको ४ महिना बितिसक्दा औलामा गन्न पुग्ने नेताले पनि हिंसाका विरुद्धमा बोल्न उचित देखेन्न । आखिर निर्णय गर्न ठाउँमा महिला पठाउदैंमा उनीहरुले महिलाका मुद्दा खरो रुपमा उठाउलान भन्ने आम नेपाली महिलाको अपेक्षा यतीबेला तितो यर्थाथ बनेको छ ।

 

एकतर्फ देश संघियता कार्यान्वयनको चरणमा छ । स्थानीय निकाय र केन्द्र विचमा राम्रो तालमेल मिल्न सकिरहेको छैन । सम्बन्ध बलियो बनाउन सरकारले प्रयाप्त कसरत गरेको देखिदैन । स्थानीय सरकार देखि केन्द्रसम्म भौतिक सेवा सुविधा कसरी बढाउने भन्ने होडबाजी चलेको छ । स्थानिय सरकारमा महिलाको प्रतिनिधीत्वले जगाएको आषा विस्तारै निराशामा बदलिदै छ ।

 

निर्णय गर्न ठाउँमा महिलाको उपस्थीति हुदाँ समेत महिला प्रतिनिधी घटनामा मौन बस्नु दुखद रहेको आम महिलाको बुझाइ छ । दुई तिहाइको सरकारले आशा भन्दा पनि आम जनतामा न्याय पाउन नसकिने रहेछ भन्ने निराशा पैदा भएको बताउँछिन नेपाल विद्यार्थी संघकी उपाध्यक्ष उर्मिला थपलिया । 
 
 
पछिल्ला अनुसन्धान अनुशार विश्वमा हरेक ३ जना महिला मध्य १ जनाले कुनै पनि किसीमको हिंसा खेप्न बाध्य हुन्छन । हिंसाका रुप फरक–फरक छन् । शारीरिक हिंसा, लैङगिक हिंसा, यौन हिंसा, आर्थिक हिंसा । बलत्कार पछि मृत्युबरण गरेकी एक अबोध बालिकालाई न्याय देउ भनेर नारा लगाउनु पर्ने यो कस्तो विडम्बना हो । पिडीतलाई न्याय दिनु सरकारको मुख्य प्राथमिकता हो । सरकारले एउटामात्रै पाटोलाई सम्बोधन गरेर पुग्दैन हरेक पक्षको संवेदनशिलतालाई बुझेर निती तथा कार्यक्रम ल्याउन आवश्यक छ तर यसतर्फ सरकारले चासो दिएको देखिदैन ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार