• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

काठमाडौंमा मंसिर २१ देखि २५ सम्म 'किम्फ' हुने 

काठमाडौं । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल ( किम्फ) को सोहौं संस्करण राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा मंसिर २१ देखि २५ गतेसम्म  (७ देखि ११ डिसेम्बेर ) शुरु हुने भएको छ । 

 

फेस्टिवलमा नेपाल लगायत ३१ वटा देशहरुका ७० भन्दा बढी फिल्महरु देखाइँदैछ । चार वर्षपछि महोत्सव पुनः राष्ट्रिय सभा गृह फर्केको हो । यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेशन फिल्महरू देखाइने भएको छ । 

 

‘वुमन मुभ माउन्टेन्स’ ट्यागलाइन रहेको यस फेस्टिवलको काठमाडौं महानगरपालिका सह आयोजक रहेको छ, जसको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउनु हो । महोत्सवमा देखाइने फिल्म तथा कार्यक्रमहरुले दर्शकलाई मनोरञ्जन दिनुका साथै आम नेपाली जनतालाई प्रभाव पारिरहेको विषयवस्तुहरु माथि पनि चर्चा परिचर्चा हुने किम्फका अध्यक्ष बसन्त थापाले बताए । 

 

किम्फको उद्घाटन बाफ्टामा मनोनयन भएको अष्टेलियाली निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री  'माउन्टेन' को विशेष प्रर्दशनीबाट हुनेछ । फिल्म 'माउन्टेन' ले पर्वतको सौन्दर्य, रहस्य र अद्भूत शक्तिलाई अती सुन्दर ढंगले प्रस्तुत गरेको छ ।

 

 

यस पटक किम्फले नेपाली ट्राभ्लर्ससँग मिलेर ‘ट्राभेल इज एन अटिच्युड’ शीर्षकमा ३५ वर्ष मुनिका युवाहरुको सर्ट फिल्म प्रतियोगिता गर्दैछ भने त्यसैगरि नेपाल पानोरमा खण्डमा परेका फिल्महरुमा युवाका प्रतिभा हेर्न पाउनेछन् । निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिवलका कला निर्देशक क्लेर जेन कार्टर, अष्ट्रेलियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा रहेका छन् । जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्महरु मध्येबाट उत्कष्ट ३ फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्महरुबाट उत्कृष्ट बृत्तचित्र र कथानक चलचित्रको छनौट गर्नेछ । 

 

अन्तराष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः अमेरिकी डलर १५००, १,००० र ५०० बराबरको नगद पुरस्कार प्रदान गरिने छ जसको प्रायोजन क्रमशः नेपाल पर्वतारोहण संघ,  दीपलक्ष्मी फाउन्डेसन र थामसेर्कु टेकिङले गरेका छन् । नेपाल पानोरामा अन्तर्गत आख्यान र गैरआख्यान विधामा क्रमशः  एक लाख र ७५ हजार रुपैयाँको नगद पुरस्कारको प्रायोजन क्रमशः मिला प्रोडक्सन प्रा.लि र नेपाल चलचित्र विकास बोर्डले गर्ने भएको छ ।  

 

किम्फमा प्रर्दशित उत्कृष्ट पर्वतीय फिल्मलाई इसिमोडले १ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गर्नेछ भने किम्फको उत्कृष्ट साहसिक फिल्मलाई आपा शेर्पा फाउन्डेसनले १ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गर्नेछ । यस्तै सबैभन्दा बढी दर्शकहरूको रोजाईमा पर्ने फिल्मले पाउने 'अडियन्स अवार्ड' को पुरस्कारका साथ ५० हजार रुपैयाँको राशी अस्कर इन्टरनेशनल  कलेजले गर्नेछ ।

 

 

सिनेकर्मी, चलचित्रप्रेमी, समीक्षक, बुद्धिजीवी, पत्रकार, लेखक, कवि, कलाकार तथा पर्वतारोहीहरुको सहभागिता रहने यस महोत्सवमा छलफल, परिसंवाद, व्याख्यान, फोटो प्रदर्शनी तथा प्रतिस्थापन कला हुनेछ ।  

 

महोत्सवको  मुख्य आकर्षणमा विख्यात अष्ट्रेलियन फिल्ममेकर जेनिफर पिडम र केसाङ छेतेनद्वारा  संयुक्त रुपमा सञ्चालन गरिने ‘मास्टर क्लास’ को पनि आयोजना गरिनेछ । । त्यस्तै  ‘किम्फ डक लाइभ पिच’ तथा ‘ओमन इन फिल्म एण्ड फेस्टिभल’ विषयक कार्यशाला फेस्टिवलमा आयोजना हुनेछ । 

 

किम्फले 'माउन्टेन्स म्याटर — अ कल फ्रम द हिमालयज', 'ब्रेकिङ कोड रेड— अ कन्भरसेसन एण्ड हाउ टु सि इट' र 'ब्रेकिङ ब्यारिएर्स — परस्पेक्टिभ अन वुमन एण्ड एड्भेञ्चर' आदि विषयमा परिसम्बाद र छलफलहरु चलाउनेछ । 

 

महोत्सवमा पौलोमी बासुको 'ब्लड स्पिक्स अ रिच्युएल अफ एक्जाइल' र उमा विष्टको 'आइ एम प्योर' भन्ने शीर्षकमा फोटो प्रदर्शनी राखिने छ । साथै सगरमाथा चढ्ने ५ जना नेपाली महिला पत्रकारहरुको आरोहण यात्राको फोटो प्रदर्शन पनि गरिनेछ । 

 

किम्फ २०१८ लाई ओपन सोसाइटी फाउन्डेसन, स्वीस सरकार विकास सहयोग, यूएनएफपिए, द नेपाली अष्ट्रेलियन फिल्म एक्सचेञ्ज, विश्व वन्यजन्तु कोष नेपाल, युरोपेली संघ तथा नेपाल पर्वतारोहण संघ आदिको सहयोग रहेको छ । ब्रिटिश काउन्सिल किम्फ २०१८ को रणनीतिक साझेदार रहेको छ भने नेपाल पर्यटन बोर्डले प्रवर्धनकर्ताको भूमिका निर्वाह गर्नेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार