• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

कांग्रेसले गर्‍यो ‘इसाईकरण’को विरोध, सामाजिक सुरक्षा कार्यक्रमको स्वागत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ लाई ‘इसाईकरण’ संज्ञा दिंदै विरोध जनाएको छ ।

 

संविधानको मर्म र भावनाविपरीत सरकारले इसाईकरणलाई प्रोत्साहन गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ । जारी केन्द्रीय समिति बैठकद्वारा उक्त आपत्ति प्रकट गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

 

आइतबार आयोजना गरिएको आकस्मिक पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने– ‘खास धार्मिक आस्थामा आधारित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधनको प्रयोग हुनु संविधानको मर्म र भावनासमेतको विपरीत रहेको हाम्रो ठहर छ ।

 

नेपाली कांग्रेस केन्द्रीय समिति सरकारको यस्तो संलग्नता र राज्यको साधान र स्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ ।’

 

यसैगरी, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको क्रम सरकारद्वारा अघि बढाउन लागिनुलाई आफ्नो पार्टीले सुखद र सकारात्मक रूपमा लिएको नेपाली कांग्रेसले जनाएको छ ।

 

तर यसको कार्यान्वयन प्रक्रिया प्रवेश क्रमको प्रचारशैली भने अनावश्यक र भड्किलो भएको ठहर नेपाली कांग्रेसले गरेको छ ।

 

आइतबार पारित निणर्यमा भनिएको छ, ‘सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसद्मा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ मा सम्माननीय राष्ट्रपतिबाट प्रमाणित ऐनको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली कांग्रेसले लिएको छ ।

 

तर हालै मंसिर ११ गते सरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझै गरेर भ्रम छर्ने गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको तस्बिर सहरमा सजाएर आफ्नो पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको विषयप्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको छ ।’

 

पत्रकार सम्मेलनमा काग्रेस प्रवक्ता शर्माले सामाजिक सुरक्षा कोषको ०४८ साल देखिनै नेपाल ट्रेड युनियन कांग्रेसले उठाउँदै आएको तथ्य यस घडीमा स्मरण गराउँदै संसदबाट पारित ऐनलाई कार्यान्वयनमा ढिलाई गरिरहँदा वर्तमान सरकारलाई दवाव दिन गत साउन ३१ गते ३ वटा ठूला ट्रेड युनियनहरुले संयुक्त पत्रकार सम्मेलन गरेको स्मरण गराएका थिए ।

 

श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचार नै गर्नु पर्दा श्रमिकको तस्वीर कही प्रयोगमा नल्याइनु तर पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रमको तस्वीरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा यत्रतत्र सर्वत्र टास्नुले नयाँ युग होइन पुरानो युगको सम्झना गरायो भन्दै काग्रेसले भनेको छ– तस्वीरको प्रकरणमा हामी सोध्न चाहन्छौँ यो कस्तो नयाँ युग जहाँ प्रधानमन्त्रीको तस्वीर टोलटोलमा, विजुलीका पोलपोलमा सजाउन हुने तर एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर उनको तस्वीर सहितको पोष्टर टाँसिदा च्यातिनु पर्ने र नागरिक गिरफ्तार हुनु पर्ने ?

 

यता कांग्रेसभित्र पार्टीको आन्तरिक निर्वाचन प्रणालीलाई एकल संक्रमणीय आधारमा गर्ने गरी विधानमा व्यवस्था गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।

 

केन्द्रीय समितिमा जारी विधान मस्यौदा समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिंदै केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार