• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

धरापमा गणतन्त्र

प्रजातन्त्रको पुर्नस्थापना पछि  सर्वमान्य नेता गणेशमान सिंहले राजनीतिक क्रान्ति समाप्त भएकोले देशमा आर्थिक क्रान्ति ल्याउनु पर्दछ भनेर लामा लामा भाषण गर्न थाल्नु भएको थियो । तर प्रजातन्त्र स्थापनाको दोस्रो बर्ष पुग्दा नपुग्दै उहाँ चिच्याइ चिच्याइ ‘प्रजातन्त्र खतरामा छ’ भन्न थाल्नुभयो ।  उहाँको भाषणसुन्दा सर्बमान्य नेतालाई साँचिकै बुढेसकाल लागेछ । त्यसैले बेमौसमी बाजा बजाउन थाल्नु भएको होला भन्ने लख काटेको थियो यो  पंक्तिकारले । पहिलो पटक राष्ट्रले प्रजातान्त्रिक संविधान पाएको थियो, दोस्रोे पटक संसदको चुनाब सम्पन्न भएको थियो र  सिंहले नै निर्माण गरेको राजनैतिक दलले  बहुमतको सरकार गठन गरेको थियो । झन्डै दुई दशकसम्म देशको एकमात्र सकृय राजा बीरेन्द्रले समेत खुशीका साथ आफुलाई संबैधानिक राजामा परिबर्तन गराई सकेका थिए ।  त्यस्तो माहोलमा पनि सिंहले प्रजातन्त्र खतरामा छ भनेर बिगुल फुकेको देख्दा उदेक लाग्थ्यो । 
 

 

त्यसपछि घटनाक्रम यति छिटो दगुर्न थाल्यो कि तीनै बर्षमा बहुमतको सरकारको पतन भयो । प्रजातन्त्रको पुर्नस्थापना पछिको संसदको चुनावमा बिश्वबाटै लोपहुन लागेका कम्युनिष्टहरुको पार्टी सवभन्दा ठूलो पार्टीका रुपमा चुनियो । त्यसपछि कम्युनिष्टहरुको अल्पमतको नौ महिने सरकार बन्यो । पहिलेका महापन्चहरुलाई परिबर्तनका सम्वाहक मानिएका कांग्रेस तथा कम्युनिष्टका नेताहरुले प्रधानमन्त्री र मन्त्रीको पद सुनको थालीमा राखेर सुम्पिए । माओबादी व्दारा संचालित हत्या, हिंसा र आतंकको रापतापले मुलुक पिल्सिन थाल्यो । दरबार हत्याकाण्डमा राजा बीरेन्द्र र उनका सवै सन्तान मारिएपछि ज्ञानेन्द्रको उदय भयो । तिनले प्रजातन्त्रको हत्यागर्ने कदम चाले ।  देशमा रहेका मूलधारका राजनीतिक दल र माओवादीका बीच भएको १२ बूँदे शान्ति सम्झौता, दोश्रो जन–आन्दोलनको सफलता, पहिलो मधेश आन्दोलन हुँदै संविधान सभाको चुनाव, अनि देशमा गणतन्त्रको स्थापना । सर्वमान्य नेताले आफ्नो बिवेकको प्रयोग गरेर प्रजातन्त्रमा आएको खतरा अरुले देख्नु भन्दा पहिले देख्नु भएको रहेछ । उहाँ साँच्चिकै दूरदर्शी नेता रहेकोमा शंका गर्न सकिने ठाउँ रहेन ।

 

देश विधिवत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको छ । राजसंस्थालाई बिदा गरेको १२ बर्ष बित्न लागी सकेको छ । गणतन्त्र अकल्पनीय जस्तो लागे पनि एकजना जनताका छोरा सात महिना राष्ट्र प्रमुख भए, अर्का सातबर्ष राष्ट्रपति रहे । र अव, अनि जनताकै छोरी राष्ट्रपति पदमा आसीन भएकी छिन । देशमा स्थानीय, प्रदेश तथा संघीय गरेर ७६१ सरकारहरु कार्यरत छन् । जुटने र फुटने पुर्व पंचहरुले निर्माण गरेका राजनीतिक दलहरु र खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा खेमा बाहेक मूलधारका सबै राजनैतिक दलहरुले आफूलाई  गणतान्त्रिक दलका रुपमा रुपान्तरण गरी सकेका  छन्। यदाकदा चाड पर्वमा पुर्व राजा ज्ञानेन्द्र आफुलाई राष्ट्रभक्त साबित गर्न देशको बिग्रदो अवस्था प्रति चिन्ता ब्यक्त गदै बक्तब्यबाजी गर्दछन् । तीनका धारणा लाई तिनकै सीमित भक्तजन बाहेक जनसाधारणले कुनै महत्व दिदैनन । यही कारणले होला पूर्व राजा पनि मठ–मन्दिरमा पूजा आराधना गरेर दिन काटदै छन् । 

 

बर्तमान परिप्रेक्ष्यमा गणतन्त्र धरापमा पर्न थाल्यो भन्नु पूर्वाग्रह पीडित विचारको उपज लाग्न सक्दछ । सरकार तथा नागरिकहरुको प्राथमिकता बीचको खाडल फराकिलो हुदै गएकोले छ देशमा जातीय तथा क्षेत्रिय सन्तुलन विग्रिन थालेकोछ । पहिचान सम्बन्धी मुद्दाहरु जस्ताको तस्तै अवस्थामा झन झन मौलाउँदै छन् । हाम्रो राजनैतिक धरातलमा कालो वादल मँडारिन थालेको परिलक्षित हुँदैछ । देशबासीमा नैराश्यको भाव फैलिएको छ र देश राजनीतिक शून्यता तर्फ जान लागेको अनुभव हुन थालेको छ । यो शून्यता गणतन्त्रका लागि किमार्थ पनि शुभ लक्षण होइन ।

 

आजका दिन सम्म आइपुग्दा देशमा 'एउटा राजा फालेर हामीले थुप्रै राजाहरु बाट कजिन पर्यो' भन्ने जस्ता शिकायत ब्यापक रुपमा बढ्न थालेकोछ । राजालाई फाल्दा जनताको मत बुझिएन, दोश्रो जन–आन्दोलनको माग संबैधानिक राजतन्त्रको पुनस्र्थापना थियो गणतन्त्र थिएन भन्ने गुमास्ता र विचौलिया बढेका छन । 'ज्ञाने चोर–देश छोड' भनेर आकासमा घन्कने नारालाई 'राजा आउ देश बचाउ' ले विस्थापित गर्ला भन्ने भय बढन थालेको छ । एउटा सत्य के पनि हो भने, राजतन्त्रको बिदाईमा पूर्व राजा ज्ञानेन्द्र जत्तिको जिम्मेवार अरु कुनै व्यक्ति वा  नेता छैनन । मुलुक गणतान्त्रिक हुनुमा प्रचण्ड र गिरिजादेखि गगन थापा सम्मको जति धेरै देन छ त्यो भन्दा अत्यन्त बढी देन ज्ञानेन्द्र कै छ । ज्ञानेन्द्र स्वेच्छाचारी, सत्तापिपाशु,  भ्रष्ट र अत्यन्त द्रब्य मोहीत नभएको भए मुलुकले यति छिटै राजतन्त्रलाई बिदाइ गर्ने थिएन।     

 

बिश्वमा लोपोन्मुख राजतन्त्रको इतिहास पल्टाउने हो भने धेरै मुलुकमा राजतन्त्रको पुनस्र्थापना पनि गरिएको छ । पछिल्लो उदहारण स्पेनको हो जहाँ ३६ बर्ष पछी राजसंस्था फर्किएको थियो । हाम्रो देश गणतान्त्रिक र धर्म निरपेक्ष संगै घोषित भएका हुन् । राजतन्त्रको बिदाइलाई गैर कानुनी भन्नेहरु भन्दा धेरै जनता मुलुकलाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्रमा परिणत गर्नु गलत थियो भन्नेहरु यो मुलुक मा छन् । धर्मनिरपेक्ष हुनुपर्ने र नपर्ने बिवादलाई एकछिन थाँती राखौ । दुबै राष्ट्रपतिको पृष्ठभूमि पृथक छ । डा. रामवरण हिन्दु धर्माबलम्बी हुन् । बर्तमान सम्माननीय राष्ट्रपति चाही उक्त पद सम्हाल्नु पुर्वसम्म खाँटी कम्युनिष्ट । कम्युनिष्ट धर्मले धर्मको बिरोध गर्दछ । धर्मलाई अफीम भन्छ । दुबै राष्ट्रपतिले धेरै बिषयमा आफुलाई राजाको भन्दा पृथक रुपमा प्रस्तुत गर्न चाहेको देखिदैन । 

 

मधेस केन्द्रीत दललाई अपबाद मान्ने हो भने राष्ट्रबासीहरु पिंजडामा परेको सुगाले जस्तो गरेर रटिने राजनीतिक मुद्दाहरुको सम्बोधन भएकोले अबको एजेण्डा भनेको बिकासको नारा झन चर्किएको छ । सबै नेतालाई लागेकोछ हामीलाई जनताले सुनको थालीमा राखेर शासन गर्ने अभिभारा सुम्पेका हुन । बर्तमान सरकारले बढो आकर्षक र लोभ लाग्दो नारा दिएकोछ, 'समृध्द नेपाल, सुखी नेपाली' । यसले हामील मोहित पनि भएकै हौला । बिडम्बना उक्त नाराले बिगत नौ महिनाको अबधिमा समृध्दि सीमित साम्यबादी नेता कार्यकर्ताको घर आँगनमा मात्रै ल्याउने कार्य गर्यो ।

 

बिगतमा समृद्ध भएका लाई झन सुखी तुल्याउने काम गर्यो । बहुजन नेपालीको आवश्यक्तालाई सम्बोधन गर्नुको साटो माफिया, तस्कर, भ्रस्टाचारी, बिचौलिया र मुनाफा खोरलाई नै बढी लाभ हुने कार्य गरेको प्रतीत हुन्छ । राष्ट्रको दशौ हजार भूभाग सीमा अतिक्रमण भएर गुम्दा पनि सरकारले सरोकार देखाउन सकेको छैन । भयावह भएको शान्ति सुरक्षाको स्थितिमा सरकार संबेदनशीले देखिदैन । बिद्यमान अबस्था अनियन्त्रित रुपमा लम्बिदै गयो भने गणतन्त्र आएकोमा सडकमा नाचगान गर्ने जनताले 'राजा आउ देश बचाउ' भन्नेछन । चेतना भए नेताहरु सच्चिउन ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार