• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
विचार

‘साना जनता’ र ‘ठूला’ प्रधानमन्त्री बीचको खाइलाग्दो संवाद

प्रम ओली चाकरी रुचाउने मानिस पक्कै होइनन । उनी बडो कडा प्रकृतिका ब्यक्तित्वका रुपमा चिनिन्छन । तर, कसैले चाकरी गरी हाल्यो भने के गर्ने ?
देश समृध्दितिर अघि बढी रहेको कुरामा अरु कसैलाई अलिकति शंका भएपनि प्रधानमन्त्री केपी ओली र उनका सिपहसालारहरु यसमा कुनै शंका गर्न चाहँदैनन । जो शंका गर्दछ त्यो प्रम ओलीको स्वतः बिरोधी साबित हुन्छ । किनभने, ओलीले देशका सामान्य जनतालाई चीनबाट रेल ल्याएर डाँडा–काँडामा कुदाउने जादू देखाएका छन ।


 मेरो देशमा कोही भोको र प्यासो नरहोस भन्ने आफ्नो उदात्त मान्यता सार्वजनिक गरेका छन । गणतन्त्र स्थापना हुनु अघिका राजाहरुले बेला बेलामा यस्तै उदात्त मान्यता र भावना प्रकट गर्दथे । त्यो मान्य परम्पराका अनुयायी बनेका छन अहिले नेपाल कम्युनिष्ट पार्टीका सम्मान्य नेताहरु । २०३६ को हाराहारीमा बीपी कोइरालाले आफनो घाँटी राजाको घाँटीसंग जोडिएको कुरा गर्नुहुँदा धेरै कम्युनिष्ट नेताहरु राजदरबार अगाडिको लाल दरबारमा लाइन लागेको अवस्थामा भेटिन्थे । कम्युनिष्टको आन्द्रा राजाको आन्द्रासंग जोडिएको थियो ।


प्रम ओली अचेल नियमित टेलिभिजनको कार्यक्रममा देखिनुहुन्छ । ‘साना जनता’ र ‘ठूला’ प्रधानमन्त्री बीचको यो संवाद खाइलाग्दो हुने रहेछ । संयोगले गत साता विहिवार अपरान्हको समयमा ‘जनतासंग प्रधानमन्त्री’ संवादहेर्ने मौका मिल्यो । संवाद के थियो, घूँडा धसान । कार्यक्रम प्रस्तोता बडो सुन्दर पारामा प्रधानमन्त्रीलाई प्रश्न राख्दथे ।


 प्रधानमन्त्री बडो दार्शनिक पाराले त्यसको उत्तर दिन्थे । बडो रोबदार देखिन्थे प्रधानमन्त्री । उनको यो रोवका पछाडि जनता नतमस्तक छन भन्ने सिध्दान्तले काम गरी राखेको प्रष्ट देखिन्थ्यो । कार्यक्रमको बीचमा प्रस्तुतकर्ताले जाजरकोट–डोल्पा सडक निर्माणमा प्रम ओलीको प्रेरणदायी र उत्साहप्रद नेतृत्वको चर्चागर्दै जानकारी दिएः नेपाली सेनाले जाजरकोट–डोल्पा मोटरबाटोको ट्रयाक खोल्यो । 

 


अब डोल्पामा मोटर पस्नेछन र जनता रमाउनेछन । प्रस्तुतकर्ताको प्रस्तुतिमा यी सबै महत्वपूर्ण कार्य प्रम ओलीको नेतृत्वको परिणाम बताइयो । कुरा सुनेर टेलिभिजन हेरी रहेका जनता छक्क परे । यो बाटो सेनाले खन्न थालेको बाह«बर्ष बिति सकेको थियो । यो संग भ्रष्टाचारका सयौं गाथा जोडिएका थिए । यस्तो स्थितिमा प्रम ओलीले यो राजमार्ग निर्माणको जश लिनु ठीकै थियो ।

 

प्रम ओली चाकरी रुचाउने मानिस पक्कै होइनन । उनी बडो कडा प्रकृतिका ब्यक्तित्वका रुपमा चिनिन्छन । तर, कसैले चाकरी गरी हाल्यो भने के गर्ने ? त्यस्तो समयमा प्रम ओलीले निन्दा होइन, चाकरीका शब्दहरु केलाउँछन । उनी भावनामा बहकिन्छन । यत्रो देश उनको हातमा सुरक्षित छ । उनले जे भन्यो त्यही हुन्छ । प्रम ओलीका अन्तरवर्ती एक ब्यक्तिका अनुसार ‘प्रम ओली सूचनाको अन्धकारमा छन भन्ने कुरा जस जसले पनि सोचेका छन ती मूर्ख हुन ।

 


 प्रम ओलीलाई ३३ किलो सुनको पनि खबर छ । उनलाई एयरबस कम्पनीको वाइडबडी विमान खरीदगर्दा आएको अकूत कमिशनको पनि पत्तो छ । तर, राजनीतिमा त्यो ब्यक्तिमात्र सफल हुन्छ जो समय अनुसार काम गर्दछ । प्रम ओलीलाई कन्चनपुरकी निर्मला पन्तको बलात्कार गरेर त्यसपछि हत्यागर्ने ब्यक्तिका बारे पनि जानकारी छ । तर, कहिलेकहीं साना जानकारी सार्वजनिक गर्दा ठूलै पहिरो जाने गर्दछ । त्यसैले मात्र त्यो सूचना रोकिएको हुनुपर्दछ ।’ पक्कै यही भएको होला । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । नेपालको सत्ता र शक्तिमा जो रहेको हुन्छ त्यसको महत्व नयाँ पुस्ताका लागि सद्गुरुको महत्वभन्दा कम हुँदैन ।

 

बिज्ञानका अनुसार पृथ्वी तलका कुनैपनि भागमा प्रत्येक दिनछहजार पटक बिजुली गडगडाहटका साथ चम्किने गर्दछ । यही गडगडाहटका बीचमा नेताहरुकोगिडगिडाहट सुनिन्छ । प्रम ओली र अध्यक्ष प्रचण्डको मिलन संयोग यस्तो अवस्थामा भएको छ जब कौरवहरु पाण्डवको भूमिकामा छन । यस्तो लाग्दछ, नेपाल कम्युनिष्ट पार्टीका यी दुवै नेता अहिले मोक्ष यात्रामा निस्किएका छन ।


 रमाइलो कुरा, कांग्रेस पार्टीमा खानदानी नेतृत्वको वहस चली रहँदा नेकपामा दुवै अध्यक्ष खानदानी नेतृत्वबाट आएका होइनन । यिनले अहिले टाउकामा लगाएको श्रीपोश यिनको आफनै आर्जन हो । 

देशमा आर्थिक समृध्दिको नारा अहिले जति कहिल्यै घन्किएको थिएन । नेकपाका दुवै अध्यक्ष चीनबाट रेल आए त्यसैसंग समृध्दि आउने बताए रहेकाछन । उकालोमा समृध्दि बोकेको रेलले तान्न सकेन भने दुबै नेता एकजना रेलको इन्जिन रहेको भागमा उभिएर तानी रहेको र पुच्छारको भागमा उभिएर घचेटी रहेको रमाइलो दृश्य देख्न पाइनेछ । तर, दुवै नेताले समृध्दिको प्रलोभनले परिवर्तन रोक्न सक्दैन भन्ने थाह पाएका छैनन ।


 बेला बेलामा हुने सरकार बिरोधी प्रदर्शनहरुले परिवर्तनको उर्जा थपी राखेका हुन्छन । दुबै नेताले बुझनुपर्ने कुरा यतिमात्रै हो, बिकास र समृध्दिको नाममा राजनीतिको अधिनायकवादी प्रयोग कतै पनि सफल भएको छैन । केही समय अघिकै कुरा त हो यो ।लिवियाका तानाशाह कर्नल मोहम्मर गद्दाफीको नाम त नेताहरुले सुनेकै होलान । उनको ४२ बर्ष पुरानो सत्ता भत्कियो । ट्युनिशियाका राष्ट्रपति जाइन बेन अली ज्यान जोगाएर भागे ।


 इजिप्टका राष्ट्रपति होस्नी मुबारकहटाइए । धेरै इस्लामिक राष्ट्रहरुमा उलटपुलट भयो । अब हेरौं त : गद्दाफीमा आपूmप्रति ठूलो विश्वास थियो । ‘जनतालाई के चाहिएको छ त्यो मलाई थाह छ’ भन्ने अभिमान थियो उनमा । नेपालका राजाहरुमा पनि त्यस्तै अभिमान थियो जसले २४० बर्षको राजतन्त्रलाई नै खाइ दियो ।


 प्रम ओली र अध्यक्ष प्रचण्डमा पनि यस्तै गुणहरु परिलक्षित हुने डर पलाएको छ । नेपालका यी दुवै ठूला नेता तानाशाह भै सकेका छैनन । तर, उनीहरुले तानाशाहकै शैली अपनाएका छन । 

नेपाली पक्कै पनि गरीब छन । गरीब मात्रै होइन अल्छी पनि । अल्छी मात्र होइन गफाडी पनि । देशमा यति ठूलठूला परिवर्तनका घटनापछि पनि देश शान्त छैन भने यसको कारण हो जनतामा विद्रोहको प्यास बाँकी छ । नेपाली जनता मनैदेखि सार्वभौम र शाश्वत अधिकारको खोजीमा छन । यो वा त्यो प्रयोजनले रोकिएका र रोक्न खोजिएका सार्वभौम अधिकार नपाएसम्म जनताको विद्रोहको प्यास मेटिने सम्भावना छैन ।


नेपाली जनताको खोजी आर्थिक विकास होइन, राजनीतिक अधिकारको पूर्णता हो । गणतन्त्रको स्थापनापछि पनि उनै पुराना, अविवेकी मानिसले राज्यको सत्ता र शक्तिको भोगगर्नु भनेको जनताको अपमान गर्नु हो । जनतालाई अधिकारसम्पन्न गराएपछि बिकास उनीहरु आफैले गर्दछन । समृध्दि जनता आफैले ल्याउँछन । यही हो आजको सत्य ।

साभार : जनकपुर टुडे

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार