• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
रंगमञ्च

‘जो पागल हुन् उनीहरु मात्र रंगमञ्चमा टिक्छन्’

कविता नेपाल, परिवर्तन थिएटर झापाकी अध्यक्ष तथा सक्रिय रंगकर्मी हुन् । नेपाली रंगकर्मीको भीडमा यिनी कतै हराउन पनि सक्लिन तर झापाली रंगकर्मीका लागि यिनी चिरपरिचित छन् । सुदुरपूर्वी झापा अर्थात सीमा सहर काँकडभिट्टामा बसेर विगत एक दशक भन्दा वढी समयदेखि रंगकर्ममा निरन्तर सक्रिय र झापामा नाटक हेर्ने संस्कार वसाल्ने अभियानमा निरन्तर लागि परेकी छिन् ।

 

यो संगै झापामा नाटक घर निर्माण गरेर नाटक क्षेत्रको हबको रुपमा विकसित गर्ने उनी र उनको टिमको प्रयत्न जारी छ । उनीसँग झापाको रंगकर्म र नाटकका विषयमा फ्रेसन्यूज नेपालको झापा प्रतिनिधी संस्कृति रिजालले गरेको संक्षिप्त कुराकानी:-

 

अहिले केमा व्यस्त हुनुहुन्छ ?

नाटकको विद्यार्थीको नाताले नाटक मै व्यस्त छु । अरु जागिर नभएकाले यही क्षेत्रलाई हुर्काउने, वढाउने अभियानमा छु । नयाँ नाटकको तयारीमा हाम्रो टिम लागेको छ । वर्कसपको तयारी पनि भइरहेको छ ।

 

आधा दशक भन्दा लामो अनुभवमा रंगमञ्च के हो भन्ने लाग्छ ?

रंगमञ्च मुलत: जीवन हो । हामीले वाँचेको जीवन नै एउटा रंगमञ्च या नाटक जस्तो लाग्छ । रंगमञ्च एक व्यक्तिले मात्रै बन्दैन, सिंगो टिमको वरावरी योगदान हुन्छ । रंगकर्मीहरु आम मान्छे भन्दा भिन्न हुन्छन् । उनीहरुको सोच अरुसँग मिल्दैन । कहिले काही त के लाग्छ भने रंगमञ्च ‘पागल’हरुको क्रिडास्थल पो हो कि । किनकी पागल नभइकन यो क्षेत्रमा निरन्तर सक्रिय वन्न सकिदैन । जो पागल हुन् उनीहरु मात्रै रंगमञ्चमा टिक्छन् । मैले नकारात्मक अर्थमा पागल भनेको हैन, सकारात्मक रुपमा भनेको हो । यो क्षेत्रमा पैसा कमाउन सकिदैन । अनि पैसा कमाउन नसक्ने पेशामा लाग्ने मान्छे पागल नभए के हो त ?

 

 

पैसा कमाउन सकिंदैन भन्ने थाहा हुँदाहुँदै  यो क्षेत्र नै किन रोज्नुभयो ?

मलाई के विश्वास छ भने पैसाले नपाईने सुख रंगमञ्चमा छ । धेरै मान्छेसँग पैसा छ तर, सुख नहुन सक्छ । तर, नाटकमा पैसाले किन्न नपाइने संसारकै धेरै सुख छ । त्यही कारण यो वाटो रोजें । खासमा मैंले नाटक वुझ्न थालेको २०५६ साल देखि नै हो । जतिवेला झापाका अग्रज रंगकर्मी दाइ कृष्ण अनमोल र मेरा दाजु साहित्यकार रत्नमणि नेपालहरुले चन्द्रगढीमा नाटक देखाउनु हुन्थ्यो, त्यो पनि स–शुल्क । दाजुहरुले म पढ्ने स्कुलको हलमा नाटकहरु गर्नुहुन्थ्यो । मलाई त्यही वेला देखि नाटकले तान्यो । तर, म पनि ‘नाटक खेल्छु दाजु’ भन्ने साहस ममा थिएन । नाटक हेर्न जान मन लाग्थ्यो । तर, दाजु, वुवाले सानै छस् के वुझ्छेर हेर्नु पर्यो भन्नु हुन्थ्यो । यसो भन्दा ज्यादै नरमाइलो लाग्थ्यो । त्योवेला गाउँका स्कुलहरुमा सरस्वती पुजाको अवसरमा पनि नाटक देखाइन्थ्यो । काकाले एउटा नाटक लेख्नु भएको थियो ‘खोसिएको सिउँदो’ त्यसमा मैले मुख्य भूमिका गरेकी थिए । एक विधवा महिलाको पीडादायक भूमिका मैले गरेकी थिए ।

 

मेरो अभिनयले गाउले चकित मात्रै भएका थिएनन, धरधरी रोएका थिए । पछि अध्ययनको सिलसिलमा काठमाडौंमा नाटक सिक्ने प्रयत्न गरें तर, विविध कारणले सकिन । काठमाडौमा पहिलो पटक गुरुकुलमा सुनिल पोख्रेलको ‘पुतलीको घर’ हेर्दा ज्यादै आनन्द लागेको थियो ।

 

तपाईकै अगुवाईमा स्थापीत परिवर्तन थिएटर अहिले नाटकको क्षेत्रमा सक्रिय रुपमा लागेको छ, समाजमा नाटक वुझाउन कति गाह्रो भइरहेको छ ?

नाटक प्रति आम मान्छेको वुझाइ साघुरो छ । धेरैले नाटकलाई ‘नौटंकी’ मात्रै ठान्ने गरेको छ । तर, हामीले मेहिनत गरेर नाटक नौटंकी हैन भन्ने प्रमाणित गरिरहेकै छौं । कम्तिमा दुई महिनामा एउटा राम्रो नाटक तयार गरेर स–शुल्क देखाइरहेका छौं । नाटकलाई नौटंकी भन्ने जमात विस्तारै नाटक त नाटक नै पो हु“दोरहेछ भन्न थालेका छन् यो हाम्रा लागि सवै भन्दा सुखद क्षण हो ।

 

 

तपाईहरुको आफ्नै नाटकघर पनि छ ?

नाटक घरै छ त भन्न मिल्दैन । तर, नाटक देखाउने सानो कोठा चै हामीसँग छ । स्थानीय मेची सामुदायिक भवनको एउटा सानो कोठा हामीले पाएका छौ । जहाँ  ५०, ६० मान्छे दुःखका साथ अट्छन् । त्यहि नाटक देखाउँदौ । मेची सामुदायिक भवनका अध्यक्ष तथा प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेची नगरपालिकालाई हल उपलव्ध गराएर ठूलो गुन लगाउनु भएको छ । निक्कै दुःखका साथ काम गरिरहेका छौं । भविष्यमा छुट्टै नाटक घर बनाउने सपना पनि हाम्रो छ । त्यसका लागि अहिले हामीले अझै धेरै मिहेनत गर्न जरुरी छ । हाम्रो नाटक राम्रो भयो भने मात्रै नाटक घरको सार्थकता पनि रहन्छ । नत नाटक गुणस्तरीय भएन भने नाटक घर मात्रै भएर केही पनि हुनेवाला छैन । त्यही कारण गुणस्तरीय नाटक उत्पादनमा हाम्रो सिंगो टिम रातदिन खटेको छ । 

 

तपाई नाटक लेखन निर्र्देशन पनि गर्नुहुन्छ ? कति गाह्रो छ एउटा नाटक तयार गर्न ?

शुरुवाती दिनदेखि नै नाटक लेखनका साथै निर्देशन गर्न थालियो । अहिलेसम्म एक दर्जन जति नाटक लेखनसंगै निर्देशन गरिसकेको छु । कचहरी र सडक नाटकका त कुनै हिसाव किताव नै छैन । हिजो आज भने अलि फुर्सद मिलेको छ । मैले जस्तै काम अन्य साथीहरुले पनि गर्न थाल्नुभएको छ । पहिलो एक्ली थिए । अहिले छैन । सागर खाती, सविता पोख्रेल, सुष्मा पोख्रेल, गणेश वस्नेत, विमला चिमरिया, सम्झना सुव्वा, लीला विष्ट, अभिषेक गर्तौला, दिनेश राजवंशी, एन्जल खड्का, अनिष वस्नेत, पूजा आचार्य, प्रतिक्षा आचार्य, विशाल कंडेल, केन्द्र प्रसाद भट्टराई, शिशिर चम्लागाई, लोमश पौडेल जस्ता सहकर्मी मैले पाएकी छु । उहा“हरुकै सहयोगले हाम्रो थिएटर यो स्थानमा आइपुगेको छ । हाम्रो टिमवर्क राम्रो छ । सवै काममा अनुशासित छन् । नाटकमा सवैभन्दा महत्वपूर्ण कुरा समय र अनुशासन रहेछ । सवै साथीहरु यसमा प्रतिवद्ध छन् ।

 

धेरै रंगकर्मीको अन्तिम गन्तव्य चलचित्र हुने गर्छ, तपाईलाई चलचित्रमा अभिनय गर्ने प्रस्तावहरु आएको छैन ?

चलचित्रमा अभिनय गर्न चाहने हो भने सानो तिनो भुमिका गर्न पक्कै पाइन्थ्यो होला । तर, चलचित्रमा खासै रुची छैन् । मैले जीवनमा नाटक वाहेक अरु केही सोचेकी छैन । सुत्दा, उठ्दा म नाटक मात्रै देख्छु । चलचित्रमा अभिनय गर्ने सपना अहिले नै बोकेकी छैन । झापामा राम्रो नाटकघर वनाउने, नाटकमा नयाँ पुस्तालाई जन्माउने, नाटकप्रति समाजको दृष्टिकोण वदल्ने मेरो पहिलो काम हो । अन्य कुरा विस्तारै सोच्दै जाउँला ।

 

 

चलचित्र र नाटकमा कुन रोज्नु हुन्छ ?

मसँग चलचित्रको अनुभव त छैन । तर, के अनुमान गर्न सक्छु भने चलचित्रमा भन्दा धेरै गुना मज्जा नाटकमा हुन्छ । नाटक प्रत्यक्ष हुन्छ । चलचित्र एक्सन र कट गर्दा गर्दा वल्ल बनेको हुन्छ । एक घण्टाको नाटकले जति दर्शकलाई मन्त्रमुग्ध पारिदिन्छ त्यो फिल पक्कै पनि दुई घण्टाको चलचित्रले दिन सक्दैन होला । नाटक हेर्र्ने वानी परेको दर्शकले चलचित्र भन्दा वढी नाटक नै मन पराउँछन् जस्तो लाग्छ ।

 

तपाईलाई पारिवारिक सहयोग कत्तिको छ ?

परिवारिक सहयोग भएन भने नाटक मात्रै होइन, कुनै क्षेत्र या पेशामा पनि टिक्न सकिदैन । व्यक्तिगत रुपमा मलाई सपोर्ट छ । नाटक गर्न सासु–ससुराहरुले पनि सधै हौस्याउनु हुन्छ । तर, हाम्रो टिमका केही साथीहरुले मैले जस्तो सपोर्ट पक्कै पाएका छैनन् । उनीहरुको कामले विस्तारै परिवारको मन जित्ने अवस्था आउने कुरामा म ढुक्क छु । धेरै सहकर्मीहरुलाई पैसा नहुने काम किन गर्नुपर्यो भनेर अभिभावकहरुले कराउने गरेको पनि सुनिन्छ । तर, उहाँहरुले विस्तारै नाटक वुझ्न थाल्नु भएको छ । आफ्ना सन्ततीको काम त पैसा भन्दा पनि महत्वको रहेछ भन्ने वुझ्न थाल्नु भएको छ । मलाई विश्वास छ निरन्तर काम गर्दै जाने हो भने पैसा नहुने भनिएको यो क्षेत्रवाटै टन्नै पैसा कमाउन सकिन्छ र एक दिन नाटक खेल्न अभिभावकहरुले थिएटरमा आफ्ना नानीहरुलाई भर्ना गर्न तछाड–मछाड गर्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार