• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अन्तर्वार्ता

कहिलेकाहीं राम्रो कामका लागि नियम मिच्नुपर्ने बाध्यता पर्छ

डा. मन्जु मिश्र साहसी र संघर्षशील महिलाका रुपमा परिचित छिन् । निजी क्षेत्रबाट सुचना तथा संचार क्षेत्र अन्तर्गत पत्रकारिता तथा आमसंचार विषयको एकमात्र कलेज ‘कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन’ की प्राचार्य तथा संस्थापक समेत रहेकी उनी विभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल छिन् । उनकै अगुवाइमा बर्षेनी अफ्रिकन फिल्म फेस्टिवलको आयोजना पनि भइरहेको छ । यसबर्ष पनि फिल्म फेस्टिवल आयोजना गर्न उनी लागि परेकी छिन् । यसै सेरोफेरोमा गरिएको छोटो कुराकानी :

 

विगतमा जस्तै यस बर्ष पनि अफ्रिकन फिल्म फेस्टिवल गर्न लाग्दै हुनुहन्छ ? तयारी कस्तो छ ?
फेस्टिवल मंसिर १० गतेबाट १२ गतेसम्म काठमाडौंमा संचालन हुँदैछ । विगतमा जस्तै यस बर्ष पनि रसियन कल्चर सेन्टरमा नै फिल्म सो गर्ने हाम्रो तयारी छ । सन् २०११ देखि नै अफ्रिकन फिल्म फेस्टिवल गर्दै आएका हौं । विनशकारी भूकम्प गएको बर्ष भने हामीले आयोजना गर्न सकेनौं । यो सातौं पटक हो । नेपाल र अफ्रिकाबीच सांस्कृतिक, सामाजिक सम्बन्ध अझै प्रगाढ बनोस भन्ने हिसावले हामीले यो फेस्टिवल आयोजना गर्दै आएका हौं । यसबाट नेपालले पनि अफ्रिकाबाट धेरै कुरा सिक्न सक्छ । यो एउटा सास्कृतिक आदान प्रदान पनि हो । 

 

अफ्रिका महादेशसँगको यहाँ  कसरी नजिक हुनुभयो ?
नेपाल र अफ्रिका मुलुकबीचको जुन सम्बन्ध छ त्यो त्यति प्रगाढ हुन सकेको छैन् । नेपाल सरकारले ति देशहरु बीचमा पनि सम्बन्ध विस्तार गर्नुपर्छ भन्ने लाग्छ । हामी बीचको सास्कृतिक आदान-प्रदान हुनुपर्छ भनेर नै यसको निरन्तरतामा म लागेकी हुँ ।

 

फेस्टिवलको मुख्य आर्कषण के के हुन ?
आकर्षण भनेको विभिन्न देशका प्रतिनिधिहरुले तयार पारेको मौलिक सामाजिक फिल्महरुनै प्रमुख हुन् । यसबर्ष पनि फेस्टिवलमा इजिप्ट, चीन, स्वीजरल्याण्ड, स्वीडेन, रुवान्डा, फ्रान्स, सेनेगल, अलजेरिया, अमेरिका, साउद अफ्रिका, फिलिपिन्स, भारत, क्यामरुन, बंगलादेश, नेपाल लगायतका फिल्महरु समावेश हुने भएकाले ती देशहरुबीचको सामाजिक, सांस्कृतिक अवस्था मज्जाले आदन–प्रदान हुने अवसर मिल्छ । 

 

नेपाली कला संस्कृति झल्कने विशेष प्रस्तुति केही समावेश गर्नुभएको छ ?
नेपाली कला र सस्कृतिको बारेमा जानकारी दिने हिसावले  मैथली, नेवारी, लोकभाका लगायतका अन्य विशेष प्रस्तुति पनि छन् । कार्यक्रममा मैथिली, गुरुङ, नेवारी, तामाङ, मगर लगायतका जातजातिहरुको भब्य सांस्कृतिक झँ“की तथा नृत्य प्रस्तुत गरिने छ । साथै सोही अवसरमा नेपाली लोकभाका प्रस्तुती तथा अफ्रिकन फेशन सो समेत समावेश गरेका छौं ।

 

 

काठमाडौंको कपन पैयूटार हाइटमा कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन (सिजेएमसी) कलेजको नया भवन बनाउनुभयो । यो कसरी सम्भव भयो ?
मेरो यात्रा अझै जारी छ । केही कोठाबाट सुरु गरेको क्याम्पस आज आफ्नै भवनमा आइपुग्न धेरैको साथ र सहगोगले सम्भव भएको हो । यसका लागि सरकारस“ग धेरै हारगुहार गर्नुपर्‍यो । स्थानीयबासीको भरपुर साथ सहयोग र निरन्तरको प्रयासले भवन तयार भएको छ । अनेकौं झन्झट र तनावकाबीच भवन निर्माण गर्न सफल भएकोमा गर्व लाग्छ । अब अझै महत्वकांक्षी योजनाहरु पूरा गर्न बाकी नै छन् । 

 

प्राइभेट युनिर्भसिटीका पक्षमा यहाँले २०६१ सालमा नै आवाज उठाउनुभयो । तर के कारणले यो कामले सार्थकता पाउन सकेको छैन ?
नेपाल सरकारले उच्च शिक्षा आयोगबाट नियमहरु पारित गराउँदैछ । त्यही नियम अन्र्तगत हामीले प्राइभेट युनिर्भसिटी चलाउँछौं । कुनै सम्बन्धन चाहिदैंन हामीलाई, स्वतन्त्र एउटा निकायको रुपमा चलाउँछौं । यदि नेपाल सरकारले दिएन भने घोषण गरेर प्राइभेट युनिर्भसिटीमा फड्को मार्नु पर्ने हुन्छ । मैले नेपाल सरकारसँग विषयगत बिश्वविद्यालयको लागि निवेदन दिएका करिब १५ बर्ष भयोे । नेपाल सरकारले आज यहाँसम्म आइपुग्दा पनि यसतर्फ खासै चासो दिएको छैन । हामी सबैको लागि दु.खको कुरा हो । नेपाल सरकारले यसलाई आवश्यक देखिरहेको छैन । कहिलेकाहीं राम्रो कामका लागि पनि नियम मिच्नु पर्ने हुन्छ । म अहिले त्यस्तै अवस्थामा पुगेको छु ।

 

जे बोल्नु हुन्छ त्यो पूरा हुनैपर्ने । यो त जिद्धीपना भएन र ?
भारत, चीन, पाकिस्तान, बंगलादेश लगायत विश्वभर प्राइभेट युनिर्भसिटीहरु छन् । मैले यहाँ दशकौं देखि यसमा आवाज उठाउँदा पनि सरकारले सुनेको छैन । मेडिकल प्राइभेट युनिर्भसिटी हुनहुने मैले विषयगत युनिर्भसिटीको माग गर्दा सरकारले मतलव गर्दैन । जसले प्राइभेट युनिर्भसिटीको आवश्यकता महशुस गर्नुभएको छ, उहाँहरुलाई सरकारले दिनुपर्छ भन्ने मेरो मान्यता हो । यो अहिले आवश्यक छ । सरकारले यसतर्फ चासो दिनुपर्छ । शैक्षिक विकासको यो सकरात्मक प्रयासलाई कसरी जिद्धीपना भयो भन्नु र ?

प्रस्तुति : सुकृत नेपाल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार