• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
डबली

शर्मिला, तिमीले कहिले न्याय पाउने ? 

आज शर्मिलाको जन्मदिन । शर्मिला दाङको घोराहिमा १४ बर्ष अघि आजकै दिन जन्मेकी थिइन । उनको आज उत्सवको दिन हो । तर अचम्म उनको जन्मदिनको दिन रोएर पिडिमा बसेकी छिन उनकी आमा । उनको आमा शर्मिला, शर्मिला भन्दै पिडिमा रोइरहेकी थिइन । किन थाहा छ ? किनकि शर्मिला अब यो दुनियाँमा छैन । हिजो अस्तिसम्म उसले उफ्रने त्यो आगनमा सुन्यता छाएको छ । आमा, मलाई जन्मदिनमा साइकल किन्दिनु पर्छ भन्दै हिजो अस्तिसम्म त्यही आँगनमा रुदै बसेको झल्झली सम्झना आईरहन्छ ।

 

छोरी सम्झिँदा सम्झिदै बसेकै ठाउँमा टोलाइन आमा । एकोहोरिएर बसिरहेकी उनी,  शर्मिला आँगनमा सधै झै उफ्रिउफ्रि खेलेको देख्दै एकाएक मुस्कुराउन थाल्छिन । शर्मिला खेल्दा–खेल्दै आँगनमा लड्छे, छोरी लडेपछि छोरीलाई उठाउन आफु बसेको ठाउँबाट जुरुक्क उठेकी आमाले न त आँगनमा खेलिरहेकी शर्मिला नै देखिन, न उनलाई लडेको ठाउँबाट उठाउन नै सकिन । शर्मिलाको आमा कल्पनासगै ठूलो भ्रमवाट झसङ्ग बिउँझिइन । उनको  आँखाबाट निरन्तर रुपमा आँसुहरु बगिरह्यो । 

 

आमाको काखमा लडिबडि गर्दै कक्षा नौ सम्म पुग्दा नी खेलिरहन्थी शर्मिला । घरमा भाई सँग सानोतिनो कुरामा खुब झगडा गर्थी, भाईलाइ जस्तो मलाई छैन भन्दै गुनासो गरिरहन्थिन । आमाले उसलाई भाईसँग झगडाको निउँमा गाली गर्नुहुन्थ्यो । एकपटक त, भाईलाइ कुटेर आमाले पनि उसलाई कुट्नु भएको थियो । त्यस दिन पुरै समय शर्मिला रोएर बसेकी हुन्थिन र फेरि उनलाई आमाले नै फकाउनुहुन्थ्यो र खुसी हुन्थिन । उसको सबैसँग मिलनसार स्वभाव थियोे । स्कुलका सबै साथीहरुसँग एकदमै घुलमिल हुन्थिन । सबैलाइ सहयोग गर्थी । उसलाइ पनि स्कुलमा साथी, शिक्षकहरुले माया गर्नुहुन्थ्यो । स्कुलमा प्रथम भएर ल्याएको पुरस्कार आमालाई दिदा आमा सधै खुसी हुनुहुन्थ्यो । आमा म पछि गएर धेरै पढ्छु अनि पाइलट भएर तपाइलाई प्लेनमा घुमाउन लिएर जान्छु भन्दै हजारौं सपना बुन्थी । शर्मिला भएको बेला घर नै उज्यालो हुन्थ्यो । आमालाई काम पनि सारै सघाउँथी । शर्मिलाका ती सबै बिगत सम्झेर आमा रोइरहेकी थिइन । जसोतसो भए पनि बाच्नु नै छ भन्ने सम्झेर बाँकी एउटा छोरो हुर्काउन दिनमा सधै काम गर्थिन आमा । राति घर आएर छोरालाई खाना खुवायो र आफू पनि थोरै खाएर सुत्यो । अहिले शर्मिलाको आमाको दिनर्चाय यसरी नै बितिरहेको छ ।  बिचरा, त्यतिकै त पिडाको खात लागेको जिन्दगीमा कसरी परोस निन्द्रा । बल्लतल्ल निदाउँथिन तर, फेरि सपनामा भेट्थिन छोरी शर्मिलालाई । 

 

‘आमा पापीहरुले मलाई बलात्कार गरेर मारे, आमा मलाई कुटे, पिटे मलाइ बलात्कार गरे । मेरा शरिरको प्रत्येक भागसँग खेले । मलाई चिथोरे, कोपरे, टोके । मलाई रगताम्य बनाएर उखुबारीमा फ्याकिदिए । मलाई तपाईबाट टाढा पुर्याए । तपाईको काख, माया, छायाँ सबै खोसे । आमा, मलाई कसले न्याय दिन्छ अब ? कहिले पाउने मैले न्याय ?’ सपनामा शर्मिलाको पिडाको चिच्याहटले कराउँदै उठिन आमा । फेरि दुख्यो उनलाई छोरीको सम्झनाले मुटुमा । छोरी शर्मिला म तिमिलाइ दिलाउँछु न्याय मनमनै अठोट गर्थिन उनी ।

 

शर्मिलालाइ त्यो दिन मारे, जुनदिन उनी पढ्न भन्दै साथीकोमा गईन । अबेरसम्म नफर्किएपछी छोरी खोज्दा न त साथीकोमा भेटिन आमाले न त छोरी फर्केर नै आई । छोरीको खोजी गर्दै प्रहरी चौकी पुग्दा बेवास्ता गरिदिए सुरक्षाकर्मिले । रोइन, कराइन, चिच्याइन । अन्त शर्मिलालाई भोलिपल्ट उखुबारीमा भेटियो तर कहिल्यै नफर्किनेगरी । कहिल्यै नउठ्नेगरी  । कहिल्यै आमा भनेर नबोलाउने गरी । भाईसग कहिल्यै नबाझ्नेगरी । 

 

जब उखुबारीमा रगताम्य शरीर र लुगासँगै भेटिइन तब अनुसन्धानबाट पत्ता लाग्यो कि शर्मिलालाई बलात्कार गरेर मारियो । शर्मिलाको बलात्कार हत्याकाण्डले गाउँबस्ती, गल्ली देखि देशभरी सनसनी मच्चियोे । प्रत्येक नेपाली न्यायका निम्ति आवाज उठाउन थाले । शर्मिलाकी आमा सिंहदरबारसम्म आफ्नी छोरीको मृत्युको न्याय माग्न पुगिन । तर, एक हप्ता बित्यो, एकमहिना बित्यो, दुइमहिना बित्यो शर्मिलाले न्याय पाएकी नै थिइन । जसोतसो दुख गरेर हुर्काएकी छोरीलाई पापी दुनियाँको नजर लाग्यो । मारिदिए उसलाई । छोरीका पाइलट बन्ने सपना सम्झिदै नरोएका दिन थिएन उनको आमा  । सानोभाई दिदी भनेर खोजिरहन्थ्यो सधै ।

 

शर्मिलाकी आमा कहिले छोरीलाई सम्झेर रुन्थिन त कहिले छोरीलाइ सम्झेर गीत रचेर गाउँथिन । यसरी नै दशैं गयो, तिहार गयो, छठ गयो । घरमा पीडा नै छाइरह्यो । आमाको मन रोइनै रहयो । प्रहरी, सरकारले न्याय दिलाउने आश्वासन दिइरहे । आमा र नेपाली जनता आजसम्म पनि शर्मिला कै न्यायका निम्ति लडिरहेका छन । तर अझैसम्म पनि शर्मिलाले न्याय पाएकी छैन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार