• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
डबली

‘म अरुको चित्त सजिलै दुखाउन सक्दिन’

विप्लव प्रतिक

गीत/कविता लेखनको शुरुवात र यसको प्रेरणा ?
मेरो प्रेरणा अथवा कसरी शुरु गरे भन्दा पनि त्यो मेरो भाग्यमा लेखिएको रहेछ । त्यसलाई नै मैले अगाडि बडाए । मलाई त्यहि नै हो जस्तो लाग्छ ।

 

यो क्षेत्रमा कसरी आउनु भयो त ? 
यो मैले अभ्यास गर्दा गर्दै सिकेको कुरा हो । शुरु शुरुमा कसरी लेख्न आयो भन्ने कुरा सायद कुनै बिरह थियो होला जुन मैले तिनीहरुमा भोग्नु पर्यो । त्यसबाट मन चाहि लेखन तिर गयो । मेरो पारिवारिक बिखण्डन भएको थियो । त्यहि नै हो । 

 

गीत कविता लेखनले मात्र जिविकापार्जन चल्छ कि अरु पनि पेशा गर्नुहुन्छ ?     
मलाई लेखेर मात्रै त जिविकापार्जन चल्छ जस्तो लाग्दैन । कतिजनाले गरेका होलान् तर म त्यो वर्गमा पर्दिन । मैले आफनो जीवनकालमा गीत, कविता र साहित्यलाई जोगाउनको लागि बिभिन्न कामहरु गरे । जसमध्ये पत्रकारिता, अनुवाद, विज्ञापन एजेन्सी मार्फत कपिराइटका कामहरु गरेर मैले मेरा कविता र गीतहरुलाई जोगाएको हो । अब यसमा सहि ठाउँमा सहि तरिकाले आफनो भाग्यले भुमिका बाध्यो भने गीत कविता लेखेर पनि जिविकापार्जन हुन्छ होला होइन भने कविता र गीत मात्र लेखेर पार लाग्ला जस्तो मलाई लाग्दैन ।

 

 

तपाईले गर्ने स्थायी/नियमित साधना के हो ?
बिहान उठेर व्याटमिन्टन खेल्न जान्छु । फर्केर आएर कागती पानी खान्छु । भात पकाउने काम गर्छु । कहि बाहिर जानु पर्ने कामहरु आयो भने जान्छु होइन भने घरमा नै बसेर लेख्ने पढ्नेको कामहरु गरिरहेको हुन्छु । यो बाहेक म कहिले घुम्न गइरहेको हुन्छु । मैले काम छोडेको २००७ देखि हो त्यसैले म काम गरिरहेको चाहि हुँदिन । काम गरिहाले भने पनि अनुवादहरुको काम गर्छु । मैले केही दिन अघि सिंहदरवार भन्ने टेलिसिरियलमा काम गरेको थिए । समग्रमा भन्नु पर्दा म घरमा नै बसेर कामहरु गर्छु । मेरो अफिस घरमा नै छ । 
 

तपाई अरु कवि भन्दा अलि फरक हुनुहुन्छ रे, के हो कुरा ?
यो कुरा जसले भन्छन् उनीहरुलाई नै सोध्दा राम्रो होला । म त जे हुँ त्यहि नै हुँ । 

 

तपाई आफना गीत/कविताहरुलाई अरुसँग तुलना गर्दा कस्तो पाउँनुहुन्छ ? 
मैले त कसैसंग पनि तुलना गर्दिन । अरुले तुलना गर्दा कसैले प्रेमले गरेका हुन्छन् त कसैले अत्याधिक भावुक भएर गरेका हुन्छन् । त्यसको जिम्मेवारी मैले बोक्न मिल्दैन । मैले आफुले के गरिरहेको हुन्छु भने आफनो क्षमताले भ्याउनेसम्म कसरी लेख्न सकिन्छ भन्ने कुराहरु मात्र सोचिरहेको हुन्छु । 

 

एउटा सर्जक भएको नाताले तपाईले बुझन् थालेको समय र आजको समयमा समाजमा के फरक पाउनुभएको छ ?
यसमा के छ भने निश्चित रुपमा भन्नु पर्दा मैले भोगेको पहिलेको जुन समाज थियो त्यो समाज निश्चित रुपले आर्दशवादी थियो र एकआपसमा आदर प्रेम त्यतिसम्म थियो तर अहिले त्यो बदलिएर भौतिक समाज  नै भर्रच्युल समाजमा परिणत भएको छ जस्तो मलाई महशुस हुन्छ । 

 

 

अहिले साहित्य, संगीत पत्रकारिता र राजनीतिलाई तपाई कसरी हेर्नुहुन्छ ? 
अहिलेको साहित्यमा गम्भिर रुपले काम गरिरहेका मान्छेहरु पनि छन् र सतही रुपमा काम गरिरहेका मान्छेहरु पनि छन् त्यसकारणले अहिले वर्तमान साहित्यलाई तुरुन्तै यो दिशा तिर गइरहेको छ त्यो दिशातिर गइरहेको छ भन्न सम्भव छैन । अहिले पत्रकारिता कस्तो भएको छ भने दुखका साथ भन्नु पर्दा पत्रकारितामा पत्रकार त रहेनन् किनकी दुईचार जनाले राम्रो पत्रकारिता गरेर त्यसको खासै मान्यता हुदैन । अहिलेको समाजमा पत्रकारितालाई मार्केटिङले निर्देशित गर्ने भइसकेपछि त्यसले समाजमा के गर्छ भन्ने कुरा ब्याख्या गर्न म तुरुन्तै सक्दिन तर यसमा के हुन्छ भनेर मान्छेहरुले अनुमान भने लगाउन सक्छन् । अहिले नेपाली संगीत आत्मा नभएको प्राणी, फुल कुनै पनि त्यस्तो चिज हुन्छ जुन त्यो रुपमा बदलिएको छ । अहिलेको संगीतमा ज्यान छैन । अब राजनीतिको कुरा गर्नु पर्दा यो मुलुकमा राजनीति भइरहेको नै छैन । राजनीतिको स्थान यहाँ कहि पनि छैन । यहाँ जसले आफुलाई नेता भन्ने तोपो लगाएर बसिरहेका छन् उनीहरुले जानेको भए उनीहरु मुलुकको नेता हैन प्रबन्धक हुनुपर्थ्यो । अहिले समयको माग पनि त्यहि नै हो । अहिले यो पार्टी यस्तो यो पार्टी एक नम्बरको पार्टी हो भन्ने त्यो केही पनि छैन । समग्रमा भन्नु चाहे नेपाली कांगे्रस होस् एमाले होस् या माओवादी होस् । शुरुमा सबै जना नेपाली हौं । उनीहरुले नेपाली भएर काम गर्नु पर्ने अवस्थामा उनीहरु अहिले २०० वर्ष सम्म प्रजातन्त्र संस्थागत भइसकेको अवस्थामा जस्तो व्यवहार गरिरहेका छन् । हाम्रो यो मुलुकमा राजनीति एकदमै खराब अवस्थामा छ र यो सप्रिन्छ भन्ने कुरामा म विश्वस्थ छैन । यो भन्दा पनि नराम्रो ठाउँसम्म पुग्नेवाला छ । 

 

तपाईको आफुसँग भएको खुवी के हो ? 
मेरो खुवी के छ भने म मान्छेहरुको जानेर चित्त दुखाउन सक्दिन मतलब नदुखाउने प्रयास गर्छु । कतै अन्जानमा चित्त दुखाएको रहेछु र मैले पछि थाहा पाए भने त्यसलाई सुध्राने प्रयास गर्छु । म मान्छेले मान्छेलाई प्रेम गर्नुपर्छ भन्ने कुरामा बिश्वास गर्छु ।

 

एउटा मान्छेले आफनो खुवी कसरी चिन्ने ? 
यसमा मान्छेले काम गर्दै जाँदा आफुले आफैलाई होसपुर्वक हेर्यो भने मसँग संगीत, कला, साहित्य, राजनीति के छ उसलाई यो दुई चार वर्षमा थाहा हुन्छ । अनि थाहा भइसकेपछि त्यसलाई तिखारदै लिएर जाने र आफनो खुवीलाई बिकास गर्ने हो । 

      
 

 


 


    

  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार