• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
विचार

उमेर ढल्कदै गर्दाको साहारा

सानै उमेरदेखि पंक्तिकारलाई धर्मले आकर्षित तुल्याएन । पिताजीको पारिवारिक कर बलले केही गरी मन्दिर पुगिहाल्नु भयो भने पनि मन्दिर भित्र प्रवेश गर्नुहुदैन थियो । उहाँले र देवी देवताको आरधना परै जाओस् टाउको निहुर्‍ययार ढोगेको समेत मैले कहिले देखिन । आमाले पूजा गर्दा चुप लागेपनि आरती गर्दा घन्टी बजाएपछि भने प्रायजसो बुवा उत्तेजीत भईहाल्ने ‘अरुलाई म पूजा गर्दैछु भनेर किन सुनाउने ?’ 

 

सातआठ बर्षको उमेर पुगेका समकालीन मित्रहरु सरस्वतीस्तोत्र र गणेशस्तोत्र कण्ठ पार्थे ।  पिताजीले भने मलाई कराई कराई महाकवि देवकोटाको ‘यात्री’ कविता घोकाउनु भयो । स्कुलमा छ सात कक्षामा पढ्दै गर्दा कक्षा शिक्षक शुवर्णमान श्रेष्ठ ‘पाप नगरे धर्म गर्नै पर्दैन’ भन्नु हुन्थ्यो । बुवा देवीदेवता पछि नलाग्ने, माहाकविको ‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो’  कविता र  शुवर्णमान सरबाट प्रभावित भएको हुनाले होला मलाई देवी देवताको आरधना प्रार्थना र मन्दिर धाउन कहिले आकर्षण गरेन । 

 

धर्म र धर्म बिरोधी साम्यवाद  

धार्मिक विषयहरुको अध्ययन गर्दा थाहा भयो विश्वभरी भएका युद्धहरु मध्य सात प्रतिशत युद्ध धर्मका नाममा भएका थिए । धर्म युद्धहरुमा मारिने मानिसहरुको संख्या दुई करोडको हाराहारी भएको अनुमान गरिन्छ । अर्कोतर्फ धर्मको कट्टर विरोधी कार्ल मार्कसका अनुयाहीहरु जस्तै लेलीन, स्टालीन, माओ तथा पोलपोट आदीले गरेको नरसंहार धर्म युद्धको दाजोमा कता हो कता धेरै थियो । नर संहार नर संहार नै हो चाहे त्यो धर्मको नाम होस अथवा राजनीतिक सिद्धान्त । विकासे कार्यकर्ता हुने सन्दर्भमा मानव समूदायको उथानका अथवा विकासका निमित्त धर्मले पुर्‍र्याएको र पुर्‍र्याउन सक्ने योगदानहरुका विषयमा केही अध्यनहरु पनि गरियो । समाज, मानविकीय, राजनीतिक अर्थशास्त्री आदि देखि विकास बिद्धहरुको (सिमीत संख्यामा भए पनि) सोधकार्य, लेख तथा पुस्तकहरु अध्ययन गर्दा धर्मले विकासका निमित्त पुर्‍र्याएको योगदान विषय बिवादित अथवा  मिश्रित भेटे । त्यसो त धार्मिक ज्ञान आर्जन गर्ने जागर पनि खासै चलेन । तर जिन्दगीको सातौ दशक नजिकिदा भने धर्म प्रतिको धाराणाहरु परिवर्तन हुन थालेका छन् ।

 

एक्लोपना  
मैले अनुभव गरे अनुसार हाम्रो मुलुकमा साठ्ठि वर्ष काटेका मानिसहरुको सबै भन्दा ठूलो समस्या एक्लोपना भएको छ । महिला होस् अथवा पुरुष सबैलाई उमेर ढल्कन थालेपछि साथी पाउन कठिन हुँदै जाने गर्दछ । आफूकहाँ कोही आईहाल्दै छन् कि भनेर पर्खाइमा बसेर दिन काट्नेहरु को संख्या बढ्ने क्रममा छ । त्यसैगरी हिड्डुल अथवा चहल पहल गर्न सक्नेहरु मध्य पनि धेरैलाई जाने ठाउँको अभाव परेको  बिलौना सुनिन्छ । कतिका निमित्त दिन काट्ने सहज उपाए तास खेल्नु हुन्छ । अधिकांश महिलाहरुको तास नखेल्ने भएको हुनाले दिन काट्न कठिन हुन्छ । घरमा साना नातीनातिनाहरु भएका महिलाहरुलाई भने तीनको स्याहार सुसार गर्दा सजिलोसँग दिन बित्दछ । नातिनातिनाहरु हुर्की सकेका वा हुँदै नभएकाहरुलाई भने कठिनाईको सामना गर्न बाध्य हुनु परेको छ ।

 

एक्लोपनाबाट कसरी उन्मुक्ति पाउने ?  

 

बृद्धाआश्रम 

उमेर ढल्किदै गएकाहरु बस्ने स्थान हो बृद्धआश्रम । त्यहाँको वातावरण परिवारिक नभएता  पनि सम–उमेरका अन्य मानिसहरुको उपस्थिती हुने भएको हुनाले वृद्धाआश्रम धेरैका निमित्त सहयोगी हुन सक्दछ । त्यहाँ जीवनको अन्तिम काल खण्डमा पनि नयाँ साथीहरु भेटिन्छन् । उमेर घटकिएका व्यक्तिहरुको सानै भए पनि समुदाय निर्माण भएको हुन्छ । बृद्धाआश्रमहरु निर्माण गर्न धेरै सामाजसेवीहरु तयार भएका छन् तर निर्माण भईसकेका आश्रमहरुको संख्या भने न्यून छ । सित्तैमा संचालित आश्रमहरु अति बिपन्न असाहय व्यक्तिहरुका लागि मात्र उपलब्ध छन् । धेरै जसो हुने खानेहरु आश्रममा जान तयार हुँदैनन् । स्थापना गरिएका बृद्धा आश्रम संचालकहरुका निमित्त कति घाडो साबित भएका पनि छन् । योजना गरे जस्तो संख्यामा बृद्धाहरु नहुँने त्यस्ता आश्रमहरु को प्रमुख समस्या देखिन्छ । संख्या कम हुँदा साथै आम्दानी कम हुने तर आबसेक सेवाहरु पुर्‍र्याउन लाग्ने खर्च भने कम नहुँने हुनाले आगन्तुकहरु का निमित्त आश्रम महंगो पर्दछ । संचालकलाई संचालन गर्न कठिन अनी त्यहाँ बस्नेलाई आथिर्क भार बढी हुने भएको हुनाले गर्दा समस्या छ ।

 

बृद्धाआश्रमहरुमा आउनेहरु को संख्या कम हुनाको अर्को प्रमुख कारण भनेको आफ्ना माता-पितालाई बृद्धाआश्रममा राखे बापत परिवारका सदस्यले झेल्नु पर्ने समस्या हो । अभिभावकलाई बृद्धा आश्रममा राख्ने छोरा-छोरीहरुलाई समाजले अझै पनि हेयको दृष्टिले हेर्दछ । त्यस्ता सन्तानको कुरा काटिन्छ , आलोचना गरिन्छ, तिनीहरुको सरहाना त गरिदै गरिदैन । खर्च पनि गर्नु दुर्नाम पनि कमाउनु पर्ने भएकाले छोरा-छोरीहरुले बाबु आमा वा अभिभावकहरुलाई घरमा नै राख्न बाध्य हुन्छन् । थप समस्या भनेको उमेर पुगेका हिड्न डुल्न सक्ने समाथ्र्य राख्नेहरुलाई पनि घर बाट  बाहिर निस्कन भने सहज छैन । हाम्रा सडकहरु देखी यातायतका साधन तथा तीनका संचालकहरु बृद्धा मैत्री छैनन । दूशाहस गरेर घरबाट निस्कीहाले पनि जाने कहाँ ? त्यो अर्को प्रश्नले धेरै लाई पिरोल्छ । 


धार्मिकस्थल 

अन्य मुलुकहरुमा पार्कहरु शहरी मात्र होइन ग्रामिण क्षेत्रहरुमा पनि हुन्छन् । जसले उमेर ढल्केकाहरुका निमित्त  मात्र होइन उमेर भएकाहरुका निमित्त पनि टहल्न, शेयर गर्न तथा गफिने स्थान उपलब्ध हुन्छ । हामी कहाँ पार्कमा गएर घुम फिर गर्ने अथवा भेट घाट गर्ने  सुविधा छैन । किनकी पार्कहरु नै छैनन । काठमाडौँ उपत्यकामा त झनै छैन भने पनि हुन्छ । भेटघाट गर्न पार्कहरुको अभाव पाटी, पौवा, चैत्य तथा चौतराहरुले पूर्ती गर्न सक्दा हुन् । तर त्यी मध्ये धेरैलाई सहरिकरणले निली सक्यो । बचे खुचेकाहरु भग्नावशे अवस्थामा छन् । त्यसकारण हिडडुल गर्न सक्नेहरु का निमित्त पनि घर बाहिर सामाजिक थलोमा गएर भेट घाट गर्ने स्थनको चरम अभाव छ देश भरी नै। यस्तो परिस्थितीमा सवै भन्दा सहज मिलन थलो धार्मीक स्थलहरु हुँदै गएका छन्। आफू जस्तै अन्य मानिसहरु पनि आएर चौबिसै घण्टा भजन, किर्तन, ध्यान तथा प्रवचन श्रवण आदीको सुविधा हुन्छ । बौद्ध बिहार, हिन्दु धर्मालम्बीहरुका निमित्त बिभिन्न हाँगा बिगाहरु धार्मिक संस्थाहरु जस्तै ब्रम्हकुमारी, बैष्णवीहरु, कृष्ण प्रणामी, साईबाबा, धर्म गुरुहरु आदी केन्द्रहरु जता त्यतै स्थापित भइसकेका छन् , जहा सह–धार्मिक आस्था हुनेहरुका निमित्त  धार्मिक तथा सामाजिक भेट घाटका अवसरहरु मिल्दछन् । त्यस्ता स्थनहरुमा जानेहरु ‘दिन गएको थाहानै पाइँदैन’ भनेर अरुहरुलाई समेत आकर्षित गर्दछन्, आफ्नो जमात बढाउन । यस अर्थमा उमेर ढल्किदै जाँदा धार्मिक आस्था हुनेहरुका निमित्त निकास धार्मिक स्थानहरुले दिने गर्दछ ।

 

धार्मिक ग्रन्थ देखि इलेक्ट्रोनिक मिडीया
    
जो धार्मिक स्थानमा चाहेर अथवा नचाहेर जान रुचाउँदैनन तर धर्ममा आस्था राख्दछन्, तीनका निमित्त धार्मिक ग्रन्थहरु अध्ययन गर्दा निकास मिल्दछ । जुनसुकै धर्महरुका विषयमा पनि प्रसस्त ग्रन्थहरु पाइने भएको हुनाले लेखपढ गर्न सक्षम व्यक्तिहरुका निमित्त तीनको अध्यन अभ्यासले दिन काट्नका निमित्त सहज तुल्याउँदछ । इन्टरनेट जडान भएका घरहरुमा कम्प्युटर तथा ट्याब्लेटहरु को उपयोगले धार्मिक कार्यक्रम, प्रवचन, भजन आदी उपलब्ध छन् । टेलिभिजनमा प्रदर्शन हुने धार्मिक कार्यक्रमहरुले पनि धेरैलाई राहत दिएको पाइन्छ । टेलिभिजन नहुँनेहरुका निमित्त चाहिँ एफ.एम रेडियो स्टेशनहरुद्वारा सञ्चालित धार्मिक कार्यक्रम लगायत धार्मिक संगीत (भजन) ले समय बिताउने मार्गप्रस्त गरिदिन्छ । धार्मिक आस्था राख्ने हो भने प्राबिधिले घरमा बसीबसी एक्लो पानामाथी बिजय प्राप्त गर्न बिगतमा भन्दा आजकल केही सहज स्थिती सिर्जना गरेको छ । तर त्यसका निमित्त आफु तयार हुनु को बिकल्प अरु छैन । 

 

आजकल हाम्रो उमेर लम्बिदै गएको छ । बिगतका पिडीहरु को भन्दा हाम्रो पिडी को औषत आयु लामो छ । आयु लामो हुँदा बढ्दो उमेरसंगै शरीर दुर्बल हुँदै जाने, बिगतमा देखा नपरेका वा असाधारण प्रकृतिका रोग व्याधहरु देखापर्न थालेका छन् । साधारण हुनथाले डामेन्सिया, अल्जामेर तथा पार्किन्सन आदी रोगहरु । त्यस्ता रोगहरुले व्यक्तिलाई आफूले आफ्नो स्याहार सुसार गर्न असमर्थ तुल्याउँदछ। तीनका निमित्त सहाराको आवश्यक्ता हुन्छ र जीवन अत्यन्त कष्ठ हुन्छ । त्यसै गरी बुढ्यौलीसँगै आखाँ कमजोर हुँदै दृष्टीविहीन हुने  र कान कम सुन्ने हुँदै कान सुन्न कठिन हुँदै जानु साधारण हुन्छ । आफ्नो स्याहार सुशार आफैले गर्न नसक्ने हुँदा बृद्धा व्यक्ति पर निर्भर हुन बाध्य हुन्छन् । सम्पन्न व्यक्तिहरुका लागि भन्दा बिपन्न व्यक्तिहरुका निमित्त त्यस्तो अवस्था अभिसाप सिद्ध हुन्छ । 

 

बुढ्यौलीमा सबैले छोडेका वा एक्लोपनाले पिल्लसीएकाहरुका निमित्त भक्ति भावले मन बहल्याएर शान्तीसंग जीवनको आखिरी अवस्था व्यतित गर्न मद्दत गरेको देखेर नै हो आफूलाई भौतिकवादी ठान्ने पंक्तिकार पनि चुम्वकीय धार्मिकआस्था तर्फ आकर्षित हुन थालेको छ । के थाहा यदी तपाई पनि एक्लोपनाको शिकार हुनुभएको छ भने धार्मिक आस्थाले कतै तपाईलाई पनि राहत दिन्छ कि ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार