• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
जीवनको प्रेरणा

‘फ्लाइटमा यात्रुहरु बिचित्र–बिचित्र भेटिन्छन्’

बबिता मानन्धर कायस्थ

म बिवाहित महिला हो । घरको कामकाज भइनै हाल्छ । फ्लाइट नहुँदा घरकै कामकाजमा व्यस्त हुन्छु । हप्तामा एक दिन हामीलाई हुन्छ नत्र अरु दिन कि त बिहान कि दिउँसोको सिफ्टमा फ्लाइट पर्छ । फ्लाइट भएका दिन बिहान साढे चार बजे देखि पाँच बजे भित्र उठिसक्नु पर्छ । फ्लाइट टाइम भनेका साढे छ देखि साढे सात हुन्छ । भ्यान साढे पाँच बजे पिकअप गर्न आउँछ । त्यो समय भित्रमा एयरपोर्ट छिरिसक्नु पर्नेहुन्छ । कहिंलेकाही ढिला भए भने पन्ध्र मिनेट भ्यानले कुर्छ ।  बिहानको समयमा मेकअप गर्ने आफुलाई के के चिज चाहिने हो सबै हेर्नुपर्छ । यसमा मुख्य कुरा भनेको आफु कस्ती देखिएकी छु र आफु फिट भए कि भइन भनेर हेर्ने हो । मेरो डियुटी स्टार्ट भनेको भ्यानबाट झरेपछि शुरु भईहाल्छ । एयरपोर्ट भित्र छिरेपछि केही कागजपत्रहरुमा साईनहरु गर्यो । त्यसपछि मापसे चेक हुन्छ अनि फिल्ड तिर लाग्ने हो । त्यहाँ म आफनो कार्यक्रम र जाहाज कुन हो भनेर चेक गर्छु र भित्र जाहाजसम्म पुगेपछि त्यहाँ सबैको चेक गर्नुपर्ने हुन्छ । केही सामानहरु छुटेको छ कि । जाहाज ठिक छ कि छैन । जाहाजमा केही टुटे फुटेको छ भने इन्जिनियर अथवा क्यापटेनलाई खबर गर्ने र वहाँहरुले हेर्नु हुन्छ र त्यो बनाउन पर्ने छ अथवा उड्न मिल्दैन भने बनाएर मात्र उड्छौं । 

 

मैले बुद्ध एयरमा काम गर्न थालेको १३ वर्ष जति भयो । पत्रिका पढ्दा  बुद्ध एयरमा भ्याकेन्सी देखे र दर्खास्त दिएकी हुँ । मलाई थाहा थिएन म छानिन्छु कि छानिन्न तर भाग्यले जागिर पाइहाले । जागिर पाउनको लागि धेरै दुख गरेको भन्दा पनि मैले आफै अन्तर्वार्ता दिए र पास भए । त्यसपछि बुद्ध एयरले दश दिने ट्रेनिङ दिएको थियो । म ट्रेनिङमा पास भए र साथै मेडिकलहरु पनि सबै ठिक भयो ।  २००५ अप्रेल १ को दिन सम्झौता पत्रमा हस्ताक्षर भयो र त्यसको भोलीपल्ट देखि म आकाशमा उड्न थालेकी हुँ । मैले बुद्ध एयर ज्वाइन गर्दा हामीलाई एयर होस्टेज भनेर बोलाइन्थ्यो तर २०१४ देखि हामीलाई पर्सर भनेर बोलाउन थालियो । हिमालहरु चिन्नको लागि पहिला म माउन्टेन फ्लाइटमा उडे । मैले माउन्टेन फ्लाइटमा उड्नुभन्दा पहिला प्लेन चढेकी थिइन । मेरो पहिलो जागिर र पहिलो फ्लाइट माउन्टेन फ्लाइटबाट नै शुरु भएको हो ।

 

 

मेरो पहिलो माउन्टेन फ्लाइट काठमाडौंबाट हिमाल देखाउने भनेर सगरमाथासम्मको थियो ।  हामीलाई हामीहरु २५ हजारको उचाईमा क्रुट गर्छौ भनिएको थियो । फेरी हामीसँग त्यतिबेला एउटा सिनियर पनि बस्नु हुन्थ्यो जसलाई नयाँको लागि सिकाउन भनेर राखिएको थियो । सिनियरले हामीलाई गाईड गर्ने काम गर्नुहुन्थ्यो । कसरी काम गर्ने, के के हेर्ने, कसरी देखाउने भनेर । मलाई पहिलो पटक प्लेन चड्दा नौलो लागेको थियो । के होला कस्तो होला भन्ने भएको थियो । टेक अफ गर्दा चाहि मलाई मेरो मुटु फुलेको जस्तो भएको थियो । अलि अलि डर पनि लागेको थियो । आफनो एकदमै रुची भएको बिषय भएर पनि होला डर भन्ने कुरा चाहि मलाई कहिले पनि लागेन । हामी दश दिन जति माउन्टेन फ्लाइटमा हिड्यौं र माउन्टेनलाई प्रस्टसंग चिन्यौ साथै यात्रुहरुलाई गाइड गर्न सक्ने पनि भयौं । त्यसपछि हामीलाई सेक्टर अनुसार फ्लाइटमा उडाइयो । सेक्टर  फ्लाइटमा म पहिला भद्रपुर उडे । भद्रपुर भापाको लागि एउटा फ्लाइटमा उडेपछि हामीलाई कामहरु सिकाईदिनु भयो । हामीलाई ठिक छ भनेर भोलीबाट सेक्टर फ्लाइटमा नै सिफ्ट गरियो । पहिलोपटक भद्रपुर उड्दा खासै डर त लागेन तर मनमा कस्तो हुन्छ होला भन्ने चाहि एकदमै थियो ।  

 

भद्रपुर पछि म नेपालगञ्जको लागि उडे जसमा म एक्लैले यात्रुहरुसँग डिल गर्नुपर्ने थियो ।  म एक्लैले क्याबिन सम्हालेको नेपालगञ्जको फ्लाइटमा हो । नेपालगञ्ज उड्दा डर भन्दा पनि यात्रुहरुको रेखदेखको कुराहरु मलाई सिकाइएको थियो । उठ्नु अनि प्यासेन्जर सर्भिस गर्नु भनिएको थियो । यात्रुहरुलाई चिसो बाड्नु परथ्यो । मलाई चिसो बाड्नु भनिएको पनि थियो तर त्यो मलाई अलिकति गलत तरिकाले सिकाईयो भन्ने कि के भन्ने । म यात्रुहरुलाई चिसो बाड्ने कहिले होला भनेर कुरेको कुरै भए । क्रुज हुन्छ बाड्छु ,क्रुज हुन्छ बाड्छु भनेर म कुरिरहे र घडी हेर्‍या हेरै गरे तर क्रुज भएको फिल नै हुदैन । म त्यतिकै बसिरहे र केही समयपछि मलाई क्याप्टेनले बोलाउनु भयो र तिमीले बाडेर बसेको हो भनेर सोध्नुभयो मैले छैन भने । त्यसपछि उहाँले ल्याडिङ गर्ने बेला भइसक्यो देउ सबैलाई भन्नुभयो । त्यसपछि मैले फटाफट सबैलाई चिसो दिए । एकजना यात्रुले मैले हतार हतारमा चिसो दिएको देखेर तिमी नयाँ हो बहिनी भनेर सोध्नु भएको थियो । त्यसपछि प्लेन ल्यान्ड भयो र क्याप्टेनले मलाई तिमीले अघि किन चिसो पहिला नै नदिएको भनेर सोध्नु भयो, मैले तपाईले इन्जिनको बटम आफुतिर आएपछि मात्र बाड्नु भन्नुभएको थियो त्यसैले मैले नदिएको भने । त्यसपछि उहाँलाई मलाई त्यसो होइन भन्नुभयो । क्याप्टेनले यहाँ एलटिचियुड हेर्नु र त्यहि अनुसार बाड्ने हो भन्नुभयो । पहिलो पटक गल्ती पनि भयो र क्याप्टेनले पनि सिकाइदिनु भयो ।

 

 

हामी एउटा मात्र फ्लाइटमा पर्छौ भन्ने हुदैन । हाम्रो कुनै पनि जिल्लामा फ्लाइट पर्छ । एकै दिनमा बिभिन्न ठाउँ परिरहेको हुन्छ । कहिले बिराटनगर पर्छ त कहिले भद्रपुर त कहिले नेपालगञ्ज । अपरेशन डिपार्टमेन्टले हाम्रो उडानको कार्यक्रम बनाउनुहुन्छ । उहाँहरुले बनाएको र्चाटसिट अनुसार हामी उड्ने हो । फेरी म यो १३ वर्षको अवधिमा सबै जसो जिल्ला पुगिसकेकी छु ।

 

हाम्रो खाजा खाने समय हुदैन भन्ने कुरा एकदमै सहि हो । झन् सानो १८ सिटर प्लेनमा त  बाथरुम छैन । फेरी फ्लाइटको समय १५ मिनेटको मात्र हुन्छ । एउटा फ्लाइटबाट अर्को फ्लाइटमा जानको लागि हामीसँग १५ मिनेटको समय हुन्छ । यात्रुहरु झार्यो र फ्लाइट सफा गर्दा गर्दै अर्को यात्रुहरु आइसकेका हुन्छन् । त्यसैले हामीलाई बिचको समयमा खान पनि मुश्किल नै हुन्छ । मैले चाहि अहिलेसम्म बिहान देखि बेलुकासम्म भोकै उड्े भन्ने अनुभव गरेकी छैन । आफुलाई पनि खानुपर्ने र अलि बोल्ने पनि भएकोले होला क्याप्टेनलाई पहिला नै सर आज कहाँ के खाने भनेर सोधि हाल्थे र त्यहि अनुसार समय मिलाउँथे ।

 

यती फिट भन्दा पनि सेक्टर अनुसारको उचाई हुन्छ । कहिलेकाँही त्यस्तै मौसम तल छ भने २१ हजार फिट उचाईसम्म पनि हुन्छ जुन धनगढीको लागि हो । नत्र अधिक्तम उड्ने भनेको १६ देख १७ हजार फिट उचाई नै हो । फ्लाइटमा यात्रुहरु अनेकन थरीका बिचित्र बिचित्र खालका भेटिन्छन् । सबै को बानी एउटै हुदैन । कोही एकदमै छिटो रिसाउने हुन्छन् त कोही हाम्रो कुरा बझ्ने हामीलाई सुन्ने खालका हुन्छन् । 

 

त्यस्तो आश्चर्यजनक घटना त खासै घटेको छैन तर एकपटक भद्रपुरबाट काठमाण्डौ आउँदा एकजना मान्छे बिमारी लिएर चढ्नु भएको थियो । बुढो मान्छे हुनुहुन्थ्यो । उहाँलाई छोरीले समाती राख्नु भएको थियो । बिमारी मान्छेमा होश नै नभएको जस्तो थियो । मैले क्याप्टेनलाई खबर गरे । प्लेन ल्यान्ड गर्नै लागेको थियो । सायद मलाई लाग्छ उहाँ प्लेनमा नै बितिसक्नु भएको थियो । फेरी त्यस्तो हामीले केही बोल्न पनि मिल्दैन थियो । हामीले खाली केही भएको छैन मात्र भनेका थियौं । पछि प्लेन ल्यान्ड गरिसकेपछि उहाँलाई एम्बुलेन्समा हालेर लगियो । तर प्लेनबाट उहाँलाई झार्दा पनि उहाँको सांस गइसकेको जस्तो महशुस भएको थियो । त्यस्तो ठुलै घटनामा त खासै परेकी छैन तर मान्छे बिमारी हुने, प्लेन उड्ने र ल्यान्ड गर्ने बेला मान्छेहरु अत्तिने जस्ता घटनाहरु भने धेरै भएका छन् ।  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार