• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
जीवनको प्रेरणा

एउटा किशानको स्वर्ग

लिलाराज खतिवडा

उर्लावारी सिसौलीका राजेन्द्रबहादुर निरौला दुनियाँका लागि एक गुमनाम व्यक्तित्व हुन् । तर दुनियाँका हरेक मान्छेको आफ्नो छुट्टै र नैसर्गिक कथा हुने गर्दछ । सवाल यत्ति नै हो कि त्यो कथा लिपिबद्ध हुन सक्यो कि सकेन ।घतलाग्दा गुमनाम व्यक्तिहरुको कथा खोज्नु, लेख्नु र पस्किनुको मजा भने नितान्त भिन्नै ।

 

भिँगामारी स्थित म जन्मिएको जमिनबाट मुश्किलले पौने एक किलोमिटर पश्चिम बक्राहा खोलाछेउमा राजेन्द्र दाईको घर छ । तर उनका घरमा म चालिस वर्षको उमेरमा मात्रै पुगें । मेरा बाले उक्त जमिन म आठ वर्षको हुँदा बेचेर अन्तै खरिद गरे तापनि बेलाबेला आफ्नो जन्मस्थानपुग्न रुचाउने गर्दछु, म । जन्मस्थानका प्रायः सबैसँग मेरो चिनजान र आत्मिय सम्बन्ध छ । त्यहाँका प्रायः सबै मलाई न्यानो लाग्छन् ।अनि त्यहाँको माटोको सुगन्ध पनि । जहाँ पुगेपनि बेलाबेला मलाई त्यो सुगन्धले तान्छ । अनि म बेलाबेला अनायाशै पुगिदिन्छु, मेरो जन्मस्थान ।र, आफ्नोजन्मस्थानका दाजुभाई, दिदीबहिनी, केटाकेटी र बृद्धबृद्धाहरुसँग घण्टौं गफमा बत्तिनु मेरो दिनचर्या बनिदिन्छ ।

 

पाँच वर्षअघि सिसौली निवासी मेरा काका दीपक खतिवडाका साथमा राजेन्द्र दाईका घरमा पहिलोपटक पुगेको थिएँ । मेरा बुबाका विद्यार्थी भए पनि राजेन्द्र दाईका बारेमा मैले केवल सुनेको थिएँ । उनलाई प्रत्यक्ष भेटेको थिइँन । तर जब हिँउदको त्यो एक दिन मैले उनलाई भेटें, म उनको फ्यान नै हुन पुगें ।

 

सानैमा खूब नाम सुनेका बलबहादुर लप्टनका यी काइँला छोराका बारेमा मैले जुन अड्कल लगाएको थिएँ उनी त्यो भन्दा ज्यादा नै निस्किदैँ थिए । उनी एक कुशल किशान मात्रै होइन, एक अज्ञात तान्त्रिक पनि निस्किए । अज्ञात यस अर्थमा कि उनलाई अहिलेसम्म कसैले तान्त्रिकको उपाधि भिडाएको छैन । न त उनले तन्त्र विद्यामा कुनै विलासी आश्रमबाट चहकिलो प्रमाणपत्रहासिल गरेका छन् न त कुनै अघोरीलाई गुरु नै थापेका छन् ।

 

पाँच लामा वर्षका मध्यान्तरमा मैले उनीमाथि गरेको ब्यापक अनुसन्धानले उनी एक कुशल तान्त्रिक हुन् । उनमा अर्को मान्छेको दर्दलाई बुझेर त्यसको उपचार गर्न सक्ने आध्यात्मिक शक्ति छ । तर जानेर उनले यसको प्रयोग कसैमा पनि गरेका छैनन् । हुन सक्छ, उनको त्यो विद्या वा शक्तिको पहिलो प्रामाणिक साक्षि म नै हुँ ।

 

त्यसो त म यहाँ राजेन्द्र दाई धामी, झाँक्री वा ओझा हुन् भनेर भनिरहेको छैन । उनको रहनसहन, जीवनशैली र दैनन्दिन कार्यप्रणाली नियाल्दा उनको रसायन एउटा गृहस्थ तान्त्रिक वा योगीसँग मिल्दोजुल्दो भेटियो ।कुनै अवशादग्रस्त मानिसलाई उनीसँग केही बेर राखिदिँदा त्यो पुनः बौरिन सक्छ । 

 

उर्लावारीको राधिका माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि २०३९ सालमा काठमाण्डौको आरआर क्याम्पसमा आइए पढ्ने अवसर पाएका राजेन्द्र दाईलाई त्यतिबेलाअलिक बढी नै ‘हिप्पिइजम’को हावालेतानेको थियो । हुन पनि त्यो बेलाको काठमाण्डौ पश्चिमा हिप्पीहरुको जगजगीले ग्रस्त थियो । र, अर्थशाष्त्र, भूगोल र राजनीति शाष्त्र लिएर अध्ययन गरिरहेका राजेन्द्र दाई कलेज बंक हानेर ठमेल, झोंछे वा पशुपतिनाथ मन्दिरतिर बरालिन थालेपछि पढाइ डाँवाडोल त हुने नै भयो । त्यसो त उनी त्यतिबेला राजनीतितर्फ पनि आकर्षित नभएका होइनन् । तर, उनकै भाषामा राजनीति उनका लागिसबेरैको एक कप चिया सावित हुन सकेन ।

 

तर यस प्रसंगमा आजकल यदाकदा उनी अलिक पछुतो पनि मान्छन् । भन्छन्, ‘पढाइ नछोडेको भए, अहिले म यहाँ गाउँमा होइन, शहरतिरै वा विदेशमा हुने थिएँ । तर मलाई पढाइ भन्दा पनि प्रकृतिसँग ज्यादा लगाव थियो । त्यसैले आज म जहाँ छु, त्यो मेरै भित्री इच्छाको विस्तार पनि हो ।’

 

उनका अनुसार त्यो बेला क्याम्पसमा पढाइ कम र अत्याधिक राजनीतिक खेलतथा गुण्डागर्दी हुने गर्दथे । यस्ता कुराहरुले पनि उनलाई पढाइप्रति उदासिन तुल्याइदिएका थिए । त्यसैले कसोकसो आइए पास गरेर उनी घरै फर्किए र विवाह गरेर बाबुको कामत सम्हाल्न थाले । आज पर्यन्त उनी आफ्नो कामत र परिवार सम्हालेर घरैमा छन् ।र, उनी गर्वसाथ भन्छन्, ‘म एक किशान हुँ । यो नै मेरो पहिचान हो ।’
मैले थपें, ‘किशान मात्रै होइन, तपाईं एक कुशल किशान हो ।’

 

सुनेर उनी हाँसे, बेजोड आवाज छोडेर, आफ्नै पारामा । उनको हाँसो मैदानमा टाढाटाढा फैलिएजस्तै लाग्यो ।

 

उनको जीवनशैली लोभलाग्दो नै छ । आज उनी जसरी गाउँमा ताजा हावा र खाना खाएर बसेका छन् त्यो मेरो पनि सपना थियो । तर आफ्नो खेत लगभग बाँझै छाडेर आफू यता घाटामा अक्षरखेति गरेर बसिएको छ । केका लागि ?बेलाबेला त लाग्छ, तातो न छारो !

 

 

उनले आफ्नो निवासमा प्रसस्तै लोकल कुखुरा, हाँस, तित्रा र केही बँदेल पनि पालेका छन् । उनी मात्रै होइन, पुरै परिवार नै मासुको सौखिन छ । उनी खेतबारीमा आफैँ अग्र्यानिक तवरले अनाज र सागसब्जीको खेति गर्छन् । एकदमै कम सामान मात्रै बजारबाट भान्सामा भित्रिने गर्दछ । बारीमा सिजन अनुसारका तर्कारीहरु फलेफुलेका छन् । बगैँचामा मौसमी फलफूलहरु लटरम्म भेटिन्छन् । खेतमा अनाजहरु लहलहाएका छन् । गाईवस्तु, बोका, खशीहरु पनि प्रसस्तै छन् । अब के चाहियो ?

 

राजेन्द्र दाईको भाषामा, अब चाहियो केवल शान्ति र आत्मसंतुष्टि ! जो उनको आभामण्डलमा उपस्थितनजर आउँछ ।

 

उनी बिहान सबेरै उठ्छन् । एक चिलिम ‘बालचरी’ तानेपछि उनको दैनिकी शुरु हुन्छ । आफ्ना सारा काम आफैँ गर्न रुचाउने हसिँला र मिजासिला राजेन्द्र दाईको परिवारका सारा सदस्यहरु उसरी नै आफ्नो काम आफैँ गरिरहेका भेटिन्छन् ।६० वर्षको उमेरमा पनि उनी मजबूत छन् । भन्छन्, ‘परिआए, पाँच, छ जनालाई त अझै पनि पछार्न सक्छु जस्तो लाग्छ ।’

 

उनी कुनै लक्काजवान झैं आफ्नो खेतमा उछलकूद गरिरहेका भेटिन्छन् । गोबर सोहोरिरहेका हुन्छन् । घाँस काटिरहेका भेटिन्छन् । खेत जोतिरहेका वा आली लगाइरहेका देखिन्छन् ।बञ्चरोको बिँड तासिरहेका, दाम्ला बाटिरहेका, नातिनीलाई गृहकार्य सिकाइरहेका, बारीमा फरुवा हानिरहेका, कुखुरो भुत्ल्याइरहेका, बँदेल खशी पारिरहेका वा गाईवस्तु पगाहा लगाइरहेका पनि भेटिन्छन् ।

 

भन्छन्, ‘एउटा किशानले यो गर्दिनँ, त्यो गर्दिनँ भनेर धरै पाउँदैन ।’ उनको अनुभवमा एउटा किशानले हरदम चनाखो रहन सक्नुपर्छ । कतिखेर वस्तुभाउ फुकेर अर्काको बाली खाइदिन्छ र हर्जाना भर्नु पर्ने हुन्छ, थाहा हुँदैन । अल्छि मान्छे कुनै सरकारी कार्यालयको हाकिम हुन सक्ला । तर किशान हुनै सक्दैन ।

 

मैले उनलाई केही फटाफट प्रश्न सोधें । उनले दिए सारा फटाफट प्रश्नका एउटै र सटिक जवाफ, यसरी :
‘जीवन केहो ?’
‘काम !’ 
‘जीवनको उद्देश्य के हो ?’
‘काम !’ 
‘दुनियाँका सारा समस्याहरुको समाधान के हो ?’
‘काम !’ 
‘पूजा के हो ?’
‘काम !’ 
‘धर्म के हो ?’
‘काम !’ 
‘ध्यान के हो ?’
‘काम !’ 

लौ अचम्म ! यी किशान दाईका अनुसार मान्छेको पर्याय नै काम हो र ईश्वरले मानवलाई दुई हात र दिमाग काम गर्न नै दिएको हो,रे ।उर्जामय लवजमा भन्छन्, ‘काम गरेर मात्रै मान्छे रुपान्तरण हुन सक्छ । काम हरेक अर्थमा मानवका लागि अपरिहार्य क्रिया हो । काम गर्नाले जीवन त सम्बृद्ध बन्छ नै । त्यो सम्बृद्ध जीवन भोग्नका खातिर मान्छे स्वस्थ र दिर्घायु पनि हुन्छ ।’

 

 

काम गरेर लखतरान भएपछि उनी पुनः चिलिम सल्काउँछन् । दिनभरमा यस्तै पाँच, छ चिलिम ! यो त अहिले घटेको मात्रा पो । नत्र उहिले जवानीमा त दिनभरमा बीसपच्चीस चिलिम सामान्य । 

 

उनी काठको सानो अचानोमा प्रेमकटारीले चिरिपचिरिप बालचरी काट्छन् । सुर्ति मिसाउँछन् । मोल्छन् । अनि फेरि चिरिपरिचरिप ! त्यो काटेको कंकड सावधानीपूर्वक चिलिममा लोड गरेपछि जुटको गूल पोल्छन् । अनि लाग्छ, दम : जय शम्भो !! 

 

यदाकदा ‘घाँस खान रुचाउने’ साथीभाईहरुले पनि गहिरो कश लगाउन उनलाई उसैगरी साथ दिन्छन् । त्यसो त घरका अन्य सदस्यहरु चिलिम तान्दैनन् र उनलाई यस मामिलामा घर वा समाजमा कुनै अवहेलना पनि छैन । उनले बताएअनुसार उनी हिशाबले तान्छन् । कुनै दुरुपयोग वा बेचबिखन गर्दैनन् । भन्छन्, ‘प्रकृतिले उमारेको बनस्पति हो, गाँजा । यसमाथि कसैको नियन्त्रण असंभव छ । जानेर उपयोग गर्दा यो औषधि हो र नजानेर गर्दा, विष !’

 

राजेन्द्र दाई अगाडि भन्छन्, ‘त्यसो त लागेको बानी हो । पड्के, चाहेर पनि छोड्न सकिएको छैन ।’

 

उनले गाँजालाई बिजुलीको नांगो तारसँग मेटाफोर गरे । यसै छुँदा करेन्ट लाग्ने बिजुलीको नांगो तारलाई मिलाएर जोड्यो भने, बत्ती बल्छ ! गाँजा यस्तो बनस्पति हो जसको सेवनले जागृत मान्छे बेहोश हुन्छ र बेहोश मान्छेचाहिँ जागृत !!  

 

राजा महेन्द्रका पालामा उनका बुबा बलबहादुर आर्मीको लेप्टिनेन्टथिए । गाउँघरमा उनी बलबहादुर लप्टन नामले चिनिन्थे । कतिपयले उनलाई सामन्तीको आरोप पनि लगाउँथे । तर उनलाई राजा महेन्द्रले मन पराएका थिए । राजेन्द्र दाई स्मरण गर्छन्, ‘कुनै पनि सरकारी कर्मचारी टिक्न नसकेको त्यतिबेलाको संखुवासभाको विकट गाउँ ओलांगचुंगगोलामा २००७ सालमा मेरा बुबाले भोटेहरुसँग मित लगाएर चार वर्ष काम गर्नुभयो । त्यतिबेला ओलांगचुंगगोलामा भोटेहरुका राजा हुने गर्दथे । त्यहाँ उनीहरुको आफ्नै शाषन हुने गर्दथ्यो । त्यहाँ पोस्टिंग भएर पनि त्यतिबेला कुनै आर्मीका अफिसरहरु टिक्नसकिरहेका थिएनन् । मेरा बुबा आँटी हुनुहुन्थ्यो । र, मेरा आदर्श पनि ।’

 

 

मानिस भएर जन्मिएपछि जीवनको रहस्य बुझ्न सक्नुपर्छ भन्ने मान्यता राख्ने राजेन्द्र दाई आफूलाई सत्यको अनुयायी भन्न रुचाउँछन् । उनी आफ्नो जीवनको रहस्य उजागर गर्छन्,‘म अरु कसैलाई क्षति पुर्याउने बारे सोच्दा पनि सोच्दिँन । हरेक बिहान दुनियाँको सलामतीका लागि प्रार्थना गर्छु । मानव–मानव बीचमा दुनियाँमा म जहिल्यै पनि सामञ्जस्यता कायम भएको हेर्न रुचाउँछु । यस्तै भावनाहरुले मलाई बाँच्ने उर्जा पनि दिइरहेका हुन्छन् ।’

 

त्यसो त अर्को हिशाबमा काम नै उनको धर्म हो । शिवभक्त उनी एकछिन् पनि फुर्सद बस्दैनन् । बिना काम घर छाडेर अन्त कतैबरालिँदैनन् । उनलाई भेट्न फोन नगरी सिधै उनको घर पुग्दा हुन्छ । उनान्सय प्रतिशत उनी आफ्नै घरमा केही न केही गरिरहेको अवस्थामा भेटिन्छन् ।

 

‘काम केही नभए, बरु म सुत्छु,’ हसिँलो मुद्रामा उनी सुनाउँछन्, ‘सुत्दा हाम्रा सारा मृतकोषहरु पुनः बौरिन्छन् । फुर्सदमा फोगटिया गफ गर्नु वा बरालिनु भन्दा गुटुमुटु भएर सुत्दा नै जितिन्छ ।’ 

 

दिउँसोको खाना खाएर उनी अनिवार्य चार घण्टा गहिरो निद्रा सुत्ने गर्छन् । उनलाई राम्रोसँग जानेका साथीभाई वा आफन्त दिउँसो एघार बजेदेखि तीन बजेसम्म उनलाई भेट्न कहिल्यै उनको घर पुग्दैनन् । सुतेका बेला जोसुकै टप्कियोस्, काँल्दाई उठे पो ! कि त जसरी गएको उसैगरी फर्किनु पर्यो कि त उनी नउठुन्जेल कुरेरबस्नु पर्यो । अरु उपाय नास्ती !

 

उनका एक छोरा रछोरीको बिहावारी भइवरी सन्तान पनि भइसकेका छन् । एउटी छोरी भने अलिक अशक्त छिन् र घरमै बस्छिन् । त्यसो त राजेन्द्र दाई आफ्ना नातिनातिनाहरुसँग उत्तिकै खेलिरहेका पनि भेटिन्छन् । केटाकेटीहरु पनि उनीसँग उत्तिकै झुत्तिन्छन् । राजेन्द्र दाई भन्छन्, ‘केटाकेटीका आँखामा म ईश्वरको झलक पाउने गर्छु ।’

 

‘अनन्त प्यास नै मान्छेहरुको जीवन ज्यूँने बहाना हो र, मान्छे आफ्ना ती अतृप्त प्यासहरु बुझाउने यत्नमा नै जीवनसँग चलायमान भइरहेको वा पौंठेजोरी खेलिरहेको हुन्छ,’ उनी आफ्नो बगैंचाको आँपको रुखमुनि ठिंग उभिएर सुनाउँछन्, ‘कुनै पनि प्यासहरु त्यति सजिलै तृप्त हुँदैनन् । यस्तो लाग्छ, भित्र सब खोक्रो छ । जति हाले पनि नभरिने । जुन दिन मान्छेको त्यो अनन्त प्यास मेटिन्छ, त्यतिबेला मान्छे या त बुद्ध बन्छ या त सकिन्छ ।’

 

उनका अनुसार मानव जीवन खासमा नीरस छ । र यसलाई रंगिन बनाउने जिम्मा पनि ईश्वरले मानवलाई नै सुम्पिएको छ । परिवारमा कामलाई नै नाच, गान, खेल वा उत्सवमा रुपान्तरण गरेर त्यो नीरस जीवनलाई रसपूर्ण तुल्याउन सकिने उनको धारणा छ । उनी भन्छन्, ‘तर आजकल त घरघरमा काम नगर्ने र बसीबसी खान खोज्ने अल्छि मान्छेहरुको जमात ठूलो छ । त्यही भएर सारा दुनियाँ रोगले ग्रस्त छ । काम नै मान्छेको निरोगी रहने अचूक औषधि हो । कामले मन र शरीरमा खिया पर्न दिँदैन । र, परेको खियालाई पनि कामले हटाइदिन्छ ।’

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका साधारण सदस्य समेत रहेका राजेन्द्र दाई समाजसेवा र समाज जागरण अभियानहरुमा पनि उत्तिकै सकृय भेटिन्छन् । उनका अनुसार, यदि उनको सानो मद्दतले कसैको ठूलो काम बन्छ भने त्यो गर्दा कल्याण त हुन्छ नै, जीवनमा सन्तुष्टि पनि प्राप्त हुने गर्दछ । केही पनि गर्ने हैसियत छैन भने, आफ्नो समझको ईश्वरसमक्ष जरुरतमन्दका लागि प्रार्थना त अवश्य गर्नुपर्छ भन्ने उनको मान्यता छ ।
पत्रपत्रिका पढ्नु, टेलिभिजन हेर्नु उनका शौखहरु हुन् । आजकल त उनले फेसबुक चलाउन पनि सिकिसकेका छन् । दुनियाँमा केके भइरहेको छ, त्यो सब उनलाई थाहा पाउन मन लाग्छ । आँखा अझै दुरुस्त छन् ।

 

चश्मा लगाउनु परेको छैन । बिरामी भएर अस्पताल धाउनु परेको छैन । उनी भन्छन्, ‘बिरामी परेर म कहिल्यै थलिएको छैन । अस्पताल त अहिलेसम्म मेरा लागि निकै टाढा नै छ ।’

 

उनका अनुसार काम नै उनको निरोगीताको प्रमाणपत्र हो । भन्छन्, ‘जुन दिन म काम गर्न असमर्थ हुन्छु, त्यही दिन म सिद्धिन्छु जस्तो लाग्छ ।’

 

त्यसो त राजेन्द्र दाईसँगका कैयन एपिसोडहरुमा मलाई लागिरहेको थियो, मेरो मन एवम् जोर्नीका गाँठाहरु पग्लिरहेका छन् र म हल्का हुँदै गइरहेको छु । दुई वर्ष अगाडि एक्काइस दिन लगातार म उनको पछिपछि हिँडे । उनीसँगै विभिन्न कामहरु गरें । दाम्ला बाट्नसमेत त्यहाँ मैले सिकें । चिलिम तानें । सिंगासिंगै कुखुरा पोलेर खाएँ । ती एक्काइस दिन मेरो जीवनका निकै महत्वपूर्ण दिनहरु थिए । त्यसै दौरान राजेन्द्र दाजुले

 

मलाई सोध्न भ्याएका थिए, ‘कलम चलाउन मजा कि शारिरिक काम गर्न ?’

 

मेरो जवाफ, ‘शारिरिक काम गर्न । किनभने, लेखिरहेका बेला म काल्पनिक दुनियाँमा गोता खाइरहेको हुन्छु भने, यसरी काम गरिरहेका बेला मेरो सम्पूर्ण अस्तित्व यथार्थमा ओर्लिएर पूर्णतय सकृय भइरहेको हुन्छ ।

 

अझै पनि लाग्छ, कि सारा संसारको दर्दलाई अक्षरांकन गर्न छाडेर आफ्नो जन्मस्थान जाउँ र बाँकि जीवनएउटा किशानको रुपमा चुपचापप्रकृतिसँग आफूलाई तादात्म्य गरिरहुँ । र, आफ्नो चेतनालाई माटोको

 

सुगन्धको रापले सेकूँ ।

 

तर खोइ ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार