• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
जीवनको प्रेरणा

महिला कलाकारलाई नाटक खेलाउन उनीहरुसँग तिहारमा टिका लगाउनु पर्थ्यो

२०२७/२८ साल तिरको कुरा हो, जुनबेला म जनता नमूना माध्यामिक विद्ययालय बिराटनगरमा कक्षा ७ मा अध्ययन गर्थे । म पढाइ लेखाइको साथसाथै खेलकुद र साहित्यमा पनि रुची राख्थे । स्कुलमा हरेक महिनाको अन्तिम शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलहरु र कविता गोष्ठी हुने गर्थ्यो ।  म आफुलाई आँसुकवि नै हुँ कि भन्ने सोच्थे । म मा तुरुन्तै कविता रच्न सक्ने खुवी भएकाले कक्षाका सबै साथीहरु गोष्ठी अगाडि मलाई कविता लेखदिन अनुरोध गर्थे र म उनीहरुका लागि कविता लेख्थे । मेरो यस्तो कामले सबैले मलाई चिन्थे र म सबैको प्रिय बनेको थिए ।

 

तत्कालिन समयमा सरस्वती पूजाको दिन बिराटनगर स्थित सबै स्कुलहरुमा सास्कृतिक कार्यक्रम हुन्थे । स्कुलमा हुने कार्यक्रममा गाउँले बद्री अधिकारी, वेणु ढकाल, मनोज खरेल लगाएत एकाकी र प्रहसनमा भाग लिने गर्थे जसलाइ पुरै स्कुलले चिन्थ्यो र उनीहरु सबैका प्रिय बनेका थिए । मलाइ पनि उनीहरु जस्तै सबैले चिनुन र सबैको प्रिय हुने चाहना जाग्यो र २०२९ सालमा म बद्री अधिकारीको अध्यक्षतामा खुलेको आदर्श वालकला निकेतनमा समावेश भए ।

 

यसरी स्कुलमा हुने सांस्कृतिक गतिविधीमा भाग लिन थालेपछि मलाई स्कुल र साथीभाइका अभिभावकहरुले समेत चिन्न थाले । विस्तारै मेरा आकांक्षाहरु बढन थाल्यो । अब मलाई स्कुल र साथीभाइका अभिवाकहरुले मात्र चिनेर भएन सम्पूर्ण बिराटनगरवासीहरुले चिन्नु पर्ने चाहना म भित्र जागेर आयो । स्कुलभित्र हुने सांस्कृतिक गतिविधीको परिधी नाघेर शहरिया रंगमञ्चमा पाइला राखे । २०३२ सालमा पहिलो पटक बद्री अधिकारी कै लेखन अनि निर्देशनमा नाटक ‘यहाँ मरे बांचिन्छ’ मा अभिनय गरियो । यसपछि २०३२ सालमा माधव सापकोटा द्वारा लिखित र निर्देशित नाटक ‘रक्तिम बलेंसीका रातहरुमा’ अभिनय गरे । यो नाटकमा अभिनय गर्दाको क्षण नै मेरो नाट्य जीवनको टर्निग प्वाइण्ट बन्यो । किनभने म सम्वाद बोल्दा अलि अलि भकभकाउने स्वभावको थिए । माधव सापकोटा दाइले ‘तं नाटक गरेर खान सक्दैनस’ भन्नुभयो र नाटकमा मैले बोल्ने सम्वाद घटाउदै घटाउंदै एक वाक्यको मात्रै बोल्न दिनुभयो । त्यसपछि उहाँले मलाइ कहिल्यै नाटकमा खेल्न दिनुभएन ।

 

मैले आफनै संस्था खोलेर नाटक गर्ने निधो गरे अनि दियालो परिवार भन्ने संस्था खोले । यस संस्थामा पछि वद्री अधिकारी, मुकुन्द श्रेष्ठ दाइहरु पनि आवद्ध हुनुभयो ।  संस्थाको कार्यक्रम तयारीका लागि हामीलाइ ठुलो कोठाको आवश्यकता पर्र्यो र हामी रमेश बुढाथोकीको पसल भएको घर पछाडीको एउटा टिनको छानो भएको गोदाममा अभ्यास गर्न थाल्यौं । रमेश बुढाथोकी र सुनील पोखरेल गोग्राहा हाइस्कुलमा पढने समकालिन साथीहरु हुन । उनीहरु हामीले गरेको अभ्यास हेर्न आउँथे । यसै क्रममा उनीहरुसँग चिनजान भयो । हामीबीच घनिष्ठता बढदै गयो । सुनिल पोखरेल, रमेश बुढाथोकी र बद्री अधिकारी पछि एकैदिन काठमाडौं आए अनि मिलेर रंगमञ्च सुरु गरे । सुनील पोखरेल नेशनल स्कुल अफ ड्रामा दिल्लीमा पढन गएपछि बद्री अधिकारी र रमेश बुढाथोकी पनि अलग भए ।

 

२०३५ सालमा सरकारी सेवामा प्रवेश गर्न म इलाम गए र २०३८ सालमा पुनः विराटनगर पदस्थापन भए । यो बीच मैले कुनैपनि रंगमञ्चका गतिविधीहरु गर्न पाइन । म बिराटनगर आएपछि मैले रंगमञ्चलाइ पुनः निरन्तरता दिए । सुनील पोखरेल दिल्लीबाट विदामा बिराटनगर घर आउने जाने क्रममा म संग घनिष्ठता पनि बढदै गयो र उहाँ कै सल्लाह बिमोजिम मैले स्पिच थेरापी गरेर भकभकाउने बोलीलाइ नियन्त्रण गर्न थाले ।

 

पैसा नहुनु , महिला पात्र नाटकमा खेल्न नमान्नु, नाटक हेर्न दर्शकको रुची नहुनु आदि विभिन्न कारणले बिराटनगरमा नाटक तयार गरेर देखाउन एकदमै कठिन हुन्थ्यो । संस्थामा हामी सरकारी र अर्ध सरकारी क्षेत्रमा काम गर्ने साथीहरु भएकाले नाटक तयार गर्न मासिक तलव खर्च त गरिन्थ्यो तर गरिएको खर्च उठाउन गाह्रो हुन्थ्यो । महिला कलाकारहरुलाई नाटकमा ल्याउन हामी तिहारमा टिका लगाएर वहिनी बनाएर नाटकमा खेलाउथ्यौ । टिकट काटेर नाटक हेर्न त परै जाओस नाटक हेर्न निशुल्क प्रवेश पास दिदा पनि दर्शकहरु आउदैन्थे । यही सेरोफेरोमा विराटनगरमा नाटक ठेकेदारको जन्म भयो र हामी नाटकलाइ ठेक्कामा दिन थाल्यौ । उही ठेकेदारले बजारमा टिकट विक्री गर्थ्यो र कवोल ठेक्का रकम बुझाउने गर्थे । तर कहिले कांही त्यही ठेकेदार पनि नाटक कै दिन पैसा नदिइ वेपत्ता हुन्थे । नाटकमा खर्च भएको रकम  कयौं महिना आफ्नो तलव काटेर बुझाइन्थ्यो ।

 

यसरी नाटकीय यात्रा चलिरहेको वेला सुनील पोखरेल दिल्लीबाट पढाइ सकेर काठमाडौ आउनु भएपछि संस्थागत रुपमै नाटक मञ्चन गर्ने भनेर आरोहण नामाकरण गरी संस्था खोल्न पैरवी गर्नुभयो । तर किन हो काठमाडौंमा संस्था दर्ता गर्नसक्नु भएन र मेरो समेतको संलग्नतामा २०३८ सालमा मोरङ बिराटनगरमा आरोहण नामक रंगकर्मीहरुको संस्था दर्ता भयो । संस्था दर्तासंगै काठमाडौमा आरोहणले आफनो रंगमञ्चीय यात्रा आरोहण गर्दै गयो । म बिराटनगरमा दियालो परिवारबाटै रंगमञ्चीय गतिविधीहरुलाइ आरोहण गराउंदै गए ।

 

मेरा लागि नाटक गर्नु कथालाइ दृश्यांकन गर्नु मात्र थिएन । नाटक भित्रको राजनीति पनि थियो । एकातिर पंचायतकालीन सरकारी जागीर खानै पर्ने अनि अर्कोतिर रंगमञ्चको गतिविधीलाइ पनि जिउँदो राख्नु पर्ने चुनौती थियो । बेला बेला नाटक गर्दाको अवस्थामा यस्ता छिटफुट अवरोधहरु आइरहे र समयले मलाइ बचाउदै लग्यो । २०४२ सालमा मेरो लेखन र निर्देशनमा नाटक आक्रोश मञ्चन भयो । नाटक २०५२ सालदेखि नेपालले भोगेको माओवादीे उत्पत्ती र यसले नेपाली समाजमा पारेको प्रभाव, आन्दोलनका क्रममा दुबैतर्फ भएको क्षति आदिका वारेमा थियो ।

 

नाटकको पाण्डुलिपी जिल्ला प्रशासन कार्यालयमा सेन्सर हुन्थ्यो । यसको पनि भयो तर प्रदर्शनका क्रममा नबोल्ने र नदेखाउने भनिएका सबै सम्वाद र दृश्यहरु समावेश गरेरै प्रदर्शन गरियो । भोलीपल्ट नाटक प्रदर्शनमा प्रतिवन्ध लाग्यो । केहि दिन मलाइ जागीरबाट सस्पेन्ड गरियो । नाटक लेखन र निर्देशनमा म बसन्त शर्माको नामबाट परिचित थिए भने जागीरमा म बसन्त प्रसाद भट्ट । तसर्थ माधव सापकोटाको अध्यक्षतामा बसेको छानविन समितिले मलाइ दोषी ठहर्याएन, जागीर बच्यो । त्यही नाटक मैले पुनः २०४४ सालमा प्रदर्शन गरें जुन बिराटनगरको नाटक इतिहासमा आर्थिक लाभ बटुलेको नाटक बन्न सफल भयो । चार दिनसम्मको टिकट अग्रिम नै विक्री भैसकेको थियो ।

 

२०४५ सालको भुकम्प अनि त्यसपछिको आन्दोलनका कारण रंगमञ्चका गतिविधिमा मेरो अलि कमी आउन थाल्यो । २०४८ सालमा काठमाडौ पदस्थापन भए र आरोहणका नाटक गतिविधिमा संलग्न भए । यसै वखत वद्री अधिकारको कोरश नामक टिभी श्रृंखलामा अभिनय गरे । २०४९ देखि २०५२ सम्म उपत्यका वाहिर सरकारी सेवामा जाँदा मेरो नाटकीय गतिविधी शुन्य रह्यो । यता आरोहण संस्थामा पनि संचालन प्रक्रियामा साथीभाइहरुको विमतीको कारण गतिविधि शुन्य नै भयो ।  जसका कारण सुनील पोखरेल केही वर्ष मानसिक तनावमा बस्नुभयो ।

 

२०५३ मा पुनः काठमाडौ सरुवा भएर आए र यसपछि शुरु भयो आरोहणका नाटक र काचका पर्दामा अभिनय यात्रा । आरोहण शनिवार पुनः संचालन भयो । २०५९ सालमा सुनील पोखरेले गुरुकुलको नयाँ सोच ल्याउनुभयो । म समेत सहयोगी हुने भए तर मैले सरकारी सेवा र गुरुकुल मध्य एउटा रोज्नु पर्ने अवस्था थियो । फलस्वरुप मैले सरकारी सेवाबाट राजिनामा दिएर गुरुकुल सञ्चालनमा समावेश भए । ९ वर्षसम्म गुरुकुलले नाटक क्षेत्रमा धेरै ठुलो काम गरियो । यसले नियमित नाटक मञ्चन, अभिनय, मौफसलमा नाटकको पहुंच, लोप हुन लागेका संस्कृतिको अभिलेख, राष्ट्रिय तथा अन्तरराष्ट्र्यि नाटक महोत्सव, नेपाली नाटकलाइ अन्तरराष्ट्र्यि स्तरसम्म पुर्याउने जस्ता इतिहासमा उल्लेख गर्न गर्व लाग्ने कार्यहरु गर्यो । नेपाल सरकारले यो कार्यको उच्च मूल्याकन गर्दै बिराटनगरमा शाखा खोल्न १२ कठ्ठा जग्गा भोगाधिकार पनि उपल्वध गरायो । बिराटनगर शाखामा आज सुशीला कोइराला नाटकघर त बनिसकेको छ र अब करिव ५ करोडको लागतमा अर्को नाटक घर पनि बन्दैछ ।

 

आरोहणको रंगमञ्चको गतिविधीलाइ सफलतापूर्वक आरोहण गर्दै जान गुरुकुल सोच विकसित हुदै गएको वेला काठमाडौमा अवस्थित गुरुकुल सञ्चालित जग्गा छोडनु पर्ने कारण आइपरेको समय जस्तो दुःखदायी समय मेरो जीवनमा कहिल्यै आएको थिएन । जालझेल, ढिलासुस्ती, भ्रष्टचार, नातावाद कृपावाद, आफ्नो पराइ, सेवक होइन मालिक हुँ भन्ने बिचारसँग फिटिक्कै सहमत हुन सकिएन ।  सरकारी सेवामा २५ वर्ष विताएको सेवानिवृत मलाई गुरुकुल बन्द भएपछि थोपरिएको परिवार चलाउने आर्थिक बोझले उमेर छदै कुप्रो बनायो । नाटक खेल्ने रहर जिउँदो हुदाँहुदै गुरुकुल बन्दको पीडाले अहिले पनि नाटक हेर्नु पर्दा डर लाग्छ ।

मलाई नाटक फोविया हुन्छ । २०३२ सालदेखि अहिलेसम्म करिव ४३ वर्ष नियमित रंगमञ्चमा जीवन समर्पित गरे । मलाइ भर्खरै भदौ १४ राज्यले प्रतिष्ठित कलाकारको परिचय दियो । राज्य प्रति आभारी छु तर खुशी भने छैन ।  किनकी यस सम्मानमा मैले कतैपनि सुनील पोखरेल, निशा शर्मा, अनुप वराल, पा्ेखराका प्रकाश घिमिरे, बिराटनगरका भैरव क्षेत्री, लक्ष्मण पुन्य, जनकपुरका सुनील मिश्र जस्ता रंगमञ्चमा समर्पित कोहि पनि सम्मानित भएको सुनिन, देखिन । यसमा म ज्यादै दुःखी छु ।  यसकारण कि म संगै अरु जो जो सम्मानित देखिए, नाम सुनिए ती मध्य केहि केहि यस्तो सम्मानका लायक थिए त ? सम्मानको आदर गरु या तिरस्कार ? म दोधारमा छु ।
    
    
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार