• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
जीवनको प्रेरणा

एकला चलो रे... 

थानकोट, चेकपोस्टबाट अलिकति उकालो हिँडेपछि चन्द्रागिरी पर्वतको काखमा छ एउटा बहुआयामिक आश्रम स्कूल । महायोगी श्री अरविन्द (सन् १८७२–१९५०) को कर्मयोगमा आधारित भएर पठनपाठन गरिने यो स्वावलम्बी स्कूल आजका कुनै पनि ब्यापारिक स्कूलका लागि एक चुनौति हुनसक्छ । गुरुकुल परम्परामा आधुनिक शिक्षा पस्किने यस श्री अरविन्द योग मन्दिर आश्रम स्कूलका संस्थापक रामचन्द्र दासको संघर्षमय जीवनगाथा आज यहाँ पस्किने जमर्को गरिएको छ ।

जन्म र प्रारम्भिक जीवन

तेह्र वर्षको उमेरमा घर छाडेर उनी भारतको नागाल्याण्ड पुगे । कामको खोजीमा अन्य गाउँलेहरुसँग उनी आफ्नो जन्मस्थान गुल्मीको बाँझकटेरी (हाल मदाने गाउँपालिका) बाट एक अज्ञात भविष्यतर्फ प्रस्थान गरेका थिए । त्यस बिकट गाउँमा अत्याधिक गरिबी थियो । उनी जन्मिएको भुषाल परिवारमा धेरै सन्तान थिए । अरुको खेतबारी जोतेर जिविका गर्नुपर्ने बाध्यता थियो । घरको त्यो दुःखले उनलाई अन्य गाउँलेहरुसँग मजदूरी गर्न छिमेकी मुलुकको एउटा बिरानो स्थानमा पुर्‍यायो।

 

आजीवन परमार्थिक कार्यमा समर्पित रामचन्द्रको जीवनगाथा सुन्दै गर्दा यस लेखकका आँखा फराकिला हुँदै गए । यस्तो लाग्दै थियो, एक साधारण मनुष्य आफ्नो असाधारण कथा भनिरहेको छ । साच्चै नै उनको संघर्ष, अध्ययन र साधनाको गहिराइको आकार निकै नै विशाल लाग्दै थियो । चन्द्रागिरी पर्वतको काखको मौसम जस्तै शितल लाग्दै थियो उनको सान्निध्य, जहाँ सरलताका धनी रामचन्द्र मधूर मुस्कानसाथ यस लेखकलाई आफ्नो संघर्ष र सफलताको कथा पस्किरहेका थिए ।

 

यो एक आवाशिय विद्यालय मात्रै नभएर श्री अरविन्दको महान दर्शन कर्मयोगको अथक उर्जाले ओतप्रोत एक साधनास्थली पनि हो । २०५० सालमा स्थापित यो संस्था जन्मिनुका पछाडि एउटा लामो कथा छ ।

 

रामचन्द्रले २०३२ सालमा त्यसरी घर छाडेर भारत प्रस्थान नगरेका भए, सायद यस स्कूलको परिकल्पना असंभवप्रायः थियो ।

 

 

परदेशमा संघर्ष
नागाल्याण्डको कोहिमा पुगेर उनी मजदूरी गर्न थाले । तर सोचे जस्तो भएन । त्यहाँका मान्छेहरुले मजदूरसँग त्यति राम्रो ब्यवहार गरेनन् । प्रशस्तै काम लगाउने र ठिकसँग खान नदिने गर्न थालेपछि उनी निराश हुन थाले । अन्यमनस्कमा समय बित्न थाल्यो । घरभन्दा टाढाको त्यस बिरानो स्थानमा काम नगर्नुको कुनै बिकल्प थिएन । गाइवस्तु, बाख्रा चराउने, खनजोत गर्ने कामहरु गर्नु पर्ने । जमिन्दारले जुठो र बासी खाना दिने गर्दथे । तर आफ्नै उमेरकी जमिन्दारकी छोरीले उनलाई लुकाइलुकाइ खाना दिने गर्थिन् । छोरीचाहिँले त्यसरी उनलाई खाना दिएको थाहा पाएर जमिन्दार बिच्किए । अनि एक वर्ष बित्दा नबित्दै स्वाभिमानी रामचन्द्रले काम छाड्ने निधो गरे । उनकै भाषामा उनी अन्याय, अत्याचार सहन नसक्ने स्वाभावका थिए । बिद्रोह नगरे पनि चित्त नबुझेपछि उनी चुपचाप काम छाडेर हिँडे । तर त्यसपछि झन दुःख पाए । उनी फुटपाथमा बस्न थाले ।

 

उनी भोकभोकै परे । तर एक बृद्ध महिलाले उनीमाथि स्नेह जताइन् । सेतो लुगा लगाएकी ती महिलाले उनलाई एकदिन मिठो खाना खुवाइन् र भनिन्, ‘यसरी कति दिन बस्छौ ? अहिले केही बेरमा नै यहाँ आर्मीको जीप आउँछ । तिमी उनीहरुसँगै जाऊ र फौजमा भर्ती होऊ ।’

 

रामचन्द्रको जन्मस्थानमा बाघको अत्याधिक आतंक थियो । उनले ठाने कि आर्मी भएपछि बन्दुक चलाउन पाइन्छ । र, बन्दुक चलाउन सिकेपछि बाघ मारेर आफ्ना गाउँलेलाई सुरक्षित बनाउँछु भन्ने अभिप्रायले उनले फौजमा भर्ति हुने निर्णय गरे ।

 

नभन्दै केही बेरमा त्यहाँ आर्मीको जीप आयो । त्यो बेला भारत युद्धग्रस्त थियो । युवाहरुलाई सहजै फौजमा भर्ति गरिन्थ्यो । उनीहरुले रामचन्द्रलाई पनि सहजै स्वीकारे । उनी उमेरमा साना भए पनि अग्ला कदका भएकाले भर्ति हुन कुनै समस्या पनि भएन । त्यहाँ उनी खुशी भए । राम्रोसँग खान नपाएको मानिसलाई फौजी खानाले हृष्टपुष्ट बनाउँदै लग्यो । 

 

त्यो १४ जेके राइफल एक किशिमले फिरन्ते ब्यारेक थियो र केही समय जङ्गल अनि केही समय शहरमा आफ्नो अड्डा जमाउने गर्दथ्यो । केही समयपछि ब्यारेक नागाल्याण्डबाट अरुणाञ्चलतर्फ प्रस्थान गर्यो । त्यहाँ बंकर बनाउने, बाटो खन्ने, ढुंगा फुटाउने जस्ता कामहरु भए । रामचन्द्रले तालिम पनि पाउँदै गए । दुई वर्ष अरुणाञ्चल बसेपछि ब्यारेक कलकत्ता झर्यो । 

रामचन्द्र सानैदेखि शिव भक्त थिए । ब्यारेकमा केही धार्मिक प्रबृत्तिका अधिकारीहरु पनि थिए । गंगा किनारमा स्थापित ब्यारेकको मध्यमा एउटा प्राचीन मन्दिर थियो । त्यहाँ सीताराम दास भन्ने एक साधु बस्दथे । रामचन्द्र त्यहाँ नित्य पूजा गर्न जान थाले । सीतारामसँग उनका लामालामा संवाद हुन थाले । सीतारामले उनलाई भने, ‘तिमी ब्राह्मण कूलमा जन्मिएका मान्छे । तिमीलाई यो फौजी काम उचित छैन । तिमीले त ब्रह्मज्ञान पो प्राप्त गर्नुृ पर्दछ ।’ 

 

 

सीतारामले उनलाई वाल्मिकी रामायणको एउटा श्लोक पनि सुनाइहाले :
धिग्बलं क्षत्रीय बलं 
ब्रह्मतेजो बलं बलं 
एकेन ब्रह्म दण्डेन 
सर्वास्त्राणि हतानि मे ।

 

अर्थात, क्षत्रीयको बललाई धिक्कार छ । बलभन्दा पनि महाबल भनेको ब्रह्मतेज हो । एउटै ब्रह्म दण्डले मेरा सारा शष्त्रअष्त्रहरुलाई विनाश गरिदियो ।

 

रामचन्द्रमा सीताराम दासका कुराहरुको गहिरो असर पर्यो । अनि उनले फौजको जागिर छाडेर त्यसै मन्दिरमा उनका शिष्य भएर बस्न थाले । यसपश्चात उनी रामचन्द्र भुषालबाट रामचन्द्र दास भए । तर, आर्मीले उनलाई स्पष्टिकरण लियो । उनले आफू कसैगरी फौजमा नफर्किने ढिप्पी लिए र आफ्ना हाकिमहरुलाई अनुरोध गरे, ‘मलाई धर्मको क्षेत्रमा जान दिनुहोस् ।’ 

 

तर उनलाई सजाय बापत केही शारिरिक श्रम गराइयो र पछि फुकुवा गरियो । अनि उनी ध्यानसाधनामा लागे । कमाएको केही पैसा र एउटा चिठी उनले घर पठाए । चिठीमा उनले लेखे, ‘यो नै मेरो अन्तिम कमाइ हो । अब मबाट पैसाको आशा नगर्नू । म आफूलाई खोज्ने महान काममा लागिसकें ।’ 

 

त्यस स्थानमा ६ महिना बसेर उनी वाराणसीतर्फ लागे । रामचन्द्र स्मरण गर्छन्, ‘त्यसपछि मेरो बास्तविक परिबज्र शुरु भएको थियो । म फकीर भएर यत्रतत्र भ्रमण गर्न थालें ।’

 

बृन्दावन, अयोध्या लगायतका अरु कैयन स्थानका विभिन्न आश्रमहरुमा उनी बसे । रामचन्द्र सानैदेखि एक साधक र भक्त प्रबृत्तिका थिए । अयोध्यामा उनी संस्कृत पढ्न थाले । उनले त्यहाँ शास्त्रीसम्मको अध्ययन गरे । अंग्रेजी पनि उनले सिक्न थालिसकेका थिए ।

 

साधुसन्यासीको चक्करमा उनले ६ वर्ष व्यतित गरे । धेरै आध्यात्मिक अनुभूति र साधनाको सफलता प्राप्त गरे पनि अन्र्तहृदयमा उनी कताकता असन्तुष्ट थिए । वेद, उपनिषद, गीता आदि ग्रन्थहरुको हवाला दिए पनि उनले साधुहरुमा तदनुरुप आचरण फेला पारेनन् । साधुसन्यासी लाइनमा पनि अत्याधिक जातीय विभेद देखेर उनी तिल्मिलाउन पुगे । गीतामा भनिएको कुरालाई उनले स्मरण गर्न चाहे ः ईश्वरको वास सबै प्राणीको हृदयमा हुन्छ ।

 

गीताको दर्शन अनुसार, को तल्लो जात अनि को उपल्लो ? अर्को कुरा, साधुसन्यासीहरु स्त्रीलाई नरकको द्वार भन्ने गर्दथे । उता उनीहरु सीता, राधा र मीराको आराधना गर्ने गर्दथे । लक्ष्मी, सरस्वती, काली र दुर्गाको पूजा पनि गर्ने गर्दथे । यो विरोधाभाष उनलाई पटक्कै जँचेन । स्त्रीको कोखबाटै जन्मिएकाहरुले स्त्रीलाई गाली दिएको उनलाई साँच्चै मन परेन । 
यसपछि उनी हरियाणाको एउटा आश्रम स्कुलमा अध्यापन गर्न थाले । एक शिक्षक मित्रले एकदिन उनलाई श्री अरविन्दको ‘दि बेसिस अफ योगा’ भन्ने पुस्तक थमाउँदै भने, ‘यो पुस्तक मैले कसैगर्दा पनि बुझ्न सकिँन । तिमीले केही भेऊ पाउँछौ कि ?’

 

रामचन्द्र अध्ययनशिल थिए । साँझ उनले त्यो पुस्तक उधिने । उनलाई लाग्यो, कसैले उनकै विचारलाई उक्त पुस्तकमा अक्षरांकन गरिदिएको छ । पुस्तकको अन्तिम आवरणमा श्री अरविन्द आश्रम, पाण्डिचेरीको ठेगाना पनि उल्लेख थियो । उनी स्मरण गर्छन्, ‘यसै पनि साधु लाइनमा म सन्तुष्ट थिईनँ । मैले पाण्डिचेरी जाने निधो गरें र समय नगुमाइ त्यता प्रस्थान गरें ।’

 

 

अरविन्द आश्रम, पाण्डिचेरी
सन् १९८३ मा दिल्लीबाट जिटी एक्स्प्रेस रेल चढेर उनी मद्रास (हाल चेन्नइ) पुगे । अनि उनले समुद्री किनारको स्यानो टाउन पाण्डिचेरीमा पाइला टेके । हिन्दु सन्यासीहरुको परम्पराइतर श्री अरविन्द आश्रमलाई उनले कर्मयोग अभ्यास गर्ने एक छुट्टै खाले तपस्थलीका रुपमा पाए ।

 

गलामा वैष्णव कण्ठी बाँधेका, गेरुवा वष्त्र लगाएका र निधारमा ठाडो चन्दनको लेप लगाएका रामचन्द्र शुरुमा त्यहाँ रनभूल्लमा पनि परे । त्यहाँका साधक, साधिकाहरु शिक्षित थिए । धेरैजसो उच्च घरानाका थिए । कोही डाक्टर, कोही प्राध्यापक, कोही विद्यावरिधी गरेका – अनि कामलाई नै योगा मानेर अहोरात्र खटिरहेका । कतिपय त आफ्नो सम्पूर्ण सम्पत्ति आश्रमलाई दान दिएर सपरिवार त्यहाँ श्री अरविन्दको कर्मयोगामा समर्पित भएका थिए । त्यहाँ साधक, साधिकाहरु दैनिक अठार–बीस घण्टा अथकरुपमा काम गर्दथे । कुनै पनि आश्रममा गएर बस्नुलाई नेपालमा मान्छेहरुले सबै सकिएर गएको वा जीवनदेखि पलायन भएको बुझ्छन् । रामचन्द्रको पनि यो बुझाइ थियो । तर त्यहाँको उर्जामय नजारा देखेर उनी आश्चर्यचकित भइसकेका थिए । त्यहाँ त मान्छेहरु त्यसरी आश्रममा गएर बस्नुलाई आफ्नो अहोभाग्य ठानिरहेका थिए । उनीहरु सबै प्रफुल्ल र उत्सवमय भेटिन्थे ।

 

जहाँ परम्परावादी हिन्दु साधुसन्यासीहरु घुमेर, मागेर, गफ गरेर समय कटाउँथे भने, त्यहाँका साधकसाधिकाहरु आश्रमलाई भोजन र आवाशको पैसा तिरेर पनि कठोर परिश्रम गरिरहेका थिए । उनले आफैंलाई प्रश्न गरे, ‘यी मान्छेहरु केका लागि यहाँ छन् ? यी मान्छेहरुले जीवनको कुन अद्भूत किमियाको रसास्वादन गरिरहेका छन् ? यहाँ पक्कै पनि कुनै अदृश्य शक्तिले काम गरिरहेको छ ।’ 

 

उनलाई त्यो अदृश्य शक्ति के हो भनेर खोतल्न मन लाग्यो । उनले त्यहाँ बस्ने निधो गरे । तर त्यहाँ बस्न त्यति सजिलो थिएन । आश्रमको नियम अनुसार त्यहाँ सेवा गर्ने जो कसैले पनि शुरुका छ महिना भोजन र आवाशको पैसा तिर्नुपर्ने अनिवार्य नियम थियो । पैसा तिरेर आश्रमले खटाएको काम गर्नु पर्ने ? रामचन्द्र अझै  छक्क परिरहेका थिए ।

 

तर पनि उनी हार खानेहरु मध्ये थिएनन् । आश्रममा सेवा गर्न चाहने व्यक्तिहरुलाई अन्तर्वाता लिन्थे, रबिन्द्रजी । उनी पञ्जाबबाट गएका निकै नै शिक्षित साधक थिए । उनी एकदम कम बोल्थे र जे बोल्थे, ओजपूर्ण बोल्दथे । आश्रममा बस्ने रामचन्द्रको मनशाय सुनेर रबिन्द्रजीले उनको साधु हुलिया नियाल्दै भने, ‘यहाँ आठ घण्टा काम गर्नु पर्दछ । तिमी यहाँ टिक्न सक्दैनौ । केही दिनपछि यहाँबाट भाग्नु भन्दा, अहिले नै बाटो तताए हुन्छ ।’

 

तर आफ्नो निर्णयमा अडिग रामचन्द्रले जवाफ दिए, ‘मैले आएकै दिनदेखि यहाँ केही अद्भूत अनुभूति गरेको छु र त्यसको रहस्य उजागर गरेर रसास्वादन नगरी म यहाँबाट कदापि जाने छैन ।’

 

रबिन्द्रजीले एकपटक फेरि आफ्नो शक्तिशाली नजरले रामचन्द्रलाई नियाले अनि आश्रममा बस्ने अनुमति प्रदान गरे । उनले डाइनिङ् हलमा काम गर्नु पर्ने भयो । त्यतिबेला आश्रममा लगभग २ हजार साधकसाधिकाहरु बस्ने गर्दथे । पर्यटक र पाहुनालाई समेत गरेर त्यहाँ हजारौं जनाका लागि भोजन बन्ने गर्दथ्यो । एक हजार लिटरभन्दा बढी दाल पाक्ने भाँडाहरु त्यहाँ थिए । अन्य सेवकहरुसँग मिलेर उनले त्यस्ता भाँडाकुँडा माझ्नु पर्दथ्यो । झाडूपोंछा लगाउनु पर्दथ्यो । पाहुनाहरुले खाएका जूठा थालबटुकाहरु पनि मस्काउनु पर्दथ्यो । कडा अनुशाशनको पालना पनि उत्तिकै महत्वपूर्ण हुन्थ्यो । डाइनिङ् विभागमा काम गर्ने सेवकहरुको संख्या त्यतिबेला एक सय पचासबढी थियो ।

 

रामचन्द्रले त्यहाँ मन लगाएर सेवा दिन सकिरहेका थिएनन् । उनले कर्मयोगको अभ्यास कमै गरेका थिए । कति पटक त उनलाई कहाँ फँस्न पुगियो भन्ने पनि नलागेको होइन । सेवामा मन लाग्न छाड्यो । काम नगरे आश्रमले राख्दैन थियो ।

 

सहकर्मी सेवकहरुले उनलाई भने, ‘तिमी मन लगाएर सेवा गर्न सकिरहेका छैनौ । तिमी संस्कृत पढेका मान्छे, रबिन्द्रजीलाई भेटेर आश्रम स्कूलमा विद्यार्थीहरुलाई संस्कृत पढाउने कामको लागि अनुरोध गर ।’

 

रामचन्द्रले त्यसो गर्ने विचार गरे । श्री अरविन्द एवम् माताजी (मिरा अल्फासा) को समाधि र डाइनिङ् हलबीचमा सिमलको एउटा विशाल बृक्ष थियो । फुर्सदका बेला उनी त्यस बृक्षमुनि टक्क उभिएर ध्यान गर्ने गर्दथे । डाइनिङ् हलबाट रबिन्द्रजीलाई भेट्न उनी कार्यालयतर्फ लागे । तर त्यस् बृक्षमुनि उनले केहीबेर ध्यान गरे । त्यहाँ उनलाई आफ्नो अन्र्तआत्माबाट एउटा आवाजले चिच्याएर केही भन्यो, ‘रामचन्द्र, जीवनको पूर्णता र सिद्धिका बारेमा तिमीलाई परमात्मालाई भन्दा बढी थाहा छ ? जे काम दिइएको छ, त्यसैलाई गर्दै जानुमा नै तिम्रो परम कल्याण अन्तर्नीहित छ ।’

 

उनी स्मरण गर्छन्, ‘आफ्नो अन्तसको उक्त आवाजले मलाई स्तब्ध तुल्यायो । मैले ठानें, यहाँ मलाई जे काम दिइएको छ, यो परमात्माको प्रसाद हो र बिना कुनै शर्त मैले यसलाई स्विकार गर्नुपर्छ । अनि म फनक्क फर्किएर डाइनिङ् हलतर्फ लागें र त्यही कामलाई दत्तचित्त भएर गर्न थालें । अब क्रमशः मलाई उक्त काम गर्दा आनन्द आउन थाल्यो । त्यहाँको निस्वार्थ सेवाभाव बुझ्न मलाई चार वर्ष लाग्यो । श्री अरविन्दको कर्मयोग अभ्यासले क्रमशः मभित्र रुपान्तरण घटित हुन थाल्यो । अब मलाई ‘बशुदेव सर्वमिति’ अर्थात यत्रतत्र परमात्माको दिव्यताको उपस्थिती आभाष हुन थाल्यो ।’

 

श्री अरविन्दको दर्शनमा आशन, प्राणायामलाई योगा मानिदैन । उनी कर्मलाई योगा मान्छन् । उनका सारा देशनाहरु कर्मप्रधान छन् । कामलाई नै ध्यान बनाउनु पर्ने उनको दर्शन छ : भागेर, विरक्तिएर जंगल, गुफा आदि जाने होइन; कर्म गरेर नै आफूलाई रुपान्तरण गर्ने हो । श्री अरविन्द भन्छन्, ‘समग्र जीवन योग हो । र, यसलाई दिव्य बनाउन सकिन्छ । सबै जीवनहरु दिव्य छन् । यदि बैयक्तिक चेतना दिब्य चेतनासँग एकाकार हुन सक्यो भने, मानवका हरेक क्रियाकलापहरु योगमय हुन सक्छन् ।’

 

रामचन्द्र भन्छन्, ‘क्रमशः म जताततै दिव्यताको आभाष पाउँन थालें । समुन्द्रका छाल, रातको चन्द्रमा, फूलबिरुवा र किटपतंगहरुमा समेत मैले परमात्माको झलक पाउँन थालें । अनि म हरपल स्वर्गिय आनन्दको अनुभूति गर्न थालें । मलाई आफूभित्र जगत र जगतभित्र आफू विद्यमान भएको अनुभूत हुन थाल्यो । वास्तवमा कर्मयोग स्पोन्टेनियस अर्थात स्वतःस्फूर्त ध्यान हो र यसले मेरा आँखा पनि खोलिदियो ।’

 

सारमा भन्ने हो भने, श्री अरविन्दको दर्शनले भौतिकवाद र अध्यात्मवादलाई समानान्तर लैजान्छ । जहाँ परम्परावादी सन्यास जीवनमा रामचन्द्रलाई बुझाइएको थियो कि ब्रह्म सत्य, जगत मिथ्या भनेर; त्यहीँ श्री अरविन्दको भनाई ठिक यसको बिपरित पाएर उनी चकित पर्दै थिए । श्री अरविन्दले भनेका छन्, ‘ब्रह्म सत्य, जगत पनि सत्य । यदि ब्रह्म सत्य छ भने, उसको श्रृष्टि कदापि मिथ्या हुन सक्दैन । प्रकाशले कहिल्यै पनि अन्धकारको श्रृष्टि गर्दैन । जगत हामीलाई मिथ्या आभाष हुन सक्छ । तर त्यो अज्ञानका कारणले मात्रै हुन पुगेको हो ।’
अब रामचन्द्र पनि दैनिक अठार घण्टा काम गर्न थाले । जति काम गरे पनि थकान महसूस हुन छाड्यो । उर्जा अत्याधिक बढेको थियो । उनी मन्त्र जप गर्दै काम गर्दथे । उनले त्यहाँ अनेक विद्या सिक्ने मौका पाए । पाण्डिचेरी फ्रान्सको उपनिवेश रहेका कारण त्यहाँको स्थानीय भाषा फ्रेन्च थियो । रामचन्द्रले फ्रेन्च सिके । बोल्न मात्रै होइन, लेख्नपढ्न पनि सिके । उनले फ्रेन्च भाषामा भिक्टर ह्यूगो, गी द मोपासा, अलेक्ज्यान्द्रे डुमो, एमिल जोला आदि महान फ्रेन्च साहित्यकारका कृतिहरु पनि पढे । तर पछि उनी अन्य साहित्य अध्ययनलाई परित्याग गरेर केवल श्री अरविन्दका आध्यात्मिक रचनाहरुमा केन्द्रित हुन थाले ।

 

त्यसपछि उनले श्री अरविन्दका प्रमुख सेवक चम्पकलालको सेवा गर्ने मौका पाए । चम्पकलालको जीवनका अन्तिम ३ वर्ष सेवा गरेर उनको सान्निध्यता प्राप्त गर्नुलाई उनी आफ्नो अहोभाग्य ठान्छन् । चम्पकलाल १८ वर्षको उमेरमा नै श्री अरविन्दको सम्पर्कमा पुगेका थिए । त्यसपछि उनी लगातार पाण्डिचेरीमा बसे । सन् १९२६ देखि १९३८ सम्म श्री अरविन्द सेक्लुजन (गुप्तवास) मा थिए । कसैलाई उनीसँग भेट्ने अनुमति थिएन । तर चम्पकलाल भने हमेशा श्री अरविन्दको सेवामा हुन्थे । सेक्लुजनमा श्री अरविन्द साधना गर्थे । लेख्थे । उनले चेतनाको रसातलबाट कैयन महान ग्रन्थको रचना गरेका छन् । सायद उनी दुनियाँमा सबैभन्दा गहिराइमा पुगेका महायोगी हुन् ।

 

रामचन्द्र सगौरव सुनाउँछन्, ‘श्री अरविन्दलाई शुरुमा बुझ्न निकै गाह्रो हुन्छ । तर बुझ्दै गएपछि उनका सामु अरु सबै दार्शनिक वा गुरुहरु फिक्का सावित हुन्छन् । अन्य साधनाहरुमा केवल एस्सेन्डिङ् (आरोहण) को कुरा छ । श्री अरविन्द भने, एस्सेन्डिङ् र डिस्सेन्डिङ् (अवरोहण) दुवैको कुरा गर्नु हुन्छ । मतलव, शिखरमा चढेर मात्रै हुँदैन । शिखरको ज्ञान र शक्तिलाई धरातलमा उतारेर समग्र जगतलाई रुपान्तरित तुल्याउनु जरुरी छ । स्वर्ग फेला पारेर उतै हराउने होइन । त्यस स्वर्गीय अतिमानसिक शक्तिलाई धर्तीमा उतारेर समग्र जगतलाई रुपान्तरण गर्नु अपरिहार्य हुन्छ ।’

 

सानैमा मुलुक छाडेकाले रामचन्द्रले नेपाली भाषा लगभग बिर्सिन पुगेका थिए । अंग्रेजी, फ्रेन्च, हिन्दी, बंगाली र तामिल भाषाहरु उनको चेतन र अवचेतन मनमा हाबी भएका थिए । यसैताका नेपालबाट शरदचन्द्र शाह पाण्डिचेरी पुगे । शाहले त्यतिबेला भर्खरै श्री अरोविन्दोका पुस्तक पढ्न थालेका थिए । आश्रममा एउटा नेपाली सेवक पनि छन् भन्ने थाहा पाएर शाहले सोधीखोजी गरेर रामचन्द्रलाई फेला पारे । तर रामचन्द्रले मातृभाषामा शाहसँग कुराकानी गर्नै सकेनन् । अनि उनीहरुले अंग्रेजीमा बात मारे । यो देखेर शाहले स्वदेश फर्किएपछि रामचन्द्रलाई नियमित रुपमा कैयन नेपाली पुस्तक र पत्रपत्रिकाहरु पठाइदिने गर्न थाले ।

 

शाहले पठाइदिएको फादर लुड्वीग एफ. स्टिलरद्वारा लिखित ‘द राइज अफ द हाउस अफ गोर्खा’ भन्ने पुस्तकले रामचन्द्रलाई आफ्नो मुलुकको इतिहास थाहा पाउने मौका मिल्यो । उनले सुनाए, ‘त्यो पुस्तक पढेपछि मैले नेपालका असली नायक पृथ्वीनारायण शाह नभएर उनका भाइ बहादुर शाहलाई पो पाएँ ।’ 

 

नेपाली पुस्तक र पत्रपत्रिकाहरु पढ्न थालेपछि क्रमशः उनलाई स्वदेशको याद आउन थाल्यो । अनि पत्र लेखेर उनले आफ्ना आमाबुबालाई पाण्डिचेरी आमन्त्रण गरे । हराएको छोरो भेट्न आमाबुबा टुप्लुक्क त्यहाँ पुगे । केही समय आश्रम बसेपछि उनीहरुले रामचन्द्रलाई स्वदेश फर्किन दवाव दिए । तर रामचन्द्र चम्पकलालको सेवा गरेर बसेका थिए । उनी तत्काल आफ्नो जिम्मेवारी छाडेर कतै जान असमर्थ थिए । अनि आमाबुबाले उनलाई घर फर्किने दवाव अरु गाढा गरे, अनशन बसेर ।

 

आमाबुबाले उनलाई सोधे, ‘तँलाई हामीभन्दा त्यो बूढो (चम्पकलाल) प्यारो छ ?’
रामचन्द्रले बिनाकुनै संकोच भनिदिए, ‘हो, मलाई यो बूढो हजार गुणा प्यारो छ ।’
अनि केही शिप नलागेपछि आमाबुबा खिन्न मनस्थितीमा नेपाल फर्किए ।

 

माताजी अर्थात श्री अरविन्दकी आध्यात्मिक सहयोद्धा मिरा अल्फासालाई उदृत गर्दै रामचन्द्र भन्छन्, ‘माताजीले कतै लेख्नुभएको छ – बच्चाबच्चीका सबैभन्दा ठूला शत्रू आफ्नै आमाबाबु हुन्; किनभने, उनीहरु आफ्ना कमिकमजोरी र इच्छालाई आफ्ना सन्तानमाथि लाद्ने गर्छन् ।’

 

चम्पकलालको सन् १९९२ मा देहान्त भयो । अनि यसको केही समयपछि रामचन्द्रले एकपटक मातृभूमी फर्किने विचार गरे । 

 

 

स्वदेश फिर्ता
विदेशिएको दुई दशक पछि उनी स्वदेश फर्किए । तर उनले नेपाली बोल्न बिर्सिएका थिए । उनलाई सबैले इन्डियन भन्ने गर्दथे । घर जाँदा तम्घासबाट पुरै दुई दिन उनी पैदल हिँडे । बाटामा उनले कुमालका गरिब बच्चाहरुको दयनीय हालत देखे । ती बच्चाहरु घरको आँगनमा दिसा गर्ने गर्दथे । फोहोरमा लडिबुडी गर्ने गर्दथे । आफ्नो मुलुकका भविष्यका कर्णधारहरुको उक्त हालतले उनको मनमा चोट पर्यो । तत्क्षण उनले ती र त्यस्ता बच्चाहरुका लागि केही गरिछाड्ने अठोट लिए । 

 

तर घर पुगेपछि आफन्त र गाउँलेहरुको एउटा सवालले उनको चित्त काट्यो । उनीहरुको प्रायः एउटै सवाल हुने गर्दथ्यो, ‘परदेशबाट कति कमाएर ल्याइस् ?’

 

अब रामचन्द्र अप्ठ्यारोमा परे । उनी त धन होइन, ज्ञान र आत्मजागृतिको आध्यात्मिक खजाना हात पारेर आएका थिए र यस्ता कुराको चासो त्यहाँ कसैलाई छँदा पनि थिएन । उनी भन्छन्, ‘सामान्यतया मेरो जन्मस्थानका बासिन्दाहरुले दिने महत्व त धन र पैसा नै हो । छ पैसा सबै ठिक, छैन पैसा सबै बेठिक ! अनि म मान्छेहरुबाट परपर हुन थालें । जन्मस्थानको मदाने डाडाँमा गएर लामो समय ध्यान गरेर बस्ने गर्न थालें । सामुन्ने धवलागिरी पर्वत हिउँले सेताम्मे थियो । मैले त्यस् डाँडामा पटकपटक पुगेर अब के गर्ने भनेर चिन्तन मनन गर्न थालें । त्यसैबेला मभित्र अब नेपालमा पनि केही गरेर छाड्ने संकल्प उम्लिएर आयो ।’

 

श्री अरविन्दको दर्शनमा स्वदेशमै एउटा आश्रम खोल्ने अभिप्रायले उनले बत्तिस वर्षको उमेरमा नागरिकता बनाए र काठमाण्डौतर्फ हान्निए ।

 

काठमाण्डौका ओजराज पन्त पाण्डिचेरीबाट श्री अरविन्दका पुस्तक मगाउँने गर्दथे । रामचन्द्रसँग केवल उनको पोस्टबक्स नम्बर थियो । अनेक प्रयासका बावजूद उनले पन्तलाई विशालनगरमा फेला पारे । उनीसँग एउटा आश्रम खोल्नेबारे सल्लाह पनि गरे । तर पन्तले उनलाई भने, ‘बरु नेपालमा पहाड फोड्न सजिलो छ । तर श्री अरविन्दको दर्शन बाँड्न अति कठिन छ । उनलाई यहाँ कसैले बुझ्नै सक्दैनन् ।’

 

तर पनि पन्तले उनको भेट आर्यसमाजका टेकबहादुर रायमाझीसँग गराए । रायमाझीले उनलाई बत्तिसपुतलीको आर्यसमाजको सभाकक्षमा सुत्ने व्यवस्था पनि मिलाइदिए । त्यहाँ उनको भेट अम्बरबहादुर कार्कीसँग पनि हुन पुग्यो ।

 

रामचन्द्रले उनीहरुलाई भने, ‘म पाण्डिचेरी बसेर तपाईंहरुलाई मद्दत गर्छु । तपाईंहरु यहाँ एउटा आश्रम चलाउनुहोस् ।’

 

फलस्वरुप एउटा संस्था पनि दर्ता भयो । अनि रामचन्द्र पाण्डिचेरी फर्किए । तर दुई महिनापश्चात काठमाण्डौ फर्किदा सब ध्वस्त भइसकेको थियो । संस्थाको कार्यालय रक्सिका बोतल, चुरोटका ठूटाहरुले भरिएको थियो । उनी निराश भएर पुनः पाण्डिचेरी पुगे । ओजराज पन्तको विश्लेषण चरितार्थ हुन पुगेको थियो ।

 

रामचन्द्रलाई श्री अरविन्दका महानवाणीहरुले अत्यन्तै प्रभाव पारेका थिए । एउटा प्रयास असफल भए पनि उनले हार मानेनन् । उनले श्री अरविन्दको एउटा शक्तिशाली वाणी सम्झिए, ‘तिनीहरु महान छन् जो एक्लै उभिने सामथ्र्य राख्छन् ।’

 

उनले रबिन्द्रनाथ टैगोरको एउटा गीत पनि स्मरण गरे :
एक्ला चलो रे... एक्ला चलो रे...
जोदि तोर डाक शुने केऊ ना ऐसे तबे एक्ला चलो रे । 
(यदि कसैले तिम्रो आवाज सुन्दैन भने एक्लै हिँड रे ।)

 

अनि उनले आश्रम पुगेर चम्पकलालका साथी निरोद दालाई भेटे । निरोद दा प्रख्यात लेखक र मेडिकल डाक्टर थिए । उनले लामो समय श्री अरविन्दको सान्निध्यमा गुणात्मक समय बिताउने मौका पाएका थिए । श्री अरविन्दले बोलेर उनीमार्फत सावित्री ग्रन्थका कैयन भागहरु तयार गराएका पनि थिए । श्री अरविन्दको महान ग्रन्थ सावित्रीमा मानव कसरी महामानवतर्फ उन्मुख हुनसक्छ भन्ने कुराको मिहिन वर्णन छ ।

 

निरोद दालाई उनले भने, ‘मलाई यो आश्रम छोड्न मन छैन र स्वदेशमा पनि केही गर्ने अठोट छ । म के गरौं ?’
केही बेर आँखा मुदेर निरोद दाले उनलाई भने, ‘तिमी नेपाल जाऊ र दिब्यताका लागि काम गर्न थाल ।’
अनि रामचन्द्र दह्रो मन बनाएर नेपाल फर्किए । 

 

चन्द्रागिरीको काखमा
काठमाण्डौ फर्किएर उनले बत्तिसपुतलीमा एउटा घर भाडामा लिएर काम गर्न थाले । श्री अरविन्द आश्रम भनेर त्यहाँ उनले एउटा साइनबोर्ड पनि राखेका थिए ।

 

चुनाव प्रचारका शिलशिलामा हिँडेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई उक्त साइनबोर्ड देखेपछि ‘नेपालमा कसले श्री अरविन्दलाई ल्यायो ?’ भन्दै सोधखोज गरे र रामचन्द्रलाई भेट्न पुगे । जेलमा बस्दा भट्टराईले श्री अरविन्दका द लाइफ डिभाइन, सिन्थेसिस अफ योगा, एसेज अन गीता, सावित्री जस्ता ग्रन्थ छिचोलेका रहेछन् । ती पुस्तक उनलाई रामनारायण मिश्रमार्फत आपूर्ति गरिएका थिए । भट्टराईले त्यसपछि बेलाबेला रामचन्द्रलाई भेटे र सावित्री ग्रन्थको ट्यूशन पनि लिए । रामचन्द्र सुनाउँछन्, ‘प्रधानमन्त्री भएपछि आश्रम निर्माणार्थ उहाँले मलाई दश हजार रुपैंया सहयोग गर्दै भन्नुभयो, यो मेरो भ्रष्टाचार गरेर कमाएको पैसा होइन, आफ्नै पसिनाको कमाइ हो । धेरै पछिसम्म उहाँ हाम्रो आश्रममा आउने गर्नुहुन्थ्यो । कुनैकुनै बेला मलाई आफ्नो निवासमा बोलाएर श्री अरविन्दका कृतिहरुमाथि चर्चा गर्न पनि उहाँ रुचाउनु हुन्थ्यो ।’

 

२०५० सालमा रामचन्द्रले थानकोट, महादेवथानमा सात आना जग्गासहित एउटा पुरानो घर किने । र, अति बिपन्न परिवारका बच्चाहरुलाई आश्रय दिएर एउटा महान कामको थालनी गरे । आज यो आश्रम २४ रोपनीमा जग्गामा फैलिएको छ । प्रसस्तै भवनहरु बनेका छन् । नवलपरासीको कोल्हुवामा सोह्र बिघा जग्गामा यसको शाखा पनि बिस्तार भएको छ ।
आश्रममा गाई पालन र डेरी, अग्र्यानिक खेति, पस्मिना उद्योग, गार्मेन्ट, अगरबत्ती उद्योग, हस्तकला तथा थांका उद्योग, ट्राभल एजेन्सी, कुटानीपिसानी मिल, पर्यटकका लागि गेस्टहाउस आदि सञ्चालित छन् । प्राकृतिक चिकित्सा तथा आयुर्वेद अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको छ । आश्रम स्वावलम्बी छ ।

 

हालसालै रामचन्द्रले आफ्नो जन्मस्थान गुल्मीमा यसैको शाखा स्वरुप २ सय रोपनी जग्गामा एउटा स्प्रिचुअल रिट्रिट सेन्टर पनि विस्तार गरिसकेका छन् । उक्त पुनर्ताजगी केन्द्र अहिले भटाभट तयार भइरहेको छ ।

 

अहिलेसम्म लगभग एक हजार विद्यार्थीहरुले थानकोट र नवलपरासीबाट शिक्षालाभ गरिसकेका छन् । त्यहाँ अध्ययन गरेका कतिपय विद्यार्थीहरु उच्चशिक्षाका लागि विदेश पनि गएका छन् । रामचन्द्र भन्छन्, ‘हामी संख्यात्मक भन्दा पनि गुणात्मक उत्पादनमा बिश्वास गर्छौं । श्री अरविन्दले भन्नु भएको छ – हामीले चाहेको संख्या होइन । हामीले चाहेको छनौट हो । हामीले चाहेको एउटा उत्कृष्ट विद्यार्थी मात्रै होइन । हामीले चाहेको त जीवन्त आत्मा हो ।’

 

‘थप केही भन्नुहुन्छ ?’ कुराकानीलाई बिट मार्ने उद्देश्यले यस लेखकले उनलाई सोध्यो । 

 

‘एउटा कुरा जरुर भन्न मन छ,’ रामचन्द्रले शान्तभावमा भने, ‘जमिन बिस्तार गर्ने क्रममा हामीले यहाँ तीन रोपनी चार आना बिर्ताको जग्गा किनेका थियौं । जग्गाका मोहीसँग हामीले २०५८ सालमा करारनामा गरेर उक्त जग्गा किनेका थियौं । आज ती मोहीका सन्तानले हामीलाई मुद्दा हालेका छन् । राम्रो काम गर्दा पनि जीवनमा झमेलाहरु आइलाग्छन् । निडर भएर तिनको सामना गर्नु नै श्रेयस्कर हुन्छ ।’

 

आज शहरका बच्चाहरु ब्रोइलर कुखुरा जसरी उत्पादन हुन्छन् । उनीहरु शारिरिक श्रम गर्न रुचाउँदैनन् । अल्छि छन् । ज्यादा खाएर भद्दा देखिन्छन् । तर बच्चाहरुलाई पढाइसँगै शारिरिक कामहरु पनि गराउनु जरुरी छ । यस्तो कुरा न त्यस्ता बच्चाहरुले बुझ्छन् न त तिनका अभिभावकहरुले नै । यदि कर्मयोगलाई पढाइसँग मिसाउने हो भने, श्री अरविन्दले भने जस्तै पृथ्वीमा जीवन्त आत्माहरुको बाहुल्यता हुनेछ । र, मानव निश्चय नै अतिमानव वा महामानवतर्फ उन्मुख हुनेछ ।

 

जाँदाजाँदै बीसौं सताब्दिका महायोगी श्री अरविन्दको एउटा महत्वपूर्ण भनाइ यहाँ राख्नु सान्दर्भिक ठहरिनेछ, ‘मानव जीवन नै अन्तिम होइन । मानव जीवनभन्दा पर पनि केही छ । त्यो अतिमानसिक शक्ति (सुप्रामेण्टल पावर) हो । त्यो नै महामानवको उदय हो जो लैंगिकता र भौतिकताभन्दा पनि परको अम्निपोरस (प्रकाशवान) अवस्था हो ।’ 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार