• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
जीवनको प्रेरणा

आमाबाट सिकेको समाजसेवा

कास्कीको ढिकुरपोखरी, अहिलेको अन्नपूर्ण गाउँपालिकामा मेरो बाल्यकाल वित्यो । गाउँमा सेवा सुविधा प्रयाप्त हुदैंन्थ्यो जे छ त्यसमै रमाउथ्यौं । म जान्ने हुँदादेखि मेरी आमा गाउँका दिदी बहिनीहरुलाई सहयोग गर्न एउटा गाउँबाट अर्को गाउँसम्म पुग्नुहुन्थ्यो । उहाँ स्वंयसेवी हुनुहुन्छ । उहाँमा भएको सेवा भाव म मा पनि विकास भएको हो जस्तो लाग्छ । गाउँमा कसैलाई केही समस्या हुँदा घाम पानीको प्रवाह नगरी आमा उकालो ओरालो गर्नुहुन्थ्यो । हामी ठूलो भइसकेपछि पनि घरको काम घन्दा सकेर हामीलाई स्कुल पठाएर उहाँ सेवा मै खटिनु हुन्थ्यो । कहिले बोलाउन आउथे त कहिले सन्देश पठाउँथे । 


पहाडको ठाउँ सबैतिर बाटो पुगिसकेको थिएन । पानी पर्दा हिलाम्मे हुने बाटोहरु टर्च बाल्दै एक दुईपटक आमासँगै म पनि स्वंयसेवी मेरी आमाको काम हेर्न पुग्थे । रातको समयमा हिंड्न डर हुन्थ्यो तर कसैलाई परेको समस्या हेरेर बस्न उहाँको मनले मान्दैन्थ्यो । सायद त्यही भएर पनि आमा रातको समयमा पनि निर्धक्क भएर समस्या परेका महिला दिदी–बहिनीको घरमा पुग्नु हुन्थ्यो ।


उमेर बढ्दै जादा आमाको स्वभाव म भित्र पनि पर्‍यो । अन्यायमा कोही परेको देख्दा न्याय दिलाउन पुग्थें । एक दिन स्कुल पढ्दा कक्षाको एक जना साथीलाई समूहमा  कुटे । अरु साथी कुटाकुट गरेको टुलुटुलु हेरेर बसे मेरो मन मानेन कुटाई खाने साथीलाई छुट्याउन पुगें ।


६२ साल तिर हो सायद, हाम्रा गाउँको एकजना हुनेखानेको घरमा रानाभाट बाजे काम गर्नु बस्नुहुन्थ्यो । उहाँले त्यहाँ वर्षौदेखि काम गर्दै आउनु भएको थियो । घाँस, दाउरा, भैसीलाई खोले यस्तैमा उहाँले आफ्नो जीवनका धेरै बसन्त त्यही घरमा काटनु भएको थियो । एक दिन जंगलमा डाले घाँस काट्न जाँदा रुखले च्यापेर उहाँ थला पर्नुभयो । बाजेलाई उपचार आवश्यक थियो । मालिकले काम गर्ने नसक्ने थाहा पाएपछि घरबाटै निकाल्दिए । बाजेको साहारा गुम्यो ।


जीवनका उर्जाशिल समय बिताएको घरले उनको उपचार गर्नुको साटो बास नै खेदायो । रानाभाट बाजेको त्यस्तो अवस्था देखेर म पनि विछिप्त भए । बाजेको लागि केही गर्नु पर्छ भन्ने हिम्मत जुटाए ।  


समाचारहरुमा सुनेको थिएँ, काठमाडौं पशुपतिनाथमा आश्रम छ । बाँजेको त्यस्तो हालत हुँदा पनि उपचार र साहार नदिने ति व्यक्ति देखेर रिस उठ्यो । गाउँमा उठाएको सहयोग रकमले उहाँको उपचार भयो । यता काठमाडौंमा रहेको आश्रममा राख्ने वातावरण मिलाउनु थियो । बाजेलाई लिएर म काठमाडौं आए । आश्रममा उहाँजस्ता धेरै बृद्धबृद्धाहरु देखेपछि बाजेको ओठमा पनि मुस्कान देखें । आफूजस्तै अरु देख्दा उहाँलाई साथी पनि भए । बाजे आश्रममा धेरै बस्न पाउनु भएन । ढिकुर पोखरीबाट आएको ४ वर्षमै वित्नु भएछ । थाहा पाउँदा मन खिन्न भयो । 


रानाभाट बाजेको ओठमा खुसी देखेपछि म भित्र समाज सेवाको भाव झनै बढ्यो । त्यसपछिका वर्षहरुमा सेवा भावका कामहरुमा म धेरै खटिएँ । कतिले विभिन्न आरोपहरु पनि लगाउँथे तर म आमालाई सम्झदै मेरो मनले भनेको काम गर्दै जान थाले । सामाजिक संजालको माध्यमबाट सहयोग जुटाउने काम गर्दै आए ।


सन् २०१२ देखी अहिलेसम्म गरेर ३२ वटा नमूना घर निर्माण गर्‍यौं । तेह्रथुममा बाल मैत्रीकक्षाको निर्माण गर्‍यौं । सरिता गुरुङ फाउन्डेसनमा जम्मा भएको रकम नै यि अभियानहरुमा लगाउदैं आएका छौं । भुकम्प, बाढी पिडीतको उद्दारमा पनि फाउनडेशनले आफ्नो तर्फबाट सकेको सहयोग गर्दै आएको छ । मेरो उद्देश्य सरकारले गर्दै आएको काममा थोरै भएपनि सहयोग पुगोस भन्ने हो ।

 

विस्तारै विभिन्न पेसा र क्षेत्रमा व्यक्तिहरुसँग चिनजान बढ्दै जान थाल्यो । समस्या परेका दिदीबहिनीहरुले पनि मद्दत चाहियो भन्न थाले । एक पटक कास्की घर भएकी १९ वर्षीया बुद्धिमाया गुरुङको दुवै मृगौला फेल भएको उपचारका लागि रकम आवश्यक पर्‍यो भन्ने खबर आयो । उनको सानो नानी पनि काखमा थिइन । परिवार चलाउन मुश्किल भएको थियो उनलाई । उपचार त परैको कुरा थियो उनको लागि ।


स्थानीयहरुको सहयोगमा सामाजिक संजाल मार्फत केही रकम जम्मा भयो । म मा थप चुनौति थियो मैले उनलाई सहयोग पुर्‍याउन सक्छु कि सक्दिन भन्ने । सोचेको जति कै रकम जम्मा भयो । उनको डायलोसिसमा केही रकम खर्च भयो । उनको मृगौला फेर्नु पर्ने नै थियो । हामीले दश लाख जम्मा पनि गर्‍यौं । तर दु.खको कुरा उनका श्रीमानले नै उनलाई मृगौला दिन मानेनन् । बुद्धिमायाको आँसुले मलाई धेरै पीडा महसुस भयो । दिनरात नभनी खटेर जोहो गरेको पैसाले उनको मृगौला प्रत्यारोपण गर्न सपना पुरा भएन । बुद्धिमायालाई बचाउन सकिएन । संकलन भएको बाँकी पैसा उनकी छोरी अनुषा गुरुङको नाममा जम्मा गरायौं ।


सेवाभाव थियो तर स्रोत साधनको अभाव थियो । दु.ख पीडामा परेकाहरुको लागि केही गर्छु भन्ने हिम्मत थियो । म भित्रको आँटले नै म यहाँसम्म आइपुगेकी हुँ । मेरो सपनालाई साकार रुप दिन सामाजिक संजालले मलाई धेरै सघाएको छ । समाज सेवा प्रतिको मेरो यात्रा निरन्तर जारी छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार