• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

सहमतिको प्रयासमा देउवा,पौडेलले अडान छाडेनन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबारका लागि बोलाइएको बैठकका लागि सहमति जुटाउने प्रयासमा लागेका छन् । सभापति  देउवाले बिभाग गठन र संख्या थप, नेविसंघ नेतृत्व चयन तथा तरुण दलको अबधि थप र बिस्तारमा सहयोग गर्न बरिष्ठ नेता रामचन्द्र पौडेलसंग आग्रह गरेका छन् ।

 

महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै बिहिबारको केन्द्रीय समिति बैठक बहिष्कार गरेर हिडेका  नेता पौडेलसंगको भेटमा सभापति देउवाले यस्तो आग्रह गरेका हुन्।पौडेललाई भेट्न सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई साथमा लिएर शनिबार बिहान उनकै निवास बोहोराटार पुगेका थिए। पार्टीको केन्द्रीय कार्यसमिति बैठक आइतबार बोलाइएको छ ।

 

देउवाको आग्रह पछि बरिष्ठ नेता पौडेलले सभापतिलाई सघाउन आफू सधैं तयार रहेको बताएका थिए। तर पौडेलले महाधिबेशनको कार्यतालिका नआएसम्म बैठकमा भने भाग लिन नसक्ने जबाफ दिएका थिए।

 

देउवाले नेता राधेश्याम अधिकारी संयोजक रहेको निर्बाचन समितिले कार्यतालिका बनाउने भन्दै केन्द्रीय समितिले म्याद थप्नुपर्नेमा जोड दिएका थिए। पौडेलले उपसभापति निधितिर देखाउँदै बार्ता समितिले सहमतिका लागि प्रयास गर्नुपर्ने बताएका थिए।

 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि देउवा र पौडेलले वार्ता गर्न समिति पनि बनाएका छन्। देउवा पक्षबाट वार्ताको जिम्मा उपसभापति निधिले र पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दिइएको छ। वार्ताको जिम्मेवारी पाएका निधिले शनिबार नै सिंहसँग छलफल गर्दैछन् । उनीहरूबीच सिंह निवास चाक्सीबारीमा कुराकानी हुने तय भएको छ ।

 

दुबै पक्षका प्रतिनिधि सम्मिलित कार्यदलले न्यायपूर्ण, पारदर्शी र सम्मानजनक ढंगले बिवादको समाधान खोज्न सक्ने पौडेलले बताएका छन्। संस्थापन पक्षले पौडेल पक्षले बहिष्कार गरेको बैठकमा पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ बनाउने प्रस्ताव लगिएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार