• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

कर्णालीमा सुत्केरी पोषण कोसेली कार्यक्रम,पोषणबापत रु दुई हजार पाउने

वीरेन्द्रनगर । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत रु दुई हजार पाउने भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत रु दुई हजार रकम प्रदान गर्ने व्यवस्था गरेको छ ।

 

 यो व्यवस्थासंगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले रु चार हजार ८ सय पाउने भएका छन् । यसअघि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायातबापत रु दुई हजार र चार पटक गर्भ जाँच गरेबापत रु ८ सय पाउँदै आएक थिए ।

 

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार पोषणबापत दिइने रु दुई हजार प्रदेश अस्पतालको हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने छ । अन्य स्वास्थ्य संस्थामा भने सबै सुत्केरीलाई प्रदान गरिने छ ।

 

स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताउनुभयो । “कर्णालीमा रहेका विपन्न गरीब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो, “पोषणभत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्यु दरमा कमी गर्न सकिन्छ भन्ने कार्यक्रमको उद्देश्य हो ।”

मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेट छुट्याइएको जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वाग्लेले यस कार्यक्रमअन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने बताउनुभयो ।रासस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार