• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

गैरपर्यटक भिसाबिना काममा रोक, ६० विदेशी कारबाहीमा

काठमाडौं । कुनै आयोजना तथा गैरसरकारी संघसंस्थामा काम गर्न आउने विदेशी नागरिकलाई नि :शुल्क (ग्राटिस) भिसा सिफारिस गर्नुअघि सरकारी निकायहरूले गृह मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने भएको छ । नि:शुल्क भिसा पाउने बाहेकका विदेशीलाई पनि विभिन्न मन्त्रालय तथा विभागले सिफारिस गर्न थालेपछि गृहले आफ्नो राय र पूर्व स्वीकृति बिना सिफारिस नपठाउन परिपत्र गरेको हो । 

 

कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघ, दौत्य सम्बन्ध भएका मुलुकका विशिष्ट व्यक्ति, बाबु वा आमा नेपाली भएका व्यक्ति सहित विभिन्न नौ प्रकारका पृष्ठभूमि भएका व्यक्तिलाई मात्र नि:शुल्क भिसा जारी हुँदै आएको छ । गृहले त्यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएको छ । पर्यटक भिसामा आएर विदेशीले गैरपर्यटक भिसा नलिई विभिन्न क्षेत्रमा काम गर्ने गरेको पाइएपछि गृहले मंसिर १३ मा ‘गृहमन्त्रीस्तरीय निर्णय’ बाट नि:शुल्क भिसासम्बन्धी नयाँ प्रावधान ल्याएको हो ।

 

पछिल्लो तीन महिनामा पर्यटक भिसामा बसेर विभिन्न आयोजना तथा गैरसरकारी संघसंस्थामा कार्यरत ६० जना विदेशी कारबाहीमा परेका छन् । गृह मन्त्रालयको विशेष टोलीले आन्तरिक अनुगमनका आधारमा गैरपर्यटक भिसा नलिई सरकारी, गैरसरकारी, निजी तथा द्विपक्षीय र बहुपक्षीय परियोजनामा काम गरिरहेका उनीहरूसँग प्रतिव्यक्ति ५० हजार रुपैयाँ असुलेर गैरपर्यटक भिसा जारी गरेको हो ।

 

कारबाहीमा पर्नेमा अमेरिका, दक्षिण कोरिया, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, चीन, स्पेन, फ्रान्स, उज्वेकिस्तान लगायत मुलुकका नागरिक छन् । केही विदेशीलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला नै गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार