• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
पत्रपत्रिका

 त्यो एक सेकेन्ड ट्रकको गल्तीले बालिकाको खुट्टा चुँडायो

काठमाडौं । सोमबार दिउँसो करिब २ बजेतिर बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही हात रिपार्टको झोला बोकेर पालो कतिबेला आउला भनेर आँखा डुलाइरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए । 

 

अस्पतालको पहिलो तल्ला । रुम नं १०२ । ढोकामा लेखिएको छ( भिजिटर्स वेटिङ रुम । त्यहाँ बिरामीका आफन्तहरु रिपोर्टको व्यग्र प्रतिक्षामा छन् । त्यही भीडमा थिए प्रकृति चन्दका काका र काकी। भतिजीको उपचारका लागि आएका उनीहरुको मुहारमा त्यो निराशापन झल्किएको थियो।

 

उनीहरुसँगको कुराकानीका क्रममा रातो कुर्ता सुरुवालमा सजिएकी एक महिला आइपुगिन् । अनुहारमा पीडा, हतास र संशय सहित उनी हातिरिँदै प्रकृतिका काका र काकी नजिकै आइन् । उनी रहेछिन् प्रकृतिका आमा, भगवती शाही। विद्यालय हिँडेकी छात्रा अहिले अस्पताल भर्ना हुन पुगेकी छन् । आफूलाई के हुँदैछ भन्नेमा उनी स्वयंम अनभिज्ञ छिन् ।

 

'त्यो भयावह दुर्घटना नभएको भए अहिले प्रकृति साथीहरुसँग रमाइरहेकी हुन्थिन् होला, आफ्नो गृहकार्य गरिरहेकी हुन्थिन् होला। कक्षामा सधैँ झै अनुशासित भएर पढिरेहेकी हुन्थिन् होला,' प्रकृतिका काकाले भने। जब बत्तिएको ट्रकले उनलाई सोहेरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन्। यो दर्दनाक घटनाले उनलाई मात्र होइन उनको सपना पनि सोहोरेर लगेको छ, खुसी खोसेको छ।

 

प्रकृतिको घर विद्यालयबाट करिब डेढ किलोमिटरको दूरीमा पर्छ। उनी कहिले लोकल बस त कहिले साइकल कुदाउँदै अनि कहिले बुवाको बाइकमा चढेर विद्यालय आउजाउ गर्छिन्। बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत प्रकृतिलाई आइतबार भने बुवा नगेन्द्रबहादुरले स्कुटीमा विद्यालयसम्म छोडिदिने भए।

 

आफैं साइकल चलाएर जाँदा पनि उनी कहिल्यै दुर्घटनामा परेकी थिइनन्। आइतबार उनको जीवनको कालो दिन बन्न पुग्यो। जब उनी स्कुटीबाट ओर्लेर विद्यालयको गेटतर्फ बढ्न मात्र के लागेकी थिइन् ट्रकले उनको खुट्टा किच्यो। त्यो असह्य पीडामा प्रकृति कति छटपटाइन् कति चिच्याइन् होला सायद उनलाई सम्झना छैन ।

 

त्यो एक सेकेन्ड ट्रकको गल्तीले ती कलिली बालिकाको खुट्टा चुँडायो। त्यति मात्र गरेन, ब्याक गरेर फेरि उनलाई लतार्‍यो।दुर्घटना हुने बित्तिकै उनलाई दशबिगाहास्थित कोहलपुर शिक्षण अस्पताल लगियो । आमा भगवती भन्छिन्, ‘अस्पताल लग्दा नानीको धेरै रगत बगिसकेको रहेछ, अक्सिजन र रगत चढाइयो । त्यसपछि थप उपचारका लागि काठमाडौं पठाइयो।’ 

 

त्यो दर्दनाक दुर्घटनाले प्रकृतिको गुमेको खुट्टा त फर्केर आउने छैन तर उनमा आत्मविश्वास र आत्मबल गुम्न नदिनको लागि बलियो भएर बसेका छन् प्रकृतिको परिवार। विशेषगरी उनकी आमा।

 

जब उनले आफ्नो खुट्टा गुमाएको थाहा पाउलिन् त्यो क्षण कस्तो होला? उनले आफूले कसरी स्वीकार गर्लिन्? मानसिक आघातबाट गुज्रिरहेकी उनी फेरि कहिल्यै सुरक्षित तरिकाले विद्यालय जान पाउलिन् ? एकदिनमा नै उनको जीवन कायापलट भएको छ। के फेरि प्रकृतिको जीवनमा पालुवा पलाउला त ? कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार