• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
पत्रपत्रिका

स्वर्ण विजेता महिला खेलाडी : चेलीले चम्काएको साग

 

काठमाडौं । एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि उनकै नाममा रह्यो। यसअघि सागको एथलेटिक्समा भारतीय र श्रीलंकाली खेलाडीको दबदबा थियो। यसपटक सन्तोषीले त्यो दबदबा तोडिन्।

 

सन्तोषीले भारतीय धाविका कविता यादवलाई एक मिलिसेकन्डले उछिन्दै स्वर्ण हात पारेकी थिइन्। सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ०७.९४ सेकेन्ड र कविताले ३५ मिनेट ०७.९५ सेकेन्डमा पूरा गरेका थिए। ‘पहिलो सहभागितामै स्वर्ण पदक जित्छु भन्ने लागेको थिएन’, आफ्नो जितपछि २६ वर्षीया सन्तोषीले भनिन्, ‘कुनै न कुनै पदक जित्ने विश्वास भने थियो।’
ब्राजिलको रियो दि जेनेरियोमा तीन वर्षअघि विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ आयोजना भएको थियो।

 

त्यसमा गौरिका सिंहले नेपाललाई चर्चित बनाएकी थिइन्। त्यो ओलम्पिकमा भाग लिने विश्वकै कान्छी खेलाडी थिइन्, गौरिका। त्यति बेला गौरिकाको उमेर मात्र १३ वर्ष थियो। त्यसको तीन वर्षपछि जलपरी गौरिकाले देशको शिर उच्च पारेकी छन्। उनी सागमा पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

 

गौरिका पनि नेपाली खेलकुदकी ऐतिहासिक खेलाडी बन्न पुगिन्। उनले यो सागमा दुई स्वर्ण जितेकी छन्। स्वर्ण जितेपछि गौरिकाले आफूलाई कहिलेकाहीं विदेशी भनेकोमा चित्त दुखाइन्। ‘म नेपाली नै हो। म आफूलाई नेपाली भन्न रुचाउँछु’, उनले भनिन्, ‘यो पदक सम्पूर्ण नेपालीप्रति समर्पित गर्न चाहन्छु। देशका लागि ऐतिहासिक स्वर्ण जित्न पाउँदा धन्य भएँ।’

 

नेपाली सञ्जु चौधरीले पनि भारोत्तोलनमा स्वर्ण जित्दै इतिहास रचिन्। पोखरामा जारी भारोत्तोलनको महिला ५९ केजी तौल समूहमा बिहीबार उनले श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण चुमेकी हुन्। उनले स्न्याचमा ७४ र क्लिन एन्ड जर्कमा ९७ केजी गरी कुल १ सय ७१ केजी तौल उचालिन्। यो सफलतासँगै उनी सागको महिला भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्। उनले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीनवटै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाइन्।

 

गत वर्ष नेपाल पुलिस क्लबमा आबद्ध सञ्जुले सागको पहिलो सहभागितामै देशका लागि स्वर्ण जित्ने सौभाग्य पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। सागको भारोत्तोलनमा गत संस्करणदेखि नेपालले महिलातर्फ सहभागिता जनाउन थालेको हो। त्यसैले सञ्जुले जितेको त्यो स्वर्णले उनलाई नेपाली खेलकुदमा ऐतिहासिक खेलाडीका रूपमा उभ्यायो।

 

क्रिकेटर अञ्जली चन्दले त १३औं सागमा विश्व कीर्तिमानै बनाएर देशको गौरव बढाइन्। पोखरा क्रिकेट मैदानमा गत सोमबार भएको माल्दिभ्सविरुद्धको खेलमा उनले ‘अविश्वासिलो’ विश्व कीर्तिमान आफ्नो नाममा पारेकी हुन्। उनकै उत्कृष्ट प्रदर्शनका कारण उक्त खेलमा नेपाल १० विकेटले विजयी भएको थियो। अञ्जलीले दुई ओभर बलिङ गर्दै एक रन पनि नदिई ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन्। अन्तर्राष्ट्रिय टी–ट्वान्टी महिला क्रिकेटमा कुनै पनि क्रिकेटरले यस्तो कीर्तिमान बनाएका छैनन्।

 

अञ्जलीले चार ब्याट्सवुमनलाई क्याच गराएकी थिइन्। दुई खेलाडीलाई बोल्ड गरिन्। अञ्जलीले नवौं ओभरको पाँचौं र छैटौं तथा ११औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पनि पूरा गरेकी थिइन्। ‘मेरा लागि यो नसोचेको उपलब्धि हो’, उनले भनिन्, ‘तर, मेरो कीर्तिमानभन्दा पनि देशको जित ठूलो कुरा हो।’

 

१३औं सागमा चम्किएकी अर्की खेलाडी हुन्, सावित्रा भण्डारी। यही सागमा उनी देशका लागि अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी बनिन्। उनी एपीएफ क्लबमा आबद्ध छिन्। माल्दिभ्सविरुद्घको खेलमा ह्याट्रिक गर्दै उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान आफ्नो नाममा पारेकी हुन्। अन्तर्राष्ट्रिय फुटबलमा सावित्राको गोल संख्या ३८ पुगेको छ।

महिला भलिबल टोलीले पनि सागमा ऐतिहासिक सफलता हात पा¥यो। यसअघि महिला टोली सागमा कांस्य पदकभन्दा माथि उक्लन सकेको थिएन। एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक पुगेको नेपाली टोली फाइनलमा चिर प्रतिद्वन्द्वी भारतसँग ३–२ सेटमा पराजित भएको थियो। यसअघि नेपाली टोली सन् १९९९, सन् २००६ र सन् २०१६ को सागमा कांस्य पदकमा समेटिएको थियो।

 

जारी सागमा इतिहास रच्ने अर्की खेलाडी सोनी गुरुङ हुन्। उनी देशका लागि ट्रायथलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। उनले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्। यसअघि सागमा नेपालका कुनै पनि ट्रायथलन खेलाडीले (पुरुषले पनि) स्वर्ण जित्न सकेका थिएनन्। सोनीले निर्धारित ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड एक घन्टा १३ मिनेट ४५ सेकेन्डमा पूरा गरेकी थिइन्।

 

सागको ‘पावर गेम’मा पनि महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। तेक्वान्दोमा आयषा शाक्यले दुई स्वर्ण जितेर चर्चा बटुलिन्। यसअघि सन् २०१० मा बंगलादेशमा सम्पन्न ११औं सागमा उनले स्वर्ण हात पारेकी थिइन्। सागका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टकी जीवनसंगी आयषा दुई सन्तानकी आमा हुन्।

निमा घर्ती मगरले उसुमा स्वर्ण पदक जितिन्। उनी लगातार दुई सागमा स्वर्ण पदक जित्ने पहिलो महिला उसु खेलाडी हुन्। उनले यसअघि सन् २०१६ मा भारतमा सम्पन्न १२औं सागमा स्वर्ण जितेकी थिइन्। लगनखेलस्थित आर्मीको कभर्डहलमा उनले फाइनल खेलिरहँदा उनका आमाबुवा प्यारापिटमा बसेर खेल हेरिरहेका थिए। देशका लागि स्वर्ण जित्नासाथ खुसीले चिच्याएकी निमाले दौडँदै गएर आमाबुवालाई अँगालो हालेकी थिइन्।

साइक्लिङमा निश्मा श्रेष्ठ र लक्ष्मी मगरले स्वर्ण पदक जिते। नेपाली महिला खेलाडीले सागको साइक्लिङमा स्वर्ण पदक जितेको यो पहिलो हो। गोकर्णस्थित सहिद पार्कमा बुधबार बिहान भएको एक किलोमिटर दूरी स्पर्धामा निश्माले निर्धारित दूरी दुई मिनेट २२.४५१ सेकेन्डमा पूरा गरिन्। यसैगरी बिहीबार भएको महिला १६ किलोमिटर स्पर्धामा लक्ष्मीले निर्धारित दूरी एक घन्टा २० मिनेट २० सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितिन्।

नेपालमा सागको १३औं संस्करण जारी छ। घरेलु मैदानमा आयोजित सागमा शुक्रबारसम्म नेपालले स्वर्ण पदक संख्या ४१ पु¥याएको छ। सागको इतिहासमा नेपालले जितेको यो हालसम्मकै सर्वाधिक स्वर्ण पदक हो।

देशलाई ऐतिहासिक सफलता दिलाउन सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका छन्, महिला खेलाडीले। माथिका केही प्रसंग त्यसकै उदाहरण हुन्। १३औं साग उत्तरार्धतिर लाग्दा नेपाली महिला खेलाडीको प्रदर्शन अब्बल देखिएको छ। पुरुषको तुलनामा महिला खेलाडीले ‘नसोचेको’ सफलता हात पारिरहेका छन्।

समाजमा आएको सकारात्मक परिवर्तनलाई यसको मुख्य कारक मान्छन्, खेलकुद विज्ञ दिवाकरलाल अमात्य। ‘१३औं सागमा महिला खेलाडीको अपत्यारिलो प्रदर्शनले धेरैलाई चकित बनाएको छ’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीका विषयमा अनुसन्धान गर्दै आएका अमात्य भन्छन्, ‘कुनै एउटा खेलमा मात्र होइन, हाम्रा महिला खेलाडीले फरक–फरक खेलमा गरेको प्रदर्शन लोभलाग्दो देखिएको छ।’

नेपाली खेलकुदमा महिला खेलाडीको उपस्थिति बढेको उनको बुझाइ छ। ‘खेलकुदमा महिला खेलाडीको बाक्लो उपस्थिति देख्न पाइन्छ। हाम्रो सामाजिक मान्यतामा आएको परिवर्तन पनि यसको कारण हो’, उनी भन्छन्, ‘परिस्थिति फेरिएको छ र घरपरिवारको चौघेरा नाघेर महिलाले खेल मैदानमा उत्कृष्ट प्रदर्शनबाट देशको गौरव बढाउन थालेका छन्।’

खेलाडीको प्रदर्शनमा निखार आउनुका पछाडि विभागीय क्लबहरूको महŒवपूर्ण भूमिका रहेको उनको ठम्याइ छ। ‘धेरै खेलाडी विभिन्न विभागीय क्लबमा आवद्ध छन्। यसले थोरै भए पनि खेलाडीहरू आर्थिक समस्याबाट मुक्त भएका छन्’, उनी भन्छन्, ‘उनीहरूले सुविधासम्पन्न पूर्वाधारमा नियमित अभ्यासको अवसर पनि पाएका छन्। सन्तुलित आहार पाएका छन्। पछिल्लो समय खेलाडीको प्रदर्शनमा निखार आउनुको मुख्य कारण विभागीय क्लबहरू पनि हुन्।’

त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबमा विभिन्न खेलका थुप्रै महिला खेलाडी आवद्ध छन्।

१३औं सागमा नेपाली महिला खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाट बताउँछन्। खेलाडीलाई लामो समय बन्द प्रशिक्षणमा राखेर तयारी गराइएकाले सागमा उपलब्धिमूलक नतिजा आएको उनको ठम्याइ छ। ‘हामीले यसपटक खेलाडीलाई लामो समय बन्द प्रशिक्षणमा राखेर तयारी गराएका थियौं। अधिकांश खेलाडी सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुददेखि नै नियमित रूपमा बन्द प्रशिक्षणमा छन्’, उनी भन्छन्, ‘यसपटक उत्कृष्ट नतिजा आउनुको मुख्य कारण त्यही हो।’

प्राविधिक कारणले पनि नेपाली खेलाडीलाई साथ दिएको उनी बताउँछन्। ‘यसपटक सागमा हाई अल्टिच्युडका कारण पनि हाम्रा खेलाडीलाई फाइदा पुग्यो। काठमाडौं समुद्री सतहभन्दा निकै उचाइमा छ। अन्य राष्ट्रबाट आउने खेलाडीका लागि यो उपयुक्त हावापानी होइन। उच्च भूभागमा अक्सिजनको लेभल कम हुने भएकाले खेलाडीको प्रदर्शनमा प्रतिकुल असर पर्छ’, उनी भन्छन्, ‘त्यसको फाइदा पनि हामीलाई पुगेको हुन सक्छ।’

१३औं सागको छैटौं दिन शुक्रबारसम्म नेपालले कुल ४१ स्वर्ण पदक जितेको छ। त्यसमध्ये महिला खेलाडीले २२ र पुरुषले १८ स्वर्ण जितेका छन्। पुरुषको तुलनामा महिला खेलाडीले चारवटा स्वर्ण बढी जितेका छन्। तेक्वान्दोको एउटा स्पर्धामा भने महिला र पुरुषले संयुक्त रूपमा स्वर्ण पाएका हुन्। तेक्वान्दोको पेयर पुम्से स्पर्धामा आयषा शाक्य र सञ्जीवकुमार ओझाको जोडीले स्वर्ण जितेको हो।

करातेमा नेपालले हात पारेका १० स्वर्णमध्ये महिला खेलाडीले पाँच र पुरुषले पाँचवटा छन्। तेक्वान्दोमा नेपालले जितेका १२ स्वर्णमध्ये महिला खेलाडीले सात र पुरुषले चारवटा छन्। ट्रायथलनमा महिलाले एक र पुरुष खेलाडीले एक÷एक स्वर्ण जिते। उसुमा नेपालले जितेका पाँचमध्ये महिला खेलाडीले तीन र पुरुष खेलाडीले दुइटा छन्। उसुमा पनि पुरुषको तुलनामा महिला खेलाडीले एउटा स्वर्ण बढी जित्यो।

एथलेटिक्समा महिला र पुरुष खेलाडीले एक÷एक स्वर्ण जिते। तर, एथलेटिक्समा पहिलो ऐतिहासिक स्वर्ण भने महिला खेलाडीले जितिन्। साइक्लिङमा महिला र पुरुष खेलाडीले दुई÷दुई स्वर्ण जितेका छन्। पौडीमा एक मात्र स्वर्ण पदक महिला खेलाडीकै पोल्टोमा परेको छ। भारोत्तोलनमा पनि एक मात्र स्वर्ण पदक महिला खेलाडीले नै जितिन्। गल्फमा भने दुवै स्वर्ण पदक पुरुष खेलाडीले जिते।

करातेमा कुसुम खड्का, अनु अधिकारी, सुनीता महर्जन र अनुपमा मगरले स्वर्ण जिते। करातेले महिला टिम कातामा पनि स्वर्ण चुम्यो। काता टोलीमा निर्मला तामाङ, संगीता मगर र सुरु कार्की सहभागी थिए। तेक्वान्दोमा सिना मादेन लिम्बू, पार्वती गुरुङ, आयषा शाक्य (दुई स्वर्ण), काजल श्रेष्ठ र संगीता बस्यालले स्वर्ण जिते।

तेक्वान्दोका दुई महिला टिम कातामा पनि नेपालले स्वर्ण हात पा¥यो। पहिलो टिम कातामा निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना तथा दोस्रोमा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई सहभागी थिए।

यसैगरी ट्रायथलनमा सोनी गुरुङले स्वर्ण जितिन् भने उसुमा सुस्मिता तामाङ, निमा घर्ती मगर र जुनी राईले स्वर्ण पदक हात पारे। निमा लगातार दुई सागमा स्वर्ण जित्ने पहिलो महिला उसु खेलाडी हुन्। एथलेटिक्समा सन्तोषी श्रेष्ठले स्वर्ण चुमिन्। साइक्लिङमा निश्मा श्रेष्ठ र लक्ष्मी मगर, पौडीमा गौरिका सिंह (दुई स्वर्ण) र भारोत्तोलनमा सञ्जु चौधरीले स्वर्ण जितेका हुन्। अन्नपूर्ण पोष्टबाट

१३औं सागका स्वर्ण विजेता

कराते : महिला ५ पुरुष ५

तेक्वान्दो : महिला ७ पुरुष ४

ट्रायथलन : महिला १ पुरुष १

उसु : महिला ३ पुरुष २

एथलेटिक्स : महिला १ पुरुष १

साइक्लिङ : महिला २ पुरुष २

पौडी : महिला २ पुरुष ०

भारोत्तोलन : महिला १ पुरुष १

गल्फ : महिला ० : पुरुष २

(तेक्वान्दोको पेयर पुम्से स्पर्धामा एक महिला र एक पुरुष सहभागी टोलीलाई स्वर्ण।)

स्वर्ण विजेता महिला खेलाडी

कराते

कुसुम खड्का

अनु अधिकारी

सुनीता महर्जन

अनुपमा मगर

महिला टिम काता (निर्मला तामाङ, संगीता मगर र सुरु कार्की)

तेक्वान्दो

सिना मादेन लिम्बू

पार्वती गुरुङ

आयषा शाक्य

काजल श्रेष्ठ

संगीता बस्याल

महिला टिम काता (निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना)

महिला टिम काता (नीता गुरुङ, प्रशंसा क्षत्री र सुशीला राई)

ट्रायथलन

सोनी गुरुङ

उसु

सुस्मिता तामाङ

निमा घर्ती मगर

जुनी राई

एथलेटिक्स

सन्तोषी श्रेष्ठ

साइक्लिङ

निश्मा श्रेष्ठ

लक्ष्मी मगर

पौडी

गौरिका सिंह

गौरिका सिंह

भारोत्तोलन

सञ्जु चौधरी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार