• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

शर्माको चित्रकला मोह, काठमाण्डौंमा प्रदर्शनी हुँदै

 गैडाकोट । चित्रकार भीमप्रसाद शर्माको चित्रकला मोह लोभलाग्दो छ । हिँडडुल गर्दा कुनै अवस्था अथवा दृश्यले छोयो भने उनी फुर्सद निकालेर चित्र बनाउन थाल्छन् । लामो समयदेखि चित्रकारीतामा लागेका उनले अहिलेसम्म सयौं चित्र बनाइसकेका छन् । उनका चित्रहरूको प्रदर्शनी स्वदेशदेखि बिदेशसम्म भैसकेका छन् । यसैक्रममा उनको दसौं एकल चित्रकला प्रदर्शनी काठमाडौंमा हुन लागेको हो । आगामी मंसिर २२ देखी २७ गतेसम्म नेपाल आर्ट काउन्सील काठमाडौमा कार्यक्रम हुँदैछ ।


 एकल चित्रकला प्रदर्शनीमा अघिल्ला चित्रहरुमा भन्दा फरकखाले काष्ठचित्रपटमा बनाइएका चित्रलाई प्रदर्शनीमा राखिने शर्माले बताए । 
ग्रामीण क्षेत्रका बन्द झ्यालढोका र तालाचाबीलाई चित्राङ्कन गरी बन्द घर, गौंथली, प्रकृति तथा मानव बिचको सम्बन्धलाई सांकेतिक भावमा प्रस्तुत गर्दै उनले चित्र तयार गरेका छन् ।
 विशेषगरी परिवारमा बस्ने चराहरू गौंथली, भँगेरा, परेवा लगायतको जीवनचित्रलाई शर्माले क्यानभास, रङ र कुचीमा साटेका छन् ।

 

युवाहरुको विदेश पलायन, गाउँमा बस्नेहरुको शहर पलायन तथा शहरियाहरुको कृतिमता मोह बढिरहेको वर्तमान परिवेशमा मानिसको आश्रयमा रहने गौंथली लगायतका चराहरुमा आएको विचलन र विस्थापनको मार्मिक अवस्थालाई आफ्ना चित्रहरु मार्फत प्रस्तुत गरिएको चित्रकार शर्माले बताए ।


 यो पटक प्रकृति र मानव, मानव तथा चरा अनि प्रकृति र मानवीयता विच विकसित मानवीय सम्बन्धलाई चित्र मार्फत प्रस्तुत गर्दा आफ्नो गाउँले जीवन र वाल्यकालको सुखद सम्झना आएको कलाकार शर्माले बताए ।  शर्माले अहिलेसम्म स्वदेश तथा बिदेशमा गरि ९ वटा एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । उनी चित्रकला प्रदर्शनीका लागि क्यानडा, जर्मनी लगायतका मुलुकमा पुगिसकेका छन् ।

 यी मध्ये ७ वटा प्रकृति र जीवनकै बारेमा रंग संयोजनद्वारा कलात्मक प्रदर्शनी गरेका छन् । मानवप्रेमको अभावमा सिर्जित गौंथलीको संवेदनालाई देखाउँदै हाम्रो मौलिक संस्कृति र जीवनशैलीमा आएको ह्रासलाई काष्ठचित्रपटमा उतार्दै उनले दसौं प्रदर्शनीको नाम  ञसम्बन्धनझ राखेका हुन् ।


बाग्लुङ जिल्लाको सर्कुवामा जन्मेका शर्मा अहिले गैंडाकोटमा बसोबास गर्दै आएका छन् । गैंडाकोटस्थित घरमा कलावती आर्ट काउन्सिल छ । उनी यहीँ बसेर चित्र कोर्छन् । उनले बनाएका सयौं चित्र यहीँ छन् ।


 कैलेकाहिँ आफ्नो पुर्ख्यौली गाउँघर बाग्लुङ पुगेको बेला आश्रयबिहिन गौँथलीहरु परिवारको स्नेहमय सहसम्बन्धको प्रतीक्षामा देख्दा आफुलाई त्यो कारूणिक अवस्थाले छोएको र त्यसैलाई सांकेतिक रूपमा चित्रमा उतारेको शर्मा बताउँछन् ।


 शर्माले प्रदर्शनीमा कुल पैंतीसवटा चित्र राख्नेछन् । जसमा गौंथलीका तीस, भँगेराका तीन र परेवाका दुई वटा चित्र रहनेछन् । चित्रहरु बीस हजार रुपैयाँदेखि पचास हजारसम्ममा बेचिने शर्माले बताए । कार्यक्रम कलावती आर्ट काउन्सिल र वि द आर्टिस्टको संयोजनमा हुन लागेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार