• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

अष्ट्रेलियामा‘गाउँगाउँबाट उठ’

अष्ट्रेलिया । मञ्चमा कलाकारले प्रस्तुती दिइरहँदा हलभरिकै सबैजसो दर्शक उफ्रेर गाइरहेको विरलै देखिन्छ । त्यसमा पनि नेपालको गाउँघर जगाउनका निम्ति रचिएको ‘गाउँ गाउँबाट उठ’ गीत मंगलबार अष्ट्रेलियाको पाचौँ ठूलो सहर एडिलेडमा घन्किरहँदाको दृश्य थियो यो ।
 
त्यसैले त कन्सर्ट हेरेर फर्केपछि एडिलेडका रैथाने जो डेभिसले उनको फेसबुकमा तस्बिरहरु राख्दै टिप्पणी गरेका छन्, 
अष्ट्रेलियामा जारी नेपथ्य श्रृंखला अन्तर्गत तेश्रो कन्सर्ट एडिलेडको ‘एचक्यू कम्प्लेक्स’मा यसरी सम्पन्न भएको छ ।


 
स्तरिय वाइन र त्यसको निम्ति गरिएका फराकिलो अंगुर खेतीका फाँटहरुको निम्ति विश्वमै प्रसिद्ध बरोसा भ्यालीसँग नजिकै रहेको यो सहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो । कुनै समयकी बेलायती रानीको नाममै राखिएको यो सहर अष्ट्रेलियाकै अरु ठूला सहरहरु भन्दा बेग्लै छ । अरु सहरजस्तो यो ठाउँ उतिबेलाको बेलायती साम्राज्यका कैदी बन्दी राख्नका निम्ति नभइ व्यवस्थित सहरीकरणकै उद्देश्यले रानी एडिलेडको नाम दिएर बसाइएको थियो ।
 
नेपालीहरुको जनसंख्या तीब्र गतिमा बढ्दै गएको सहरका रुपमा पनि एडिलेड चिनिन्छ । दुइ चार वर्षअघिसम्म पनि केवल २५ सय नेपालीको बसोबास रहेको यस सहरमा हाल यो संख्या आठ हजार नाघिसकेको बताइन्छ । यसमा आधाजस्तो संख्या पछिल्लो समय पुनर्वास गराइएका भुटानी शरणार्थीहरुको छ ।  
 
‘यति थोरै नेपालीहरुको बसोबास भएको सहरमा यति भब्य कन्सर्ट होला भनेर कसैले चिताएको पनि थिएन,’ कार्यक्रम सम्पन्न हुनेबित्तिकै नेपथ्यका मुख्य गायक अमृत गुरुङको नजिक पुगेर आयोजक समूहका गगन गिरी र खुम गुरुङले भनेका थिए, ‘तपाइँले नेपाली कार्यक्रमको नयाँ रेकर्ड कायम गरिदिनुभयो ।’
आयोजक गगन र खुम दुवैले एक स्वरमा यो कन्सर्ट आयोजना गरेर नेपथ्यलाई साथ दिने मौका दिएकामा अमृतप्रति कृतज्ञता प्रकट गरेका थिए ।


आयोजक गगन पुनर्वास गराइएका भुटानी शरणार्थी परिवारका हुन् । उनको यो संलग्नता र कार्यक्रममा दर्शकको उपस्थितीले एडिलेडमा नेपाली र भुटानी नेपालीभाषीहरु कसरी मिलेर बसेका छन् भन्ने संकेत पनि गथ्र्यो ।


खुम सन् २०१७ मा एडिलेडमै आयोजित नेपथ्य कन्सर्टका आयोजक पनि हुन् । त्यतिबेला सहरकै ‘नरउड कन्सर्ट हल’मा नेपथ्यले प्रस्तुती दिएको थियो । नेपथ्य यो सहरमा मंगलबार तेश्रोपटक प्रस्तुत भएको थियो ।
 
नेपालमा मंसिरको ठिही सुरुभएको बेला दक्षिणी गोलाद्र्ध भने अब विस्तारै न्यानो मौसममा प्रवेश गर्नथालेको छ । सहरको तापक्रमले २० डिग्री नाघिरहेकै क्षण मंगलबार बेलुकी ठीक सवा आठ बजे ‘सा कर्णाली’ म्यूजिक भिडियोले एचक्यू हल भित्रको तापक्रम झनै बढाइदिएको थियो ।


 
सँधैजस्तै दुइवटा भिडियो प्रस्तुत गरेपछि नेपथ्यले ब्याण्डकै पहिलो रेकर्डभएको गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट आफूलाई मञ्चमा उपस्थित गराएको थियो । त्यसपछि लगातार एकपछि अर्को ब्याण्डका सदाबहार गीतहरु दुइ घन्टासम्म गाइएका थिए । कतिपय भर्खरै रेकर्ड गरिएका गीतहरु पनि प्रस्तुत गरिएको थियो ।
ती सम्पूर्ण क्षणहरुमा दर्शकलहरले अमृत सँगसँगै गीत गाएर साथ दिएको थियो ।


 
‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महशुस गर्न पाउँदा आनन्द लागिरहेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘स्टेजबाट गाइरहेको बेला अन्धकारले गर्दा दर्शकदीर्घा जसै म देख्न सक्दिनँ त्यसैगरि त्यस क्षणले मलाई म स्वदेशमा गाइरहेको छु वा विदेशमा भन्ने छुट्याउन नसक्नेगरि आत्मीयता महशुस गराइरहेको हुन्छ ।

 

यति धेरै माया गरेर एडिलेडका दर्शकले मलाई ठूलो ऋणी बनाइदिएका छन् ।’ अमृतले त्यस क्रममा नेपाली तन्नेरीहरुलाई विदेशमा बसेता पनि स्वदेशको माया मुटुमा सँगालेर राखिरहन अनुरोध गरेका थिए ।


 तस्वीर : तेज वानेम

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार