• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

हँसाउनेहरू रोएको क्षण 

काठमाडौं । विख्यात कलाकार चार्ली च्याप्लिन स्टेजमा उत्रिन्थे, दर्शकलाई हँसाउँथे र त्यसपछि नेपथ्यको एउटा कुनामा गएर रुन्थे । दर्शकलाई हास्य कलाकार कहिल्यै रुँदैनन् जस्तो लाग्छ । तर, दुःख र संवेदनाका क्षणहरूमा जो पनि रुन्छन् । हँसाउने अभिभारा बोकेका नेपाली कलाकारहरूले आफू रोएका क्षणहरू सम्झेका छन् । 


दीपकराज गिरी

 

कलाकारितामा संघर्ष गर्ने क्रममा धेरै रोइयो । रेडियो नेपालमा २०५ किरा नामक प्रहसन गरेका कारण रेडियोको जागिरबाट हात धुुनुपर्‍यो । जागिरबाट हटाएको पत्र पाएको १० मिनेट नबित्दै हजुरआमाको निधन भएको खबर आयो । खुब रोएँ । मोटरसाइकल दुर्घटनामा भाइको निधन मेरो जीवनको सबैभन्दा दुखद क्षण थियो । यस्ता क्षणमा धेरै रोएको छु म । 

 

पल्पसा डंगोल (चम्सुरी)

 

मेरो हजुरआमा बिरामी हुनुहन्थ्यो । स्टेज कार्यक्रमका लागि पर्वत गएकी थिएँ । प्रस्ुतति दिन स्टेजमा जाने तयारीमा थिए, घरबाट फोन आयो । हजुरआमाको निधन भएको खबर पाएँ। स्तब्ध भएँ । तर, त्यही बेला मैले हजारौं दर्शकलाई हँसाउनु थियो । कार्यक्रम सकिएपछि डाँको छोडेर रोएँ । त्यो दिनको कार्यक्रम सकेर काठमाडौं आउन चाहेँ, तर आयोजकले ‘विज्ञापन भएको छ, दर्शकले हामीलाई मार्छन्’ भनेर भोलिपल्टको कार्यक्रममा पनि प्रस्तुति दिन बाध्य पारे । त्यो मेरो जीवनको सबैभन्दा पीडादायी क्षण थियो । 

 

शिवशंकर रिजाल (जोगिन्दर)

 

सर्लाहीको पिप्राभित्ताबाट २०५३ सालमा काठमाडाँै घुम्न आएको थिएँ । आएको दिन गोल्फुटारमा साथीकोमा बसेँ । दुई दिनपछि धरहरा र चिडियाघर हेर्न गएँ । चिडियाघर हेर्न जाँदा उतै हराएछु । कहाँ जाने, कता जाने, थाहा छैन । रात परिसकेको थियो । आफूसँग धेरै पैसा पनि थिएन । अहिले जस्तो मोबाइलको सुविधा पनि थिएन । रातभरि गाडी रोक्ने ठाउँमा रोएर बसेँ । 

 

जीतु नेपाल

 

मेरो बुबा असाध्यै बिरामी हुनुहुन्थ्यो । २०६० सालतिरको कुरा हो यो । म पोखरामा फिल्म ‘दुई किनारा’को सुटिङमा गएको थिएँ । ‘बुबालाई निकै चापेको छ, छिटो आउनुप¥यो’ भने घरबाट । पोखराबाट काम सकेर काठमाडौं आएँ ।  घर आइपुग्दा त उहाँ बितिसक्नुभएको थियो । धेरै रोएँ म । बुबाको अन्तिम अवस्थामा उहाँसँग रहन सकिनँ ।    

 

सीताराम कट्टेल (धुर्मुस)

 

काठमाडौँ आउने अघिल्लो दिन बुबाले मलाई १७ सय रुपैयाँ दिँदै ‘दुई हजार पनि पुर्‍याउन सकिनँ’ भन्दै आँशु झार्नुभयो । त्यो रात म खुब रोएको थिएँ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार