• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

किम्फमा १४ फिल्म

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को नेपाली पानारोमा अन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन गरिने भएको छ । मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फको १७ औं संस्करणका लागि ६९ देशका ४२७ वटा फिल्महरू मध्य २९ देशका ६६ वटा फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछन् । 

 

नेपाली पानारोमा अन्तर्गत सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत फिल्म प्रदर्शन हुनेछन् ।

 

प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्दात्मक खण्डमा छन् भने ३२ फिल्म गैर प्रतिस्पर्दात्मक खण्डमा समावेश गरिएका छन् । महोत्सवको अन्तर्राष्ट्रय प्रतिस्पर्दामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश : २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमश : एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ । कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानक विधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ ।

 

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिनेछन् भने त्यसबाहेक महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शनी गरिनेछ । स्वीस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ । माफिल कोट्स (बेलायत), जे. क्यु ली (कोरिया) र  ग्याब्रियला कुह्न (पोल्याण्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरु छनोट गर्नेछन् । 

 

‘पछाडि पारिएकाहरुको आवाज’ नारा सहित आयोजना हुन लागेको महोत्सवको उद्घाटनमा ‘द एसेन्ट अफ एभरेष्ट’ फिल्म प्रदर्शनी गरिनेछ । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशनको लागि राखिनेछ  ।

 

यसपटक महोत्सवमा फिल्म प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना हुनेछ  जसमा घनश्याम गुरुङ, समुन्द्र सुब्बा र सेरेन श्रेष्ठ वक्ताका रुपमा रहनेछन् । त्यस्तै, महोत्सवमा प्लान इन्टरनेसनलको महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम आयोजना गर्दैछ भने  ब्रिटिस काउन्सिलको तर्फबाट छलफल र फिल्म प्रदर्शनी गरिनेछ । एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास सञ्चालन गर्नेछन् । 

 

हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २०००–२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए । सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिदैं आएको छ ।

 

‘नेपाली फिल्महरुलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पाँचदिने महोत्सव लागि परेको छ । फिल्म बनाउन आर्थिक रुपमा सक्षम हुनपर्ने हुँदा हामीले पनि काम गर्न सकिरहेका छैनौं । पछिल्लो समय नेपाली फिल्मलाई अन्तराष्ट्र्रिय बजारमा पुर्‍याउन गृहकार्य गरिरहेका  महोत्सवको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले जानकारी दिए ।  

 

काठमाडौं महानगरपालिका सह आयोजक रहेको महोत्सवलाई चलचित्र विकास बोर्ड, नेपाल पर्वतारोहण संघ लगायतका संघसंस्थाहरुको सहयोग रहने जनाइएको छ । यसका साथै नेपाल पर्यटन बोर्डले प्रवर्धनकर्ताको भूमिका निर्वाह गर्नेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार