• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

गायिका आस्थाको दोस्रो एल्बम ‘आधार -२’ सार्वजनिक 

काठमाडौं । गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार- २’ सार्वजनिक भएको छ । म्यूजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहीबार राजधानीमा एक कार्यक्रमका बीच हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउत लगायतले एल्बम सार्वजनिक गरे ।

 

कार्यक्रममा कलाकार हरिवंशले आस्थासँग आफूले चलचित्र ‘छक्का पन्जा २’को एक गीत ‘झ्याम्म झ्याम्म’ मा सहकार्य गर्न पाएको स्मरण गर्दै आस्थाको स्वर भिन्न रहेको दाबी गरे । ‘जोकोहीको गीत सुनिरहँदा त्यो गीत सोही गायकगायिकाको हो कि होइन भन्ने अन्यौल हुन्छ । किनकी त्यस्तै किसिमको स्वर अन्य गायक गायिकाको पनि हुन्छ,’हरिवंशले भने, ‘तर आस्थाको स्वर सुन्दा उनको जस्तो स्वर अन्यमा पाइँदैन । त्यसकारण परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भइन्छ ।’

 

त्यस्तै कलाकार मदनकृष्णले कम उमेर मै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा गरेको प्रगति देखेर आफूलाई खुशी लागेको बताए । ‘सांगीतिक वातावरणमा जन्मे, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ्लेभर पाउँछौं’, उनले भने ।

 

आस्थाका सांगीतिक गुरु संगीतकार सुरेश अधिकारीले आस्था जस्तोसुकै फ्लेभरको गीत  गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए । आस्थाका पिता हरिबहादुरले आफूलाई आस्थाको पिता भनेर चिनाउन पाउँदा खुशी लाग्ने बताए ।

 

एल्बममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूलि’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन् । यी गीतमध्ये ‘को छ यहाँ ’बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द रहेको छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ ।

 

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्का फिचर्ड छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन छ ।

 

‘आधार -२ ’मा रहेका गीतमध्ये ‘दशै आयो तिहार आयो’बोलको गीतको म्यूजिक भिडियो म्यूजिक नेपालको युट्यूव च्यानलका साथै मुभी एण्ड मस्ती र नेपाल अनडिमाण्ड एपमा सुन्न र हेर्न सकिन्छ ।

 

आस्थाको पहिलो एल्बम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दी पटुकी’ चर्चित गीत हुन् । आस्था हाल टेलिभिजन गायन रियालिटी शो ‘दी भ्वाईस अफ नेपाल’ सिजन-२ को एक निर्णायक पनि हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार