• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

मदरगाछमा ‘ड्रागन फ्रुट’

भद्रपुर । कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रा लि ले झापा गाउँपालिका ७, को मदरगाछमा अढाई बिघामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’ को खेती सुरु गरेको छ । सिँउडी प्रजातिको यो फल महँगो मानिन्छ ।

 

२ वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ । कपडा, धागोलगायत उद्योग सञ्चालन गरिरहेको गोल्यान घरानाले नयाँ उद्यममा लगानी बढाएको हो । प्रालिले मदरगाछमा ‘ड्रागन फ्रुट’ मात्र नभएर स्ट्रबेरी, मेवा र कागतीको पनि व्यावसायिक खेती गरिरहेको छ । यो खेती उष्ण मनसुनी हावापानी भएको माटोमा फस्टाउने हुँदा यहाँको माटो यसका लागि उर्वर रहेको प्रालिका व्यवस्थापक नवीन खनालले बताए ।

 

हाल यहाँ अहिले ६ हजार बिरुवा हुर्किरहेका छन् । १५ सय वटा ८ फिट भन्दा अग्ला सिमेन्टका पोल लहरै गाडिएका छन् । एउटा सिमेन्टको पोलमा ४ लहरा हुर्किरहेका छन् । खेतीमा १५ स्थानीय कामदारले रोजगारी पाइरहेका छन् ।

 

गोल्यान समूहले ‘ड्रागन फ्रुट’ खेतीमा २ करोड रुपैयाँभन्दा बढीको लगानी गरिसकेको र अर्को वर्ष खेती विस्तार गरी तेब्बर पार्ने योजना रहेको व्यवस्थापक खनालले बताए । दाङ र काभ्रेमा पनि ‘ड्रागन फ्रुट’को खेती भइरहेको छ । यो फल २०५७ सालमा पशु चिकित्सक डा। जगन्नाथ राईले अमेरिकी एक इन्जिनियरमार्फत भियतनामबाट नेपाल भित्र्याएको मानिन्छ ।

 

खनालका अनुसार सिँउडी हुर्किने गर्मी ठाउँमा यो फलको खेती हुन्छ । स्वास्थ्यका लागि लाभदायक १२ प्रकारका खनिज, पोषण र भिटामिनको मिश्रण पाइने भएकाले विश्वभर यसलाई महँगो मानिन्छ ।

 

एउटा सिमेन्टको पोलमा लहरिएका बोटबाट वर्षेनी २० देखि ३० किलोसम्म फल उत्पादन गर्न सकिने र यसको बजार मूल्य ८ सयदेखि हजार रुपैयाँसम्म हुने बताइएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम र इनर्जी ड्रिङ्क पनि बनाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार