• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

१७औँ हस्तकला व्यापार मेलाको तयारी पुरा

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा हुन लागेको १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको  तयारी पूरा भएको छ ।

 

भोली (बिहीबार) देखि सोमबारसम्म भृकुटीमण्डपमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको जानकारी दिएको थियो । मेलामा यसवर्ष नेपाली छालाजन्य जुत्ताको प्रदर्शन समेत हुने भएको छ ।  यसको लागी छुट्टै डोमको व्यवस्था पनि गर्न लागिएको महासंघले जनाएको छ  ।

 

नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलामा सहभागी गराउने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको महासंघका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए ।

 

यस्तै मेलामा आठ प्याभिलियन सहित दुई सय कक्ष रहनेछन् । विभिन्न जिल्लामा उत्पादित हस्तकला प्रदर्शनमा राखिनेछ ।  भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी मेलामा स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् ।


धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बाँसका सामानहरू मेलामा  राखिएको छ ।  महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य, महासङ्घका उपाध्यक्ष तथा १५औँ हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्य, महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यलगायतले कार्यक्रममा मेलाको बारेमा आ–आफ्नो धारणा  व्यक्त गरेका थिए ।

 

अर्थमन्त्री डा युवाराज खतिवडाले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नबिल बैंक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा मेला हुन लागेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार