• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

निर्माण व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा, प्रधानमन्त्री निवास अगाडी धर्ना

काठमाडौं । ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ ।

 

महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे नौ बजे देखि एकघण्टा धर्ना दिएको हो । हातमा कालो पट्टि बाधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिन धर्नामा समेत बस्नु परेको बताएका छन ।

 

आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग राखी सरकारलाई दवाव दिन आन्दोलन गर्नुपरेको जनाएको छ । महासंघका अध्यक्ष रबि सिंहले सरकारले २ खर्ब रुपैयाँ बराबरको २ सय भन्दा बढी आयोजनाहरुको म्याद थप नगरेको आरोप समेत लगाए । अध्यक्ष सिंहले टेण्डर प्रक्रियामा भाग लिंदा बैंक क्रेडिट लाइन राख्नुपर्ने व्यवस्था गर्दा बैंकलाई बढी शुल्क तिर्नुपरेको भन्दै त्यसलाई हटाउन समेत माग गरे ।

 

व्यवसायीहरुका माग सम्बोधन नभए कुनै पनि निर्माण प्रक्रियामा भाग लिन नसक्ने अध्यक्ष सिंहले बताए । व्यवसायीहरुले सरकारको टेण्डर प्रक्रियामा सहभागी हुन नसक्ने गरी नियमावली संशोधन भएकाले त्यसलाई सच्याउन माग गरेका हुन् ।

 

महासंघले दोस्रो चरण अन्तर्गत माइतीघर मण्डलामा कालोझण्डा सहित प्रदर्शन गर्ने, आयोजनाको इजाजत पत्र सरकारलाई बुझाउने, ठूला इक्युप्मेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिस्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्ण रुपमा ठप्प पार्नेलगायतका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार