• सोमबार ८-३०-२०७६/Monday 12-16-2019
डबली

लिभिङ टुगेदर 

आश्विन महिना तर पनि रातभरी पानी परिरहेको थियो । बाहिर पानी परेको तपतप आवाज साच्चै आनन्ददायक थियो । पानीको आवाज मेरो लागि एक प्रकारको थेरापी नै हो । यही आवाज सुन्दै विस्तारामा सिरक ओडेर लुटपुटिन मलाई कम्ती मज्जा लाग्दैन, आज राती मैले त्यही मज्जा लिईरहेकी थिए । विहान पख मात्र पानी पर्न रोकियो । पानी पर्न रोकिए लगत्तै मन्द गतिको चिसो हावा चलेको थियो त्यसैले पनि होला आज आँखा अलि चाँडै जागेछन् । टेवलमा भएको घडी हेर्न मात्र के लागेकी थिए मोवाइलको घण्टी बज्यो, मोवाइल हेरे भाईको फोन रहेछ । 

 

हेल्लो !

 

तपाई छिटो गर्नुहोस है ! गाडि आजै डडेल्धुरा पठाउनु छ भन्दै फोन कट्छ । 


बिहान उठ्न भनेपछि मलाई असाध्यै गाह्रो हुने, मेरो बानी थाहा पाएरै भाइले विहानै फोन गरेको थियो । घरमा लैजानु पर्ने सबै सामानहरु वेलुका नै तयार गरेकी थिए । सामान तयार गर्न पर्ने झन्झट थिएन त्यसैले पनि अझै विस्तारामा पल्टे, यस्तो आनन्द आएको थियो फेरी मोवाइलमा घण्टी वज्यो हेर्दा ड्राइभरको रहेछ । 


हेलो !


म्याडम म २० मिनेटमा त्यहाँ आइपुग्छु है । 


हुन्छ  ल आउनु, म तयार हुँदै छु । 


अल्छी लाग्दै उठे, थर्मसको मनतातो पानी गिलासमा राखी एक गिलास पानी पिए । विस्तारा मिलाएर वाथरुम गए फ्रेस भइ कपडा लगाए । प्रत्येक कोठाको सबै इलेक्ट्रिसिटी स्विच अफ गरे, ग्यास रेगुलेटरबाट बन्द गरे । त्यती गर्दा ड्राइभर गेट बाहिर आएछन् गाडीको हर्न वजाए । ल म आए भन्दै सबै सामान घर बाहिर निकाले ड्राइभरले गाडीमा सामान मिलाएर राखे । म सबै कोठाको ढोका वन्द गरे र बाहिरी गेट पनि बन्द गरें । 


ड्राइभरले गाडी स्टार्ट गरे, विस्तारै चलाउनु है भन्दै म पछाडी सिटमा वसे । गाडि अगाडि वढ्यो, रातभरी पानी परेकोले पनि होला बिहानै वाहिर निस्कदा अलि अलि चिसो थियो । बिहानै भएर पनि होला काठमाडौंको सडक खाली नै नभए पनि गाडिले भरिभराऊ चाहीं थिएन । करीब १५ मिनेटमा नै हाम्रो गाडी बालकुमारीबाट कलंकी पुग्यो । दसैंको बेला कलंकीमा मान्छेहरुको भिड थियो, सडकमा कसैले पूर्व पूर्व भन्दै कराउँदै थिए भने कसैले पश्चिम पश्चिम भनी कराउँदै थिए । गाडीहरुको लाइन थियो तर पनि यात्रुहरुले गाडि नपाएर कहिले यता कहिले उता गर्दै थिए । यत्रतत्र हुनेहरुमा धेरै जसो भर्खर २०/२२ वर्षका यूवाहरु बढी देखिन्थे । विस्तारै हाम्रो गाडी अगाडि बढिरहेको थियो, पेट्रोलपम्प नजिक आएपछि ड्राइभरले पेट्रोलपम्प तीर गाडी मोडे र गाडीमा पेट्रोल राख्न थाले । 


म गाडीको सिसा खोली बाहिर हेरिरहेकी थिए त्यतीकैमा एउटा फुच्ची खुरुर दौडेर गाडीको छेउमा आइ । 


साना केटाकेटी देख्दा वित्तिकै मेरो मन रमाउन थाल्छ, उनीहरुलाई कुनै न कुनै बाहना बनाई बोलाउन मन लाग्छ । मैले गाडीबाट हात हल्लाउँदै हाइ ! भने । उसले  पनि मेरो मुखमा पुर्लुक्क हेरी हाई ! भनी । फुच्ची  हेर्दा ५/६ वर्षको जस्तो देखिन्थि तर एकदमै चलाख । तिमी कहाँ जाने ? उसले मामाघर भनी अनि मलाई लगत्तै हजुर कहाँ गईसिने हो ?


यसैपनि बच्चा, त्यसमाथी उसको त्यो मिठास र नम्र स्वाभावले मलाई एकदमै आकर्षित गर्‍यो । म पनि मामाको घरमा जाने । म मामुलाई लिएर आउँछु है भन्दै उ खुरुर दगुरेर गई । एकछिन पछि आमाको हात समाउँदै आइ, उसको आमा भर्खर २५/२६ वर्षकी जस्तै देखिन्थिन् । जिउडाल चिटिक्क परेको, एकदमै राम्री हेर्दै माया लाग्दि, म त एकछिनसम्म उनलाई हेरीरहे । उनले मैले हेरेको देखेर होला अलि अड मान्दै नानी चकचके छ सरी है म्याम भनिन् । होइन, नानीलाई मैले नै तिमीलाई बोलाउन भनेको। 


ड्राइभर आत्तिरहेका थिए, ढिला भयो म्याडम भनिरहेका थिए । मैले उनलाई एकैछिन रोक्न आग्रह गरे । अनि एकछिन गाडीबाट बाहिर निस्के ।


तिमी कहाँसम्म जाने हौ ?


उनले नेपालगञ्ज भनिन् ।


टिकट लिएको छैन ? 


उनी मलिन भईन बोल्दै बोलिनन् । 


फुच्ची बीचमा बोल्दै मेरो हात समाई तपाईसँग मामाघर जाने । मैले उसलाई उचाले अनि उसको मुखमा हेर्दै हवस् भने । उसको आमालाई हामी पनि धनगढी जाने हो । तिमीलाई हामी कोहोलपुरसम्म मात्र लैजान सक्छौ जाने हो भनी सोधे, मेरो अंगालोमा रहेकी फुच्चीले जाने हो भनी । आमा भने मौन बसिन्, मुन्टो हल्लाई सहमती दिइन् । गाडीमा दुबैलाई बसाले, ड्राइभर अलि रिसाएका जस्ता देखिन्थे मैले बेवास्ता गर्दै लौ जाउँ भने । 


कलंकीमा करिब आधाघण्टा जति अलमल पछि गाडी बिस्तारै अगाडि बढ्यो । सडकमा लामो गाडीको जाम थियो त्यसैले एकदमै स्लो गतिमा गाडि थियो । बाहिर गाडिको लाइनले मुड अफ गराए पनि भित्र सानी रमाइली फुच्ची थिई उसको चकचकले बाहिरको जामतिर ध्यानै गएको थिएन । बच्चाहरु स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरु केहि न केहि सिक्न खोज्छन् उ पनि चकचक र जिज्ञासु स्वभावकी थिई । प्रश्न गरेको गर्‍यै थिइ । कति प्रश्न उत्तर दिन सकिने थिए भने कति प्रश्नले मन नै गह्रौ गराउने खालका थिए । 


फुच्ची म सँग कुरा गर्न व्यस्त थिई, उ र म एकदमै रमाईरहेका थियौं तर उसको आमा भने गम्भिर मुद्रामा, उनमा के हराइरहेको, के कमी भइरहेको, उनले केही खोजिरहेकी जस्ती देखिन्थिन । म उनको छोरीसँग  रमाइरहे पनि ध्यान भने उसको आमा प्रति थियो ।


मैले बैनी तिम्रो घर कहाँ हो ? यहाँ कहाँ बस्छौ ? के गर्छौ ? भनी एकैपटक सोधे । उसले सुनिन क्यारे मलाई बेवास्ता गरे जस्तो लाग्यो । 


छोरीले भनी मामु त यस्तै हो जहिले पनि मैले सोध्दा पनि कहिल्यै सुनिसिदैन । 


मैले उसको कुरा बुझिहाँले अनि भने हो ? 


जहिले त्यस्तै हो, सुन्ने कहिले होइन । 


तिम्रो घरमा को को बस्नुहुन्छ ?


मामु र म। 


अनि बाबा नी ? 


थाहा छैन । 


हामी बीच यती धेरै कुराहरु हुँदा पनि आमालाई केही थाहा पत्तो थिएन । मलाई उनको बारेमा केही सोधौ सोधौ लागेको थियो । थानकोट काटिसकिएको थियो, जाम पनि सिद्धिएको थियो, गाडि आफ्नै रफ्तारमा अगाडि बढिरहेको थियो । मेरो व्यागमा स्याउ थियो, एउटा स्याउ झिकेर फुच्चीलाई दिए ।


फुच्चिले नाक खुम्च्याउँदै Apple!  I don’t like apple!


स्याउ मन नपर्ने भए के मन पर्दछ त ?


 I like mango!


म हास्दै हो १ म सँग  ः Mango छैन । 


क्ष् पलयध अहिले Mango को अफ सिजन हो । 


म हो भनेर हाँसे उसले स्याउ खान नमानेपछि  मैले व्यागबाट ओरियो बिस्कुट निकाल्दै थिए । उसले मैले नदिदै एस ! मलाई ओरियो एकदमै मन पर्दछ भनी हातबाट लगिहाली । त्यसबेला बल्ल उसको आमाले चाहीं छोरी के गरेको भनी अलि रिसाह पारामा सोधे । मैले भने उसलाई मैले दिनलाई निकालेको भनेपछि यो बदमास छ म्याम भन्दै मुसुक्क हाँसी । मेैले उसलाई पनि एउटा स्याउ दिए तर उसले एकदमै अड मानीमानी लिई । 


ड्राइभरले आफ्नै रफ्तारमा सानो आवाजमा गित लगाई ड्राइभिङ्ग गरिरहेको थियो । फुच्चीले बेलाबेलामा यस्तो कयलन मलाई मन नै पर्दैन भन्दै थिई । आमाको भने गित तीर ध्यानै थिएन, एकदम अफसेट माइन्डमा थिइ । मेरो भने आमातीर ध्यान गईरहेको थियो । मलाई उनको बारेमा जान्न एकदमै उत्सुकता जागिरहेको थियो । फुच्चीले पानी भनी, मैले बोतलमा भएको पानी उसलाई दिए । उ पानी पिउँदै थिई असल्ली, एकछिन त उ स्वास न वास भई । ड्राइभरलाई गाडि रोक्न लगाई  सबैजना बाहिर निस्क्यौ । केही समयपछि फुच्ची ठिक भई हामी सबै गाडीमा बस्यौ  । फुच्ची आमाको काखमा गई, आमाको चाहीँ छोरीलाई मुसार्दै आँखामा टलपल आँसु भरिन लागेका थिए । त्यहाँ आमाको छोरीप्रतिको अगाध प्रेम छचल्किरहेको थियो । 


मलाई एउटा Unknown नम्बरबाट फोन आयो :


हेलो ! 


म्याडम नमस्कार ! म स्युचाटारबाट उमेश बोले ।


म एकजना घरेलु हिंसामा परेको महिलालाई तपाईको संस्थामा पठाउँछु, सहयोग गर्नु है साह्रै पिडामा छे त्यो बैनी । 


हुन्छ, दिउँसो अफिसमा पठाईदिनु । 


अनि अफिसको स्टाफलाई फोन गरी एकजना घरेलु हिंसामा परेको केस आउँदैछ दर्ता गरेर राख्नु है भनी फोन राखे । 


म्याम तपाईले के गर्नुहुन्छ ?


म हास्दै भने किन ? 


तपाईले हिंसामा परेका महिलालाई उद्दार गर्नु हुन्छ हो । 


म केही नभनी मौन बसे । 


एक छिनको मौनता पछि म्याम !


मेरो जीवनका २५ वर्षलाई हेर्दा जहिले पनि उतारचढाव नै बिते । मेरी आमालाई म जीन्मने व्यथा लाग्दै गर्दा घरमा एक मुठी चामल पनि थिएन रे गरिबी र अभावले होइन की आमाको कामको व्यस्तताले गर्दा धान कुटाउन नपाएर । जसले गर्दा सुत्केरी हुँदा भात खान नपाएर रातभरी ज्वानोको झोल पिएर बस्न बाध्य हुनुभएको थियो रे । म जन्मिने बेलामा रातीको १२ वजेको त्यही पनि औंशीको रात । मेरो आमाले आज कुनै हालतमा जन्मिन दिन्न भनेर व्यथा लागी तारैतार पार्दा पनि जवरजस्ती खुट्टा खुम्च्याई राख्नुभएको थियो रे । तर पनि लेखान्तमा भएको कुरा जन्मेरै छाडिस भन्नु हुन्थ्यो । अर्कोदिन गाँउभरी लाउरेनीले छोरी पाई त्यही पनि औंशीको रातमा भनेर हर्षोल्लासको सट्टा सबैमा निराशा छाएको थियो रे । हाम्रो तीर औंशीको दिनमा जन्मने केटीलाई अलछिनी मानिन्छ ।

 
जब म ३ वर्षको मात्र थिए मेरो बाबाको मृत्यु भएको थियो । मेरो मनसपटलमा बाबाको तस्बिर नै याद छैन । बाबाको मृत्यु पछि घरमा मेरो आमा, दाइ र म मात्र थियौ । मेरो बाबा ब्रिटिसको लाहुरे भएको र हामीसँग प्रश्स्त जग्गा जमिन भएको कारणले हामीलाई खान लगाउन कहिल्यै दुःख भएन ।  दाईले एसएलसी गर्नुभयो  र सिभिल इन्जिनिएर पढ्न भनेर काठमाडौं जानुभयो ।


दाई काठमाडौं गएपछि आमा र म मात्र घरमा थियौं । दाईले आमासँग त्यहाँ बैनीको पढाई बिग्रिन्छ म सँगै राख्छु भनी राख्नुहुन्थ्यो मलाई भने आमालाई एक्लै छाडेर काठमाडौं जानै मन लागेन । त्यसैले २०६३ सालमा मैले गाँउबाट नै एसएलसी गरे । एसएलसी पश्चात म पनि दाईसँग बसी नर्सिङ्ग पढ्न थाले । 


२०६७ सालमा मेरो नर्सिङ्ग सिद्दियो र कान्तिपुर हस्पिटलमा काम गर्न थाले । दाई भने इन्जिनियर सिद्धाएर क्यानडा जानुभयो । दाईले आमालाई म सँग काठमाडौं बस्न भन्नुभयो तर आमाले मान्नु भएन त्यसैले दाई क्यानडा गएपछि म एक्लै बस्न थाले । 


त्यतीवेला म बुद्दनगर वस्थे । तल्लो फल्याटमा घरबेटी बस्थे, बीचको फ्ल्याटमा म  र माथिल्लो फल्याटमा एकजना रेष्टुरेन्ट काम गर्ने व्यक्ति बस्थे । उनी धेरै वर्षदेखि त्यो फ्ल्याटमा बस्दै आएका थिए । एउटै घरमा बसेको हुँदा हामी र उनी बीच आवतजावत भईरहन्थ्यो । रेष्टुरेन्टमा जागिर त्यसैले पनि उनी प्राय ढिला आउँथे अनि आफ्नो कोठामा जानुभन्दा पहिला जहिले हाम्रोमा पसी एकछिन बसेर जाने गर्दथे । कहिलेकाहीं मेरो दाईले खाना यतै खाउ भन्नुहुन्थ्यो अनि खाना खाई दाईसँगै सुत्ने विहान उठेर जाने गर्दथे । 


दाई क्यानडा गइसकेपछि पनि उनी मेरो कोठामा आउने जाने गरिराख्थे । कहिलेकाही मेरो इभिनिङ्ग ड्युटी हुँदा लिन आउने, कहिलेकाहीं मलाई ढिला हुँदा छोड्न जाने समेत गर्दथे । मलाई उनी राम्रो व्यक्ति लाग्थ्यो । मेरो दाईले जय कति असल छ भनी प्रशंसा गरिरहनुहुन्थ्यो । तलाई केही समस्या पर्‍यो भने जयलाई भन भन्नु हुन्थ्यो । त्यसैले पनि हामी नजिक थियौ । दाई क्यानडा गएपछि हामीबीच एक प्रकारको घनिष्टता दिन प्रतिदिन बढ्दै गईरहेको थियो ।


बिदाको दिन आज बाहिर खाजा खान जाउँ भने म कहिल्यै नाई भन्ने थिइन । म तयार भइहाल्थे, हामी बाहिर घण्टौ समय बिताउँथ्यौ, कहिले कामका कुरा, कहिले अरुका कुरा, कहिले मौन बसेर । जे गरे पनि एकदमै खुशी हुन्थ्यौ हामी । 


एकदिन जय एक्कासी विरामी पर्‍यो, उसलाई फुड प्वाइजन भएछ । म उसलाई हस्पिटल लिएर गए इमरजेन्सीमा भर्ना गरे करीब ६/७ घण्टा पछि हस्पिटलले डिस्चार्ज गर्‍यो । 


त्यसपछि हामी ट्याक्सीमा कोठामा गयौ, जय कमजोर भएको थियो त्यसैले म किचनमा गएर एक कचौरा सुप बनाइदिए र एक थर्मस पानी तताएर उसको नजिक राखिदिए । ल राम्रो सँग सुत भनी मेरो कोठामा गएर भर्खर कपडा चेन्ज गरेर रेष्ट गरेकी थिए जयको फोन आयो । फोन नउठाई म उसको कोठामा गए के भयो भनी सोधे । मलाई एकदम टाउको दुख्यो भन्यो । मैले अलिकति नवरत्नको तेल लिएर उसको टाउको मसाज गर्दै थिए, उ मेरो काखमा भुसुक्क निदायो । उ जाग्ला भनेर म पनि त्यही सोफामा आड लागेर पल्टे । करिब २ घण्टा पछि उ जाग्यो । त्यसपछि म मेरो कोठामा जान थाले तर उसले मेरो हात समात्यो । मलाई जानै दिएन ।  


त्यसपछिका दिनहरुमा हामी कहिल्यै छुट्टाछुट्टै फ्ल्याटमा बसेनौं । करिब एक महिना पछि मेलै फल्याट छाडिदिए । हाम्रो घनिष्टता दिन प्रतिदिन बढ्दै थियो । सायद हामी एक अर्काका अभिन्न अंङ्ग भईसकेका थियौ । जयको बानी अचम्मको थियो रात परेपछि घरको छतमा गई जुनेली रातका ताराहरु गन्न खोज्ने, आकाशमा उडिरहेका प्लेनको आवजलाई धुन मानी आनन्द लिने, आकाशमा कति प्लेन उडे गन्ति गरेर वस्ने । त्यसरी गन्ति गनिरहँदा म चाहीं उसको अंगालोमा हुन्थे । कहिले काहिं रातीमा उसलाई ताराहरु खसेको भान हुन्थ्यो अनि हतार हतार आफ्नो र मेरो गाला सँगै जोडि एउटा वीस पठाउँथ्यो । हामीलाई सँगै जीउन देउ है भगवान । उसका यस्तै यस्तै क्रियकलापले पनि म उसको प्रेममा चुर्लुम्म डुबिसकेकी थिए । उसलाई एकछिन नदेख्दा पनि शुन्य हुने, छटपटावट हुने अवस्थामा म थिए । अब म उसका हरेक आग्रह नकार्न नसक्ने स्थितिमा थिए । उसले त्यो कुरा राम्ररी बुझेको थियो त्यसैको परिणाम अक्क्षेरा हो म्याम । 


अक्क्षेरालाई जन्म नदिन हजार कोशिस गरेका थियौ तर भाग्यमा लेखिएको कुरा मेट्न जति गरे पनि सकिने रहेनछ । अक्छेराले त जन्म लिई त्यो कुरा न मेरो परिवारलाई थाहा थियो न उसको परिवारलाई । अक्क्षेरा जन्मेपछि मैले जागिर पनि छोडिसकेकी थिए, घरपरिवार दाईसँग पनि कहिलेकाहीं मात्र फोन कुरा हुने गर्दथ्यो । दाईले म्यासेन्जरमा आइजा भिडियो कल गरौं भन्दा पनि खाली फुर्सद छैन भन्दै टार्दै थिए । फेसवुक अपडेट नभएको पनि महिनौ भएको थियो । तर पनि छोरीको आगमनले मलाई शितलता प्रदान गरेको थियो ।  


अक्क्षेरा जन्मेको ६ महिनासम्म जयले पनि असाध्यै माया गरे । अफिसबाट पनि टाइममा आउने कोठामा आएर सबै काम गर्ने । छोरीसँग घण्टौ समय बिताउन खोज्ने । 


अक्क्षेरा जन्मेको हामी दुबैको घरमा थाहा जानकारी नभएकोले पनि हामीलाई दुवै तर्फको घर समाजको डर त्रास थियो । अक्क्षेरालाई कसरी चिनाउने । उता मेरो दाईले क्यानडामा बस्ने केटासँगै त बिहे गर्ने हो । यताउता नगरेस है भनेर बारम्वार सम्झाउथ्यो । यता आमा फलानाको मामाको छोराले तलाई हेर्ने कुरा छ । अब बिवाह गर्नुपर्छ भनी सझाउनु हुन्थ्यो । आमा, दाईले मेरो बिहेको कुरा गरिरहँदा भने मेरो काखमा अक्छेरा हुन्थी । म केही जवाफ नफर्काई मौन बस्थे । 


उता जयले आफनो घर परिवारको बारेमा मलाई केही भन्दैनन्थ्यो । केही कुरा गर्न खोज्यो म साथमा छु तलाई के चाहियो भनी उल्टै मलाई प्रश्न गर्दथ्यो । जयको घरमा के समस्या थियो मलाई केही थाहा भएन । 


मिति २०६९ को नयाँ वर्षको दिन थियो । अक्क्षेरा भर्खर ५ महिना पुगेर छ महिनामा लाग्न थालेकी थिई । जयको त्यसदिन अफिस पनि बिदा थियो, त्यसैले पनि उ अलि ढिला उठ्यो । म बिहानै उठी नुहाए, छोरीलाई उठाई हातमुख धोई कपडा लगाईदिए अनि जयलाई उठाए । जय उठेर हतार हतार नुहाए, कपडा लगाए । हामी तीनजना पशुपति गयौं, पशुपतिको दर्शन गरेर घरमा आयौं ।


जयले आज नयाँबर्ष लञ्च गर्न बाहिर जाउँ भने म पनि सहमत भए । हामी दरबारमार्गको एक रेष्टुरेन्टमा गयौं त्यहाँ लन्च गरिसकेपछि सिधै बिशालबजार गई छोरीलाई दुई सेट कपडा, जुत्ता किनिदिए । अनि मलाई रिद्धिसिद्धीमा लगी एउटा सुनको औठी किनिदिए । त्यसपछि हामी कोठामा आयौं । जय अघिपछि अफिसको कामले व्यस्त हुने तर बिदाको दिन मात्र उनीसँग समय हुने हुँदा एकछिन पनि हामीबाट टाढा हुने थिएनन् । सोही दिन पनि बेलुका सम्म हामीसँगै बस्यौ, सँगै रमायौ । सधा झैं यसदिन पनि हामी मायाको अर्थशास्त्रमा रमाइरहेका थियौं ।

 
बेलुका करिब ८ बजेको थियो जयको घरबाट आमा बिरामी भएको भनी फोन आयो । आमा बिरामी भएको खवरले जय एकदमै आत्तिए । फोनमा नै उनले तपाईहरु आमालाई हस्पिटल लैजानु, म भोलि बिहानसम्म आउँछु भने । फोन राखिसकेपछि म गाँउ जान्छु, तिमी कपडा व्यागमा राखिदेउ भनी उनी कोठाभित्र पसे । मैले उनका कपडा व्यागमा राखी उनलाई दिए ।  व्याग समाए, छोरीलाई मुखमा हेरे,  मलाई छोरीको राम्रोसँग ख्याल गर है भनी पिठ्युमा धाप मारे अनि हेल्मेट लगाई व्याग बोकी कोठाबाट निस्किए । 


जय गेटबाट बाहिर निस्के, हामीलाई पुर्लक्क हेरे बाइक स्टार्ट गरे । जय निस्केपछि म पनि बाहिरको गेट लगाए रुममा गए । किचनमा गएर दुध तताए अक्क्षेरालाई खुवाए एकछिनपछि अक्क्षेरा सुती । म बिस्तारामा पल्टे पनि निदाउन सकेकी थिइन । न रुन सकेकी थिए, न केही सोच्न नै । रातभरी आँखा नचिम्लीकन उज्यालो भयो । जयको फोन पनि आएन किन यतिखेरसम्म पनि फोन आएन भनी मैले डायल गरे फोन स्वीचअफ रहेछ । अरु घरपरिवारको बारेमा केही पनि जानकारी मलाई थिएन त्यसैले कसैको फोन नम्वर थाहा हुने कुरा पनि भएन । किचनमा गएर हेरेको मोवाइलको चार्जर त प्लगमा नै रहेछ । चार्जर राख्दिन बिर्सेछु मार्ने भयो भनी सोच्दै रुममा आए । रुममा आउँदा अक्क्षेरा उठिसकेकी रहिछ, म उसलाई भुलाउन लागे, फोन गर्लान भन्ने प्रतिक्षामा बसिराखे । 


अक्क्षेरा बेलुका रातीसम्म बस्न सक्छे तर बिहान उसको नौं बजेसम्म सुत्ने रुटिन नै थियो । मैले उसलाई एकछिन थमथम पारे एकछिनमा नुनु गरिहाली । म भने उठेर सरसफाई गरे, नुहाए अक्क्षरालाई जाउलो बनाईदिए । काम गरिरहे पनि मेरो सम्पूर्ण ध्यान जयको फोनको पर्खाइमा थियो । १०/१० मिनेटमा उसको म्यासेज आउँछ कि भन्दै मोबाइल चेक गर्दै थिए । जयको फोन, म्यासेज नआएपछि म अलि अताल्लिए । फेसवुक  खोले जयलाई सर्च गर्दा जयको फेसवुक प्रोफाइल नै भेटाइन । म झन तनावमा भए अब के गरु कसो गरु छटपट भयो । हतार–हतार दराज खोले दराजमा दुई लाख नगद रकम रहेछ । त्यहाँ केही लेखेको छ की भनेर हेरे केही पनि थिएन । दराज खोतल्दै गए, उसको एउटा ह्यान्ड व्याग थियो । हतार हतार सर्च गरे त्यहाँ उसले लगाउने सिक्री, औठी, मोवाइल र उसको घडी छाडेर गएको रहेछ, ।  मोवाइल हेरे स्वीचअफ थियो, स्वीचअन गरे हेर्दा सिम नै रहेनछ । ह्याण्ड व्यागमा भएका उसको नागरिकता, सर्टीफिकेट सबै लिएर गएको रहेछ । 


उसले राखेको पैसा, उसका सामानहरु सबै त्यहीं तर उसका अत्यावश्यक डकुमेन्ट लिएर गएपछि मैले सोचे जय मलाई सदाको लागि छाडेर गयो । यदि घरमा जाने थियो भने मोवाइल किन छोडेर जान्थ्यो । अब मलाई उसले फोन गर्छ र म सँग फर्किन्छ भन्ने लागेन । अब मलाई उ भाग्यो भन्ने पिर भन्दा पनि म अक्क्षेरालाई कसरी चिनाउने, म यो समाजमा कसरी बाच्ने, त्यसले तनाब भयो । ढोका सबै बन्द गरे, अक्क्षेरालाई काखमा लिई चिच्चाई चिच्चाई रोए । म रोएको सुनेर छोरी झन चिच्चाई चिच्चाई रोइ । रुँदा रुँदा आँसु नै सिद्धिए सायद आँसु आउन बन्द भए । अक्क्षेराका ओठ पनि निला निला भएका थिए, ऊ रुँदा रुँदा आवाज बन्दै हुन लागेको थियो । ओठ निला भएको देखेर छोरीलाई पानी खुवाए । पानी खाएर अक्क्षेरा सुती । 


हरेक दुःखमा साथ दिने एकजना मिल्ने साथी थिई उसलाई फोन गरे उ पनि काठमाडौंमा रहिनछ । अब अरु फोन गर्ने कोही छैन । दाईलाई फोन गरौं भने मेरो बारेमा केही थाहा छैन । सोच्दा सोच्दा दाईलाई म्यसेन्जरमा म्यासेज पठाउने निर्णय गरे । दाई गएपछि जय र म बीच भएका सबै घटनाक्रम उल्लेख गरे अनि आँखा चिम्म गरि सेन्ड बटम थिचे जव सेन्ड बटम थिचे मुटु ढुक्क गर्‍यो । मैले म्यासेज गर्दा बित्तिकै सिन देखियो । म थरथर काप्न थाले । मलाई जयको टेन्सन भन्दा पनि अब  दाईले मेरो कर्तुत थाहा पाएपछि के गर्ने हुन भन्ने डर थियो ।


दाईले म्यासेज हेर्‍यो तर रिप्लाई गरेन । मलाई भने के गरु र कसो गरु भन्ने भएको थियो । शरिरबाट चिटचिट पसिना आएका थिए, भन भन घुमाएको थियो एकछिनमा जीउ लर्थक्क भयो म पुरै ढलेछु । म करिब २० मिनेटपछि जागे जाग्दा म भुईमा ढलेकी  थिए ।


जुरुक्क उठे, पलङ्गमा छोरीलाई हेरे, छोरी पनि जागेकी रहिछ । उ एक्लै गिगि गरी खुशी मुद्रामा आफैसँग कुरा गरिरहेकी थिइ, आफूसँगै रमाइरहेकी थिइ । बिचरा त्यो अवोधलाई के थाहा उसको बाबा सधैभरीका लागि उसलाई छोडेर गयो भनेर सायद उसलाई थाहा भएको भए कति निराश हुन्थि होला, कति रुन्थी होला । उनको नजिक गए, मेरो हातमाथि छोरीको टाउको राखे अनि छोरी अब तिमी एक्लै यसरी नै रमाउनु पर्दछ । मैले पनि मेरो बाबाको माया कस्तो थियो भन्ने महशुस गर्न पाइन तिम्रो भाग्यमा पनि बाबासँग रमाउन लेखेको रहेनछ यसैलाई स्वीकार है छोरी । मैले यसोभन्दा मेरो आँखामा  बलिन्धर आँसु थिए भने उसको अनुहार मलिन भएको जस्तो लाग्यो, उसको देव्रे हातले मेरो अनुहार कोपरी सायद हामी बाबा बिना बाच्न सक्दैनौ जा बाबालाई खोज भनेकी होला । 


फेसवुक खोले दाईको म्यासेज आएको छ की भनी इन्वक्स हेरें तर आएको रहेनछ । किचनमा गई छोरीलाई एक गिलास दुध तताएर अतिकति हर्लिक्स राखी खुवाए अनि पिठ्युमा छोरीलाई वोके, ढोका लगाए । घरवेटी दाईलाई भेटे अनि सबैकुरा गरी उनलाई अव के गर्ने सहयोग गर्नु दाई भनी रुदै अनुनय विनय  गरे । घरबेटी दाईले मलाई साथ दिए हामी प्रहरी चौकीमा गई सबै घटनाक्रम खुलाई जयलाई खोजिदिन आग्रह गरी निवेदन दियौं । 


प्रहरीले जय हराएको निवेदन त लियो तर त्यसपछि अहिलेसम्म पनि जयको केही अत्तोपत्तोबारे जानकारी दिएको छैन । अहिले अक्क्षेरा ६ वर्ष की भई जय हराएको पनि ५-१/२ वर्ष जति भयो । ऊ कहाँ गयो, जिउँदो छ की मर्‍यो केही थाहा छैन । आमाले पनि तलाई मैले यति दुःख गरेर पढाएको खेरै गएछ । तैले पढेको बुद्धि कस्तो ठाउँमा लगाईछस भनी असाध्यै गाली गर्नुहुन्छ । मेरै पिरले होला उहाँ पनि असक्त हुनुहुन्छ । सुगर र प्रेसरको रोगी हुनुहुन्छ, कहिले धिपिक्क निभ्नु हुने हो ।


दाईले म्यासेन्जरमा म्यासेज हेरेपछि मलाई फेसवुकमा व्लक नै गर्‍यो त्यसपछि अहिलेसम्म सम्र्पकमा छैन । उ नेपालमा कहिले आउँछ थाहा नै छैन । आमालाई सम्पर्क गर्दा त छिटै आउँछु आमा भन्छ रे  तर अहिलेसम्म आएको छैन । उसको नजरबाट त म गिरिसकेको मान्छे मलाई उ बाट केही आश छैन । अक्क्षेरा मामा भन्दा हुरुक्कै हुन्छे खै उसको भाग्यमा बाबाको साथ त लेखेको रहेनछ मामाको माया पाउन लेखेको छ छैन । 


अहिलेसम्म त दिनहरु जनतन काटिएका छन् अबका दिन भने अझ जटिल हुनेवाला छन् । खै कसरी पार गर्ने हो । हुन त म आफै पनि पढे लेखेकी महिला तर पनि कस्तो मान्छेलाई भरोसा गरेछु जसको बारेमा केही थाहा जानकारी नलिई सम्पुर्ण शरिर सुम्पेछु । न त म सँग जयको पत्नी हुँ भन्ने कुनै आधार छ । अब अक्क्षेरा ठूली हुँदैछे । उसको पहिचानको सवाल छ । उसको जन्मदर्ता पनि छैन । कहाँबाट कसरी गराउने हो । उसको नाम पछाडिको थर के राख्ने हो । जयका डकुमेन्ट पनि सबै लिएर गएको छ, उसको नाम बाहेक मलाई केही थाहा छैन । त्यही भएर पनि मैले उसलाई हालसम्म स्कुल पठाएकी छैन ।

 
अब म के गर्ने होला म्याम ?


त्यतीकैमा ड्राइभरले म्याडम कोहोलपुर आयो । उहाँहरु यही ओर्लने हो ? 


ड्राइभरले प्रश्न गर्दा म झसङ्ग भए कति छिटो कोहलपुर हतार हतार घडी हेरे दिउँसोको ३ बजेको रहेछ । यसो सिसा खोली बाहिर हेरे कोहलपुर आइसकेको रहेछ । 


अक्क्षेरालाई मुखमा हेरेर तिम्रो मामाको घर आयो नी । 


उसले एस ! भनी ।


तिमी यही झर म मेरो मामाको घरमा जान्छु ल ।


हवस् ।


ड्राइभरले व्याग झिकिदिए, उनीहरु पनि गाडिबाट ओर्लिए । 


मेले उनलाई मेरो भिजिटिङ्ग कार्ड दिए ।


अक्क्षेरालाई बाई ! 


उसले नि बाई ! भनी ।


एकछिनमा ड्राइभरले धनगढीतिर गाडि अगाडि बढाए । म भने अक्क्षेराको मामुले बाटोभरी भनेका सबै कुरा नजवाफ भएर सुन्न बाहेक अरु केही गर्न सकेकी थिइन तीनैका जीवनमा भोगेका कठिनाईहरुका अवयवहरुलाई केलाउँदै गए । केलाउँदै जाँदा कतिपटक मेरो आँखामा आँसु टलपल्ले, कति पटक मुटु भक्कानियो, कति पटक छटपटावटमा परे । अचम्मको कुरा त के भने अक्क्षेराले मेरो काखमा बसेर आफ्ना आमाका सबै भोगाईहरु एक शब्द पनि नबोलेर सुनिरहेकी थिई । आमाको कहानी भन्नु भन्दा पहिलेको अक्क्षेराको त्यो चकचके, जीज्ञासु स्वभाव कसरी परिवर्तन भयो यावत कुराहरुमा सोच्दा सोच्दै गाडिले झ्याप्प ब्रेक लगायो अनि स्टार्ट बन्द गर्‍यो के भयो भनी हेर्दा त घर अगाडि गाडि रहेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

प्रेम र किड्नी

२८ मङ्सिर, २०७६

ब्लाङ्क चेक

२१ मङ्सिर, २०७६