• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

घाँस बेचेर करोडपति

 

सुकृत नेपाल, नवलपुर । गैडाकोट वडा नं १२ भेडाबारीको सडक छेउबाटै घाँस देखिन्छ । झट्ट हेर्दा ऊखु बारी जस्तै देखिने सुपर नेपियर जातको घाँसको माग अहिले बढेको छ । जस्तोसुकै हावा पानीमा पनि राम्रोसँग बढ्ने हुँदा पशु किसानहरुको रोजाईमा परेको छ यो घाँस । पशुलाई चाहिने पोष्टिक तत्व प्रश्स्त पाईने हुँदा श्री स्वस्थानी घाँस श्रोत केन्द्र तथा बाख्राफार्मका सञ्चालक बिष्णु भट्टले लगाएको घाँस धेरैको छनोटमा परेको छ ।


घाँस श्रोत केन्द्रबाट अहिले दैनिक ३० हजार रुपैयाँ बराबरको घाँस र यसका वीउको बिक्री हुने गरेको छ । यो फार्ममा दैनिक दर्जन बढी समुहहरु अध्ययन अबलोकनका लागि आउने गरेको फार्म संचालक भट्ट बताउँछन् । एकवर्ष अघिबाट सुरु भएको फार्ममा २० बढि प्रजातिका घाँसहरु छन । फार्मबाटै प्रतिकिलो ९ रुपैयाँका दरले हरियो घाँस बिक्रि हुन्छ । ८ विघा क्षेत्रफलमा सुरु गरिएको घाँस खेतीमा घाँस संगै अन्य बिरुवाहरु पनि छन । कतै फूल त कतै गिट्ठाका लहरा देख्न सकिन्छ । उनले यो एक बर्षमा ६० लाख भन्दा बढि रुपैयाँको घाँस वीउ बिक्रि गरे र अब आउने वर्षमा घाँसको माग अझै बढ्नेमा ढुक्क छु । 


३६ बर्षे यी युवा घाँसको बिस्तारमा तीब्र रुपमा लागेका छन । यो घाँसलाई देशभरी नै विस्तार गर्ने सके पशुजन्य उत्पादनमा बृद्धी गर्न सकिन्छ र परनिर्भरता घटाउन सकिन्छ भन्नेमा उनी आशावादी छन ।  विष्णुले ३० लाख खर्च गरेर सुरु गरेको घाँस अभियानबारे उनको अनुभव उनकै शब्दमा :

 

घाँस खेतीको यात्रा 
नवलपरासीमा नै मेरो जन्म भएको हो । जनता माविबाट २०५७ सालमा एसएलसी पास गरे । विरेन्द्र क्याम्पस भरतपुरमा आइ.ए सुरु गर्दै गर्दा काठमाडौं जाने रहर तीब्र बन्दै थियो । पाटन क्याम्पस पाटन ढोकामा आएर फेरी आई.एमा भर्ना भए । परिक्षा सोचेको जस्तै भयो पास गरे । मनभित्र विदेश जाने इच्छा तीब्र थियो । गाउँबाट बिदेशीनेहरुको क्रम निरन्तर थियो । म संगै स्कुल पढेकाहरु धेरैजसो बिदेश लागे कति जाने प्रक्रियामा थिए । म पनि रहरै रहरमा मलेसिया हानिय । काम सोचेको जस्तै थियो । कमाई पनि राम्रो थियो । अहिले पनि यहाँका युवा लाखौ खर्च गरेर विदेशीने गरेका छन । म पनि गाउँघरका अन्य दाजुहरु जस्तै बिदेशीने निर्णयमा पुगे । 

 

पारिवारिक कारणले चार बर्षपछि नेपाल आए । स्वदेश मै केहि गरौं भन्ने लागेर यतै बस्ने निर्णयमा पुगे । नयाँ र धेरैका लागि फाइदा पुग्ने काम गर्नुपर्छ भन्ने सोचले नै मैले घाँस खेतीमा हात हालेको हुँ । समस्याहरु थिए । कामसुरु गर्छु भन्दा धेरैले यो कामको बारेमा विश्वास नै गर्न सकिरहेका थिएनन् । ‘विदेश देखेर आएको एउटा युवाले यहाँ किन जोखिम लिन्छस’ भन्नेहरु पनि थिए । सिचाईमा समस्या थियो । मल व्यवस्थापनमा कठिनाईहरु आए । अहिले म एकजनाले सुरु गरेको कामलाई अन्य युवाहरुले पनि त अनुसरण गर्न सक्छन, यसले व्यापकता पाउँछ भन्नेमा म ढुक्क छु ।

 


 

घाँस खेती र अन्य उत्पादनमा फरक
मेरो मनमा एउटै प्रश्न चलिरहन्थ्यो । देश डरलाग्दो रुपमा परनिर्भरतातर्फ गइरहेको छ । केहि सहज किसिमका उद्ययमहरुका बारेमा मैले सोचेको थिए तर कृषिजन्य हरेक उत्पादनका लागि पहिलो प्राथमिकता घाँस हो भन्ने लाग्यो । घाँस सहजै पाउन सकियो भने त पशुपालनमा किसानको आर्कषण बढ्न सक्छ जसले गर्दा मासु र दुधका लागि जुन रुपमा हामी भारतसँग निर्भर छौं त्यसमा कमी ल्याउन सकिन्छ भन्नेमा म थिए ।

 

पशुलाई खुवाइने दानाको मुल्य आकाशिरहेको छ । त्यही पशुको दाना किन्न खोज्दा पनि भनेको समयमा पाउन सकिदैंन । छोटो समय मै प्रतिफल दिनसक्ने पशुलाई आवश्यक पर्ने पोषण भएको घाँस उत्पादन गर्ने सकियो भने त्यसले बढी लाभ दिन्छ भन्ने भएर नै मेरो रोजाईमा घाँस पर्ने गएको हो ।

 

पशुजन्य उत्पादनमा आत्मनिर्भर हुनका लागि उत्पादन पनि ठूलो संख्यामा हुनुपर्छ । देशभरी हेर्ने हो भने अधिकांश खेतीयोग्य जमिनहरुमा घर बन्ने क्रम बढेको छ । पशुका लागि चाहिने आहार जुटाउन समस्या छ । खेतबारीका डिल, थोरै खाली जग्गाहरुमा यो घाँस लगाउन सकिने भएर नै यस्ता घाँसहरुको माग बढ्दो छ । सुरुवातका केहि महिना २ विघा क्षेत्रफलमा मात्रै लगाए । हाल यो बिस्तार गरेर ८ बिघा क्षेत्रफलमा लगाएको छु । पशुलाई चाहिने प्रयाप्त पोषण छ भन्ने कुराको नमुना परिक्षण समेत गरेको छु । पशुआहार महाशाखा खुमलटारमा नमुना परिक्षण गरेपछिको नतिजाले घाँस प्रतिको मेरो लगाव झनै बढाएको छ ।


फार्मलाई सुन होइन हिरा बनाउन सकिन्छ
यो फार्ममा म अहिले औसतमा १२/१४ घण्टा  बिताउँछु । फार्ममा काम गर्नहरु पनि छन तर म आफै पनि यहाँ खटिन्छु । यहाँ आएपछि मन शान्त हुन्छ । फार्ममा घाँसमात्रै छैन । ६५ वटा स्थानीय र उन्नत जातका बाख्रा पनि पालेको छु । झण्डै ३ लाख पर्ने बोयर जातको बोका पनि मेरो फार्ममा छ । नसल सुधारका लागि यस क्षेत्रका किसानहरु यहाँ आउने गर्नुहुन्छ । यहि उत्पादन भएको घाँस र चरणबाट पाल्न सकिने र मलखाद घाँस कै लागि आवश्यक हुने हुँदा बाख्रा पालेको हुँ । अब केहि हाँसहरु पनि पाल्ने सोचमा छु ।

 

जुनसुकै भौगालिक क्षेत्र र हावा पानीमा पनि यो घाँस बढ्न सक्छ । सुपर नेपियर जातको घाँसका हागालाई रोपिएको ६ महिनापछि अर्को बिरुवा बनाउनका लागि तयार हुन्छ भने पशु आहारका लागी रोपेको एकमहिना पछि नै काट्न शुरु गर्न सकिन्छ । हेर्दा उखुका घारो जस्तै देखिने एउटा हाँगोलाई ५ टुक्रा बनाइन्छ । ती टुक्राहरुलाई बोरामा भरेर माग भएका स्थानमा पठाउँदै आएको छु । प्रतिबोरा २ हजार ५ सयका दरले मेरो फार्मबाटै बिक्रि हुदैं आएको छ । भौगालिक रुपमा टाढा हुने कृषक दाजुभाई दिदि बहिनीहरुले फोन गरेर ठेगाना दिए पठाउने गरेको छु । पशुका लागि मात्रै होइन पन्छीका लागि पनि लाभदायक हुने घाँसहरु यहाँ छन ।

 


 

अबको योजना 
बिषादी रहित उत्पादनलाई अभियान कै रुपमा लैजाने र पशुलाई चाहिने आहारमा आत्मनिर्भर बन्ने बाटोमा लाग्ने प्रयास जारी छ । पशुलाई चाहिन प्रयाप्त पशुआहार भयो भने देशलाई चाहिने सम्पूर्ण उत्पादन स्वदेश मै गर्न सकिन्छ । आवश्यक खाद्यान्न उत्पादन र विषादी रहित उत्पादन मेरो पहिलो प्राथमितका अथवा भावी योजना हो ।

 

सरकारले किसान मैत्री बजार बनाउन सकेको छैन । सरकारले कृषिलाई आधुनिक ढंगबाट अगाडी बढाउने भनेपनि सोचेको जस्तो हुन सकेको छैन । कतिपय उत्पादनको वीउ परिक्षण हुन नसक्दा कृषकले लगाएको अन्यले फल दिन सकेको छैन । केहि बर्ष पहिले मकैमा घोगा लागेको थिएन, यस पटक हजारौं बिघा जग्गामा लगाइएको घानमा बाला लागेन । कृषकको श्रम र पैसा खेर गइरहेको छ । सरकारको प्राथमिकता कृषि पर्नुपर्छ भन्ने आम कृषकको आवाज हो । घाँस खेती गर्ने सोच हुने युवाहरुले 9847535305 नम्बरमा फोन गर्न पनि सक्नुहुनेछ  । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार