• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
देश/प्रदेश

कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले आसन्न उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, कम खर्चिलो र भयरहित हुनेमा अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याएको छ ।

 

प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीबारे जानकारी गराउँदै आयोगले नेपालस्थित कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमसहितका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि र विकास साझेदारलाई उपनिर्वाचन अवलोकनका लागि आह्वानसमेत गरेको छ । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित तुल्याउन सम्पूर्ण सबै तयारी पूरा गरिसकेको जानकारी दिए ।

 

आचारसंहिता अनुगमनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र उम्मेदवार रहेका दलहरु सम्मिलित आचारसंहिता अनुगमन समिति गठन गरिएको जानकारी दिँदै उनले हालसम्म आचारसंहिता उलङ्घन र  प्रचारप्रसारका क्रममा कुनै घटना भएको गुनासो प्राप्त नभएको बताए ।
 

निर्वाचन आयुक्तको नेतृत्वमा आयोगमा उच्चस्तरीय सुरक्षा समिति रहेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानको दिन विभिन्न मतदान केन्द्रमा पुगेर मतदान प्रक्रियाबारे पर्यवेक्षण गर्न पनि कूटनीतिक समुदायलाई आह्वान गरे ।
 

स्वतन्त्र, स्वच्छ, विश्वसनीय, निष्पक्ष र कम खर्चिलो निर्वाचनका माध्यमबाट लोकतन्त्रको सुदृढीकरण र सुशासनका लागि आयोगले तेस्रो पञ्चवर्र्षीय रणनीतिक योजना तर्जूमा गरिसकेको जानकारी गराउँदै उनले यसबाट सङ्गठन पुनसंरचना, पूर्वाधार विकास र क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण, सूचना प्रविधिमा आधारित निर्वाचन व्यवस्थापनमा निकै सुधार आउने विश्वास व्यक्त गरे ।

 

प्रमुख आयुक्त थपलियाले भन्नुभयो,“रणनीतिक योजनाले राष्ट्रिय नीति र एकीकृत निर्वाचन कानून प्रणालीसहित निर्वाचन नीति र कानूनको निर्माण, आधुनिक प्रविधिमा दलको नियमन तथा व्यवस्थापन एवं निर्वाचन प्रक्रियासँग सम्बन्धित सङ्घ संस्थासंगको साझेदारी र सहकार्यलाई समेटेको छ ।”

 

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र उपनिर्वाचनको तयारीबारे छलफल कार्यक्रममा  कूटनीतिक समुदायबाट प्राप्त सुझाव र सहयोगका लागि आभार व्यक्त गरे ।

 

आयुक्त नरेन्द्र दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनप्रति देखाएको चासो र सहयोगका लागि धन्यवाद प्रकट गरे । आयोगका सचिव देवकुमारी गुरागार्इंले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको माध्यमबाट नेपालको लोकतन्त्र सुदृढीकरण र सुशासनका लागि अन्तर्राष्ट्रिय समुदायबाट भएको सहयोगको सरहाना गरे ।
 

प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य ३ पदका लागि ४३ को उम्मेदवारी परेको छ । उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जना उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार