• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

रंगकर्मी बिकास जोशीको निर्देशनमा ‘चरणदास चोर’, नारायणगढमा आज ग्राण्ड प्रिमियर

चितवन । एक महिना लामो नाट्य अभिनय प्रशिक्षण पछि रंगकर्मी तथा निर्देशक विकास जोशी निर्देशित नाटक ‘चरणदास चोर’ नारायणी कला मन्दिर, नारायणगढमा ग्रान्ड प्रिमियरका साथ मञ्चन हुने भएको छ । 

 

चरणदास चोर विरोधाभासले संकल्पित छ । नाटकमा सम्पूर्ण विषय विरोधको वरिपरि निर्माण गरिएको छ । झूटा, बदमाश, चोरहरू छन् तर तिनीहरूको सिद्धान्त पनि छ । यहाँ कानूनका अभिभावकहरू छन्, तर यसलाई बिगार्नेहरू पनि छन् । सन्त र सन्यासीहरू छन्, तर तिनीहरू पैसाको पछि लाग्छन् । धनी मानिसहरू छन्, तर हृदयबाट तिनीहरू सबैभन्दा गरिब छन् । गरिबहरु छन्, तर मनमा तिनीहरू धेरै धनी छन् । यसरी सम्पूर्ण  विषयवस्तु एकपछि अर्कोको विपरीतले उल्लेखनीय संयोजन भएको नाटक हो ‘चरणदास चोर’ ।

 

 

नाटकले एक क्षुद्र चोर, चरणदासको अशान्तिमय जीवन यात्रा देखाउँछ ।  चरणदासको पुलिसबाट भाग्ने क्रममा आफनो गुरुसँग भेट हुन्छ र उनले आफ्नो गुरुसँग चारवटा वाचा गर्छन । म कहिले सुनको थालमा खानेछैन, आफ्नो सम्मानमा हुने जुलूसको कहिले पनि नेतृत्व गर्नेछैन, कहिले कुनै देशको राजा हुनेछैन र आजीवन कुनै रानीसँग बिहे गर्नेछैन । यी वाचाहरुलाई चरणदासले पुरा गर्छन या गर्दैनन् भन्ने कुरा नाटकमा घुमाउरो तरिकाले  प्रस्तुत गर्न खेजिएको छ । 

 

हबीब तनवीरको प्रख्यात नाटक चरणदास चोरलाई आशन्त शर्माले नेपाली अनुवाद गरेका हुन । विष्णु माया विश्वकर्मा, गोविन्द अधिकारी, मुकुन्द खलपात्र, पवन श्रेष्ठ, सुमन गहतराज, सुनिल ढुङ्गाना, अञ्जना थपलिया, विवेक तिवारी, कृपा अधिकारी, कुशल घिमिरे, निशु मगर, सलिना वाग्ले, सुमित आचार्य, विकाश रसाईली, विकास ढकालको नाटमा अभिनय रहेको छ । 

 

निर्देशक जोशीले यसअघि आरोप, सकेको तिरैला नत्र फिरीमा, स्वप्निल स्वप्न नगरी जस्ता नाटकहरूमा निर्देशन गरिसकेका छन् ।  नाटकको नियमित मञ्चन भने पुस महिनाबाट शुरु हुने निर्देशक जोशीले बताए । 

 

नाटक आज नारायणी कला मन्दिर, चितवनमा दिउँसो ३ः३० बजे प्रिमियर हुँदैछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार