• सोमबार ८-३०-२०७६/Monday 12-16-2019
अन्तर्वार्ता

‘प्रदेश सरकारले कानुन नवनाउँदा दिर्घकालिन योजनाहरु अघि बढ्न सकेनन्’   

गैडाकोट । गैडाकोटको मुहार फेर्ने कसम खाएर चुनाव जीतेका गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले जिम्मवारी सम्हालेको तीनबर्ष हुँदैछ । पौडेलले चुनावको समयमा आफुले भनेका वाचा पुरा गर्न लागि परेको सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएका छन । प्रयाप्त अवसर र सम्भावनाहरु भएको गैडाकोट नगरपालिकाले सोचे अनुरुप फड्को मार्न नसकेको आमनगरवासीको गुनासो छ । प्रश्स्त कृषियोग्य जमिन भएर पनि आधुनिक कृषि प्रविधीमा फड्को मार्न बाँकी छ ।

 

एकिकृत ढंगबाट पूर्वाधार विकास, सीप, क्षमता विकास गर्दै आयमूलक कार्यक्रमहरुमा नगरपालिकाको ध्यान पुग्न जरुरी छ । सिमीत बजेट, भौगोलिक बिकटता जस्ता चुनौती अहिले पनि प्रश्स्तै छन । सम्बृद्ध नगर निर्माणको अभियान कसरी अगाडी बढ्दैछ भनेर फ्रेसन्युज नेपालले गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल सँग गरेको योे कुराकानीको सार : 


नागरिकको घर दैलोमै सरकार पुगिसक्यो । झण्डै तीनबर्ष हुन लाग्यो काम गर्ने थाल्नुभएको स्थानीयहरुसँगको  भेटघाटमा कस्तो प्रतिक्रया पाउनु भयो ? 
त्यतिबेला देशमा संक्रमण थियो । बिभिन्न समस्याहरुसँग जुध्दै यहाँसम्म हामी आइपुगेका छौं । एक हिसावले भन्ने हो भने राजनीतिक मुद्दा अब सकिएको छ । राज्यको संरचना नै फेरिएको छ । तीन तहका सरकारले काम गर्ने थालेका छन । यो अभ्यास हाम्रा लागि नयाँ थियो । यसमा केही जटिलताहरु पक्कै भए । काम गर्दै जाँदा हामी यस प्रक्रियामा बिस्तारै घुलमिल हुदैछौं । म माथी जनताले जुन अपेक्षा गरेका थिए त्यसलाई विफल हुन दिन्न । अहिले काम गरेर देखाउन समय भएकाले मैले मेरो तर्फबाट सक्दो प्रयास जारी राखेको छु । नगरबासीको चाहना नगरलाई समृद्ध बनाउने हो र त्यसतर्फ योजना बनाएरै हामी अघि बढेका छौं । अहिले जुन रुपमा काम भईरहेको छ त्यसमा नगरवासी पनि सन्तुष्ट भएको मैले महशुस गरेको छु । हामीले समस्याहरुलाई हल गर्दै अगाडी बढ्ने हो । अब देशको गन्तव्य भनेको सम्बृद्धी नै हो । 


सम्बृद्धी नारामा मात्रै सिमीत भयो भन्ने जनताको गुनासो छ । समृद्ध गैडाकोट अभियानले तीब्रता पाएन । यसमा गैटाकोटका सिमीत वडाले मात्रै फाइदा लिए भन्ने पनि सुनिन्छ । किन यस्तो भयो ?
समानुपातिक हिसाब बाटै काम अघि बढेको छ । सडक नपुगेका क्षेत्रमा सडक बन्ने क्रम तीब्र छ । हर्दि केलादी, ढोडेनीमा विगतमा जुन समस्या थियो अहिले त्यस्तो छैन र विकासका कामहरु तीब्र रुपमा अघि बढेका छन । पिछडिएका भनेका क्षेत्रमा विजुली बत्ती पुगेको छ । सडकको अवस्थाको कुरा गर्ने हो भने अहिले धेरै सुधार भईसकेको छ ।

 

समृद्ध गैडाकोट महा–अभियानमा सबैलाईसँगै लिएर जान खोजेका छौं । दैवीप्रकोप संवेदनशील क्षेत्र, विपन्न परिवारहरुको समेत पहिचान गरि कार्यक्रमहरु अघि बढेका छन । कृषि उत्पादनको प्रचुर सम्भावना भएका क्षेत्रलाई थप प्रविधि मैत्री बनाएर आधुनिक कृषि प्रणालीको बिकास गर्नुपर्छ भनेर काम अघि बढेको छ ।

 

गैडाकोट नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम अन्र्तगत पिछडिएका समुदायलाई मुलधारमा ल्याउने पहल गरेको छ । महिला तथा युवालाई स्वरोजगार बनाउने सवालमा पनि नगरपालिकाले अर्थ उपार्जनका कामहरुलाई पहिलो प्रथमिकतामा राखेको छ ।


युवाहरुलाई स्वरोजगार बनाएका छौं, प्रश्स्तै कार्यक्रमहरु छन् भन्नुभयोे, नवलपुर कै हकमा पछिल्ला तथ्याकंहरु हेर्ने हो भने बैदेशिक रोजगारमा जाने युवाको संख्यामा त कमी आउन सकेको छैन नी ?
नवलपुरमा मात्रै होइन देशभरबाट युवाहरु बाहिरीने क्रम रोकिएको छैन । यो क्रम विगतदेखि नै थियो र तत्काल रोक्न सकिदैन । हाम्रो समाजमा विदेश जाने कुरालाई सामाजिक प्रतिष्ठाको रुपमा हेर्ने गरिएको छ । जुन गलत हो भन्छु । हातमा केहि सिप छ र पढेको छ छ भने विदेश नै जानुपर्छ भन्ने छैन । यो क्रम रोक्न सबैको पहल जरुरी हुन्छ । मैले विदेशका केही ठाउँहरुको भ्रमण गरे, त्यहाँका युवाहरुसँग कुराकानी गरे । उनीहरु स्वदेशमा काम गर्नुपर्छ भन्नेमा अडिक रहेको मैले पाए । तर हाम्रा युवाहरुमा धैर्य कम देख्छु । आलोचना बढी गर्न काम नगर्ने देखिन्छ । यसले कसैको हित हुँदैन । 

 

युवा जमातमा धेरै हतारो देखिन्छ । स्वदेशमा केहि गर्ने सकिन्न भन्ने होइन । अहिले युवा लक्षित कार्यक्रमहरु छन । नगरपालिकाले युवाका लागि भनेर प्रश्स्तै कार्यक्रमहरु ल्याएको छ । तर युवाहरुको यसतर्फ चासो कम छ । तपाई नै देख्नसक्नु हुन्छ गैडाकोट नगरपालिका भित्र कति जग्गाहरु खाली छाडिएको छ । हामीले काम गर्नेहरुलाई वीउ लगायतका प्राविधिक सहयोग गर्दै आएका छौं ।

 

प्रतिफल दिनका लागि भएको जग्गामा उत्पादन लगाउनु पर्‍यो नी । विरोधका लागि मात्रै विरोध गरेर पनि भएन । काम गर्ने इच्छा शक्ति हुनुपर्‍यो । केहि युवाहरुले फलफूल, घाँसका कार्यक्रमहरु अघि बढाएका छन । उनीहरुका लागि पानी तान्ने बोरिङ र आवश्यक प्राविधिक उपकरण वितरणको प्रक्रियाहरु महानगरपालिकाले अघि बढाईदिइसकेको छ । युवाहरुले नै बढी चासो दिए भने हामी उनीहरुलाई आवश्यक सिप तथा उपकरणहरुमा सहयोग गर्न तयार छौं ।


दुघ, तरकारी लगायतका उत्पादनले बजार पाउन नसकेर सड्कमा फाल्ने किसानहरु पनि यही छन् । किसानका उत्पादनले बजार पाउँछ भनेर ढुक्क हुने वातवरण अझै पनि छैन । किन यस्तो ?
विरोध किन गरिन्छ अचम्मको कुरा यही छ । उत्पादनले बजार पाउँछ । ढुक्क हुनुहोस काम गर्नु पर्‍यो आलोचना गरेर मात्र हुँदैन । एक दुईवटा हल्लाको पछि लागेर हुँदैन । आत्मनिर्भर हुने बाटोमा हिडन खोज्नु पर्‍यो । म स्वस्थ आलोचना गर्दै काम गरौ भन्छु  । गैडाकोटको वडा नं ३ र १८ मा सुन्तला, कागती र केरा खेतीमा प्रश्स्त सम्भावना छ । तर युवाहरुमा काम गर्ने उत्साह देखिदैन । काम गर्ने जनशक्ति छैन । युवाहरु त्यस क्षेत्रमा जान तयार छैनन् । नगरपालिकाले काम गर्न चाहने युवालाई प्राविधिक उपकरण, वीउ लगायतमा सहयोग गर्दै आएको छ । अन्य युवाहरु पनि यस्ता कार्यक्रममा सहभागी हुुनुपर्छ भन्ने हाम्रो जोड हो ।


गैडाकोटको १८ नं वडामा चुन र कोइला खानीको सम्भावना छ भनेर प्रचारप्रसार गरियो अहिले के हुँदैछ ? उत्खन्नको प्रक्रिया कहाँ पुग्यो ?
यसको अधिकार हामीलाई छैन । प्रदेश सरकारलाई यसका बारेमा जानकारी गराइएको छ । उत्खन्नको प्रक्रिया अघि बढेको छैन । हामीलाई अधिकार दिइएको छैन । अधिकार दिनुपर्‍यो । अधिकार जति संघमा छ । यो स्थानीय स्तरमा हुनुपर्‍यो तव मात्र काम हुन्छ । 


‘कालिगण्डकीको पानी गैडाकोटको लगानी’ नारामा मात्र सिमीत भयो ? यो प्रक्रिया पनि बिचमा नै रोकिएको हो ?
यसमा लगानीकर्ता साथीहरुले चासो दिनुभएको थियो । काम अगाडि बढाउने सन्र्दभमा धेरैको चासो थियो । मानौ ६० मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ । यहाँ हुन्छ काम गरौं न त भन्न सक्ने कानुन छैन । संघीय र प्रदेश सरकारले कानुन नवनाउँदा दिर्घकालिन योजनाहरु अगाडि बढ्न सकेका छैनन् ।

 

संघ र प्रदेशसँग समन्वय गर्दै दिर्घकालिन महत्वका पूर्वाधार र विकासमा जोड दिन पहल गरेका छौं । अब सकेसम्म कानुनहरु छिटो बने भने दिर्घकालिन महत्वका आयोजनाहरुका कामले तीब्रता पाउथ्यो । यसतर्फ हामीले संघ र प्रदेशलाई भन्दै पनि आइरहेका छौं । कालिगण्डकीबाट बिद्युत निकाल्ने कुरा पनि हामीले यहाँबाट निर्णय गरेर पठाइसकेका छौं ।


गैडाकोटलाई शैक्षिक केन्द्रको रुपमा अगाडि बडाउने भनिएको थियो, नेपाल बिश्वबिद्यालय बनाउने भन्ने कुरा पनि थियो, यसको प्रक्रिया कहाँ पुग्यो ? 
केही शिक्षाविद्हरु यसको पहलमा तीव्र रुपमा लागिरहनु भएको छ । भवन निर्माण गर्ने कुरामा समस्या छैन । हामीलाई चाहिने आवश्यक जमिनमा पनि कुनै समस्या छैन । नवलपुरमा प्रश्स्त जडिबुटीको सम्भावना छ । जडिबुटी प्रशोधनको पहल गर्ने क्रममा छौं । कलिका संस्कृति बिद्यापीठलाई आर्युवेद शिक्षण संस्थाको रुपमा बिकास गर्ने हिसाबले काम हुँदैछ । 

 

प्रस्तुति : देवी सापकोटा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार