• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

‘फुटबल संगै चलचित्र पनि हेर्छु’

नेपाली राष्ट्रिय फुटबल टोलीमा भिन्न स्थान बनाएका खेलाडी हुन् राजुकाजी शाक्य जो पछि नेपाली टोलीको कप्तान पनि बने । शाक्यले दुईपटक दक्षिण एसियाली खेलकुदको फुटबल तर्फ सन् १९९३  को संस्करणमा आफ्नै कप्तानी सहित स्वर्ण पदक पनि जिते । राजूकाजी शाक्यको बुझाईमा फुटबलमा सफलता हासिल गर्न केही मन्त्र चाहिन्छ । पछिल्लो समय फुटबल प्रशिक्षणमा व्यस्त शाक्य एक फुटबल समर्थक पनि हुन् । उनी आफुलाई मनपर्ने र राम्रा टोलीका खेलहरु हेर्न छुटाउँदैनन् । फुटबल संगै समयले भ्याएसम्म चलचित्र हेर्न रुचाउँछन् शाक्य । राजुकाजी शाक्यलाई मन परेका यी पाँच चलचित्र :

 

परालको आगो

 

प्रताब सुब्बाले निर्देशन गर्नुभएको यस चलत्रिचको कथा त्यति धेरै याद छैन तर त्यतिबेला यो चलचित्रको कुरै बेग्लै थियो । त्यसबेला चलचित्र बन्नु भनेको नै ठुलो कुरा थियो । यो चलचित्र मैले  ब्याल्क एण्ड ह्रवाइटमा हेरेको हुँ । बसुन्धरा भुषाल र टंक शर्माको अभिनय मन छुने खालको थियो । त्यतिबेलको बसुन्धरा भुषाल जीको अभिनय र अहिलेको अभिनय हेर्ने हो भने आकाश पातालको फरक देखिन्छ ।


माइतीघर 

 

यो धेरै पुरानो चलचित्र हो । मलाई चलचित्र भवनको नाम त ठ्याक्कै याद छैन तर त्यतिबेला यो चलचित्र हेर्दाको माहोल नै अर्कै थियो । त्यतिबेलाको कलाकारहरुको अभिनयको तारिफ जति गरेपनि कम नै हुन्छ । कलाकार सिपी लोहनी, माला सिन्हाको अभिनयको त म फ्यान नै भएको थिए । चलचित्रको गीत संगीत पनि एकदमै मज्जाको थियो । ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर माईतीघर’ भन्ने गीत त म अहिले पनि गुनगुनाउँछु । 


साईने

 

उगेन छोपेलले निर्देशन गर्नुभएको यो चलचित्र पनि कुनै जमानामा एकदमै चलेको चलचित्र हो । भुवन केसी, डैनी र तृप्तीको अभिनय चलचित्र बेजोड थियो । रन्जीत गजमेरको गीत संगीतको त कुरा जति गरेपनि कम हुन्छ । चलचित्रको कथा नै एकदमै भिन्न खालको बनेको थियो । मलाई यसमा सबैभन्दा मन परेको पात्र भनेको डैनी नै हो । 


सम्झना 

 

चलचित्रमा भुवन केसी र तृप्ती नाड्करको जोडी एकदमै सुहाएको थियो । शम्भु प्रधानको निर्देशनमा बनेको यो चलचित्रको कथा पनि केही भिन्न नै थियो । अहिले सम्झन त गाह्रो नै हुन्छ तर त्यतिबेला यो चलचित्रको चार्म नै भिन्न थियो । अहिले पनि यस चलचित्रलाई प्रदर्शन गर्ने हो भने चलचित्र नर्हेने कमै हुन्छन् होला । चलचित्रमा मुरलीधरले पनि एकदमै राम्रो अभिनय गरेका थिए । 


छक्का पञ्जा

 

बैदेशिक रोजगारीको कथालाई एउटा सरल ढंगबाट प्रस्तुत गरिएको छ । चलचित्रको संवाद नै यसको गहना हो र यसको वास्तविक घटना र हास्यप्रधान संवादहरुले चलचित्र हेरुन्जेल रमाइलो बनेको छ । सबै कलाकारहरुको अभिनय बेजोड छ । एउटा पारिवारिक हास्यप्रधान चलचित्र बनेको छ । म चलचित्रमा माग्ने बुढा अर्थात केदार घिमीरेको अभिनयबाट एकदमै प्रभावित भए ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार