• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

किन गरिन्छ बेबी सावर

काठमाडौं । नेपाली समाजमा विवाह, विवाह उत्सव, जन्मोत्सव, पास्नी, गुन्यूचोली, छेवार अर्थात कपाल खैरने जस्ता शुभकार्यमा रमाइलो गर्ने, सेलिब्रेसन मुडमा रमाउने प्रचलन छ । यस अवसरमा उपहार साटासाट गर्ने, मिठो परिकार खाने र आर्शिवाद दिने चलन नौलो होइन । तर हिजोआज ‘बेबी सावर’ अर्थात गर्भिणी अवस्थामा खुशी साटासाट गर्ने चलन बढ्न थालेको छ । 

 

गोदभराई भनेर मनाउने गरिएको ‘बेबी सावर’ नेपालमा दही–च्यूरालाई सगुन मानेर खुवाउने पनि भनिन्छ । गर्भावस्थाको अन्तिम समयमा स्वस्थ्य बच्चा, गर्भवतीलाई आत्मविश्वास र कुशलताको कामना गर्दै मिठो परिकार खुवाउने, उपहार दिने र आर्शिवाद प्रदान गर्ने चलन नेपाली समाजमा सामान्य बन्दै गएको छ । 

 

गर्भाधारनदेखि मृत्युसम्म हिन्दुधर्मका १६ संस्कारमा ‘बेबी सावर’ बारे कतै उल्लेख नभएपनि नेपाली समुदायमा यसले स्थान पाउन थालेको छ । ज्योतिष डा.सुनिल सिटौला भन्छन्, ‘हिन्दु संस्कारमा बेबी सावर कहिं कतै उल्लेख छैन् तर दही चिउरा खुवाउने चलन यथाकदा छ,’ उनले भने, ‘गर्भाधारनको आठ महिना पुगेपछि सामान्यत बेबी सावर मनाउने चलन नेपाली समाजमा फेसन जस्तै बनेको छ ।’

 

नेपाली महिलाहरु गर्भावस्थामा पेट नदेखियोस, कसैले थाहा नपाओस भन्न रुचाउँछन् । पेट अनुरुपकै कपडा पहिरिएर त्यसमाथि बर्को र सलले ढाकेर हिंड्ने चलन छ । तर प्राकृतिक नियमलाई छेकेर नसकिने भन्दै बेबी सावर सेलिब्रेसन गर्ने र सामाजिक संजालमा फोटोहरु अपलोड गर्ने परम्पराको विकास हुँदै आएको छ ।

 

नेपाली संस्कारमा सन्तान जन्मने भएपछि खुसी मनाउने प्रचलन छ । त्यसलाई दही–चिउरा खुवाउने संस्कारका रुपमा लिए पनि विस्तारै यसलाई बेबी सावरका रुपमा रुपान्तरण गरिएको हुनसक्ने समाजशास्त्रीहरुले अनुमान गर्छन ।

 

स्वास्थ्य बच्चा, सफल र सहज प्रस्तुतीको कामना सहित बेबी सावर सेलिब्रेशन गर्नुलाई सकरात्मक मान्नुपर्ने समाजशास्त्रकी स्नाकोत्तर विद्यार्थी निरु सापकोटाको धारणा छ । तर यस्तो चलन र खिचिएका तस्विरहरुले मनोबैज्ञानिक असर पु¥याउन सक्ने पनि अनुमान गर्न थालिएको छ । बच्चा जन्मिएपछि विवाहित जोडीको सम्बन्ध विच्छेद भएमा महिलाहरु नकरात्मक असर पर्नसक्ने अनुमान गर्न पनि थालिएको छ । 

 

अमेरिकी समाजमा बेबी सावर मनाउन अनिवार्य जस्तै छ । विशेष गरी पहिलो बच्चा जन्मनुअघि यस्तो खुशीयाली साटासाट गर्ने चलन छ । गर्भ बसेको ६ वा ८ महिनामा मनाइने बेबी सावर क्यानाडा, न्यूजिल्याण्ड, बेलायत, अष्ट्रेलिया, ब्राजिल लगायतका देशमा सामान्य तर अनिवार्य मानिन्छ । बच्चाको आमा मात्र होइन बाबुलाई पनि यसमा सामेल गराएर रमाइलो गर्ने चलन छ । 

 

आफन्त र साथीहरुले यस्तो सेलिब्रेशन आयोजना गर्दा र ‘मदर टु वी’ वा ‘फादर टु वी’ लेखिएको स्यास(रिबन) लगाइदिने गरिन्छ । क्राउनले सजाइदिने गरिन्छ । सेलिब्रेशन स्थलमा रंगीचङ्गी बेलुन, बच्चाको कपडा, काल्पनिक तस्विर, झिलीमिली बत्तीले झकिझकाउ पारेर केट काटेर खुवाउने गरिन्छ । सफल आमा बन्न प्रेरित गरिन्छ । गर्भवतीलाई खुशी बनाउन, आत्मविश्वास वा मनोबल बढाउन साथै आर्शिवाद प्रदान गर्न यस्तो पार्टीको आयोजना गर्ने गरिन्छ ।

 

बेबी सावर मनाउँदा उपहार दिने चलन छ । बच्चाको कपडा, बेबी ब्ल्याङकेट, गाउन, बेबी सुज, गुडीया, डाइपर्ट आदि उपहार दिने चलन छ । जन्मनुपूर्व बच्चाको लिङ्ग पहिचान भए सोही अनुरुप उपहार दिने गरिन्छ । बेबीको लिङ्ग पहिचान नभए दुईवटा केक काटेर खुवाउने गरिन्छ । छोरा भए हरियो र नीलो अनि छोरी भए रातो या गुलाबी रङको केक काट्ने चलन छ । चकलेट, क्यान्डी, आइसक्रिम, पौष्टिक आहारहरु पनि उपहार दिने गरिन्छ । 

 

बेबी सावर नेपाली समाजमा विस्तारै संस्कारको रुपम लिंदै गएको छ । नेपालमा भन्दा विदेशमा बस्ने नेपालीहरु बेबी सावरलाई सार्वजनिक रुपमै भब्य कार्यक्रम गरेर मनाउने गरेका छन् । नेपालमा पनि कलाकार तथा सर्वसाधारणमा पनि यसको क्रेज बढ्दै गएको छ । रेष्टुरेन्टहरुले यसका लागि विशेष प्याकेज नै बनाएर सेवा दिने गरेको पाइन्छ । 
 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार