• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

ल्याण्डलाइन र एडिएसएलको ब्याट्रीमा समस्या

भोजपुर । जिल्लाको षडानन्द नगरपालिका–७ मा रहेको टेलिकमको टावरमा जडान गरिएका ल्याण्डलाइन र एडिएसएलको ब्याट्रीमा एक समस्या आएको छ । विद्युत् लाइन जानेबित्तिकै सेवा अवरुद्ध भएपछि पटकपटक समस्याका बारेमा जानकारी दिँदा पनि टेलिकमले कुनै प्रयास नगरेको जिल्लावासीको गुनासो छ ।  

 

फोन तथा इन्टरनेटको सेवा अवरुद्ध हुने बित्तिकै दैनिक काममा समेत अवरोध हुने गरेको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा लोक सेवा, शिक्षक सेवा, डिभी फाराम भर्नेलगायतका सेवा प्रदान गर्न समस्या आएको सुवास ट्रेड लिंकका सञ्चालक सुवास कठेतले बताए । जिल्लावासीले इन्टरनेट र फोन सेवा नियमित नहुँदा अनावश्यक शुल्क तिर्नु परेको बताएका छन् । चाहेको समयमा सेवा उपभोग गर्न नपाउँदा पनि सेवा शुल्क तिर्नुपरेको होटल व्यवसायी पवन राईको गुनासो छ । 


नेपाल टेलिकम खाँदबारीका प्रमुख राधारमण भट्टराई प्राविधिक काम सबै धनकुटा टेलिकमले हेर्ने भएकाले धनकुटामै सम्पर्क गर्नुपर्ने भन्दै जिम्मेवारीबाट पन्छिन खोजेका छन् । नेपाल टेलिकम धनकुटाले भने समस्याका बारेमा समयमा जानकारी नआएकाले यो समस्या समाधान गर्न नसकिएको बताएको छ । 

 

विराटनगर टेलिकम कार्यालयसँग समन्वय गरेर तीन÷चार दिनभित्रमै ब्याट्री व्यवस्थापन गरेर समस्या समाधान गरिने धनकुटा टेलिकमका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिए । चार वर्षअघि सेवा जडान गरिएको जिल्लामा ९६ वटा ल्याण्डलाइन र एडिएसएलको पोष्ट जडान गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार