• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

डिभी परेर वडाध्यक्ष परिवारसहित अमेरिकामा, पाँच महिनापछि इमेल मार्फत राजीनामा

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ ।

 

चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामा समेत नआएपछि त्यहाँ उपनिर्वाचन समेत नहुने अवस्था रहेको जनाइएको छ ।

 

वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो । अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए ।

 

निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताए । उक्त वडामा उपनिर्वाचन हुन शुरूदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ ।

 

अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका हुन । उडेको पाँच महिनापछि मात्र घिसिङले गाउँपालिकामा इमेल मार्फत राजीनामा दिएको गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिए ।

 

शुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिएका वडाध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिकामै रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि राजीनामा दिन बाध्य भएर इमेलमा राजीनामा पठाएको उनको भनाइ छ । उनले भने, “घिसिङले इमेल मार्फत त राजीनामा पठाए, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गरे ।”

 

भदौमा इमेल मार्फत राजीनामा दिएका घिसिङको असोजको आधाआधीमा पनि लिखित राजीनामा नआएको जनाइएको छ । असोजमा उम्मेदवार छनोटको तीव्र तयारी भइरहेको तर राजीनामा नआउँदा उपनिर्वाचन गराउन समस्या रहेको बताइएको छ ।

 

देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार