• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
रंगमञ्च

‘म निर्देशकको स्क्रिप्ट अनुसार काम गर्न सक्दिन’

रंगमञ्चको यात्रा
म काठमाडौं नृत्य सिक्न भनेर आएको थिए । नृत्य भन्दा अभिनयमा मेरो लगाव बढ्न थाल्यो । कक्षा ६ मा पढ्दा रंगकर्मी राजन खतिवडाले म र मेरा केही साथीहरुलाई वर्कसप दिनुभएको थियो । केहि साथीहरु मिलेर सानो टिम बनाएका थियौं । कहिलेकाँही आक्कल झुक्कल केही स्ट्रिट कार्यक्रमहरु पनि गर्ने गरेका थियौं ।

 

त्यतिबेला म काठमाडौं छिर्दा मेरा लागि यो नौलो शहर थियो । म राजन खतिवडा सरलाई भेट्न मण्डला पुगेको थिए । त्यतिबेला मेरो भाग्य भनौं या अरु नै केही मेरो भेट कलाकार दयाहाङ राई सँग भयो । दयाहाङ राईले मलाई एउटा स्क्रिप्ट पढ्न दिनुभएको थियो । यसरी नै म मण्डला थिएटरका कलाकाहरुसँग पनि बिस्तारै  नजिक हुन थाले । भगवानले साथ दिएको भने जस्तै मैले ‘चरणदास चोर’ भन्ने नाटक गर्ने मौका पाए । यो मेरो पहिलो नाटक थियो । यहीबाट मेरो रंगमञ्चको  यात्रा सुरु भएको हो । म रंगमञ्चमा आएको आज दश वर्ष भयो । 

 

थोरै समयमा धेरै चर्चा 
मैले थोरै समयम यती धेरै चर्चा कमाउँछु भन्ने सोचेको थिइन । म साधारण जीवन नै बाच्न मन पराउँछु । म आज जुन नाजिर छु त्यो हुन्छु जस्तो मलाई फिटिक्कै लागेको थिएन । मैले चलचित्र सोचेको पनि थिइन । मेरो मनमा केवल नाटक गर्ने हो भन्ने मात्र थियो । मलाई सौगात मल्ल, सरिता गिरी लगाएतका कलाकारहरु हेर्दा लाग्थ्यो कि उनीहरु चुम्बक हुन भने हामी फलाम हौं ।

 


 

 


 

कलाकार कि रंगकर्मी 
रंगकर्मीको हिसाबमा मैले अझै धेरै कुराहरु सिक्नु छ जस्तो लाग्छ । म अझै नाटकमा पोख्त भइसकेको छु जस्तो लाग्दैन । हामीले जति सिक्छौं हामीलाई त्यति आउँदै जाने हो । अब कामको हिसाबल भन्ने हो भने म आफुलाई कलाकार भन्न रुचाउँछु । 

 

नाटकमा अभिनय 
मैले अहिलेसम्म २० भन्दा बढि नाटकमा अभिनय गरे । मलाई सबैभन्दा मन परेको नाटक ‘माथापञ्चर’ हो र फेरी गर्न मन लागेको नाटक ‘जम्पिङ र्फग’ हो । 

 

नाटकको भविष्य 
राणाकालमा थिएटर भन्ने वित्तिकै निक्कै राम्रो मानिथ्यो । तर, अहिले त्यत्तिको छैन । नाटक वास्तविकता हो । कतिपयले चलचित्रभन्दा नाटक हेर्नु भन्छन् । काठमाडौंमा बसेकाहरुले केही बुझेका छन् तर उपत्यका बाहिरका दर्शकहरुले यसको बृहततालाई नबुझी सडक नाटकमात्र बुझ्ने गर्छन् । यसको गहिराई बुझ्नु आवश्यक छ जस्तो लाग्छ । अहिले धेरै कुराहरु परिमार्जित भएका छन् ।

 

नाटक र चलचित्रबाट पारिश्रमिक 
पहिला नाटक खेलेपछि दाल भात खाने पैसा उठ्थ्यो भने अहिले नाटकको स्तर अलि बढेको छ । सबैभन्दा खुशीको कुरा भनेको कलाकारहरुले पहिले जस्तो आफनो पारिश्रमिक कम भयो भनेर चित्त दुखाउन पर्दैन । तर पनि रंगमञ्चमा भन्दा चलचित्रमा नै पारिश्रमिक धेरै पाइन्छ । 

 

 


 

बिदेश यात्रा 
एक समय थियो बिदेश जाने अवसर आयो कि सुटिङ पर्ने । तर अब त्यस्तो छैन । अहिले समय परिवर्तन भएको छ । म प्राय जसो देश घुमिसकेको छु ।  मलेसिया, दुबई, सिंगापुर, भारत, अष्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड लगाएत एकदर्जन भन्दा बढि देश पुगेको छु । 

 

चलचित्रहरुमा फरक भुमिका 
मलाई सुरुमा निर्देशकहरुले स्क्रिप्टको बारे भन्दा एउटा इमेज आइसकेको हुन्छ । फेरी म निर्देशकको दिमागमा आएको भन्दा अलि बेग्लै गर्न रुचाउँछु  । म आफनो क्यारेक्टर आफनै हिसाबले गर्न रुचाउँछु । म निर्देशकहरुको स्क्रिप्ट अनुसार काम गर्न सक्दिन । त्यसैले पनि मेरो भुमिका अलि भिन्न हुन्छ । 

 

सिक्स प्याक शरीरमा रुची
मलाई सिक्स प्याक नै बनाएर, निखिल उप्रेती, बिराज भट्ट जस्तो डिसुम-डासम गर्ने मन छैन  । कलाकार भन्ने बित्तिकै यहाँ पुरा बडि फिट डोले-सोले भएको हुनुपर्छ भन्ने मान्यता छ । तर साधारण मान्छे पनि त कलाकार हुनसक्छ, होइन र । आफनो पहिचान शरीरले होइन आफनो कामले बनाउने हो । शरीरमा के राखेको छ र पातलो मान्छेले नी केटी पट्याउछ् नी । 

 

 

 

लभ-अफेयर 
अहिले छैन । केही वर्ष अगाडि थियो । हाम्रो साढे तीन वर्ष जति लभअफेयर चल्यो । अहिले ब्रेकअप भइसक्यो । व्यक्तिगत रुपमा उसले आफनो लाइफ सेटल गरिसकि त्यसैले म यो बारेमा केही बोल्न चाहन्न । यो मेरो अलिकति व्यक्तिगत कुरा पनि हो । कहिलेकाही एकतर्फीबाट मात्र माया अगाडि बढाएर हुँदैन रहेछ । मेरो या उसको कुरा मिल्दैन दुबै जना सहज छैनौं भने अहिले छुटिनु र पछि छुटिनु मा केही फरक छैन । त्यत्रो ठुलो समस्या भएर ब्रेकअप भएको नी होइन । हाम्रो ब्रेकअप साधारण हो ।

 

चलचित्रमा प्रवेश
मलाई यहाँसम्म ल्याउनेमा धेरै जनाको हात छ । धेरैको साथ र सहयोगले नै आज म यहाँसम्म आईपुगेको छु । एमएस अग्रज, सुरज भुषाल, सुवाश कोइराला र सुनिल रावलको नाम चाँहि मैले लिनै पर्छ । उहाँहरुले मलाई चलचित्रमा आउन धेरै सहयोग गर्नुभएको छ । मेरो चलचित्र क्यारियरको ट्रनिङ प्वाइन्ट चाहि होस्टेल रिर्टन्स नै हो । 


मन पर्ने कलाकार 
यसमा एकदमै धेरै छन् । मलाई बिपिन कार्की र नम्रता श्रेष्ठको काम गर्ने प्रक्रिया अति नै मन पर्छ । त्यस्तै सौगात मल्ल क्यारेक्टरको हिसाबमा काम गर्नको लागि एकदमै ठिक जस्तो लाग्छ । यो त्यो भन्नु भन्दा पनि सबैजना मनपर्छ । 

 

प्रस्तुती : सुकृत नेपाल 
 


    
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार