• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

सागको सुरक्षा तयारी अन्तिम चरणमा

काठमाडौं । आगामी मङ्सिर १५–२४ नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) –२०७६ को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ । 

 

सागको  सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा छ सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । समितिले साग खेलकुद प्रतियोगिताको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

 

समितिका सदस्यमा नेपाल प्रहरीका डीआईजी दीपक थापा, सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र सेनाका सहायक रथी हिमांशु खड्का रहेका छन् भने  राष्ट्रिय खेलकुद परिषद्को वरिष्ठ कर्मचारी फणिन्द्र पौडेललाई समितिको सचिव बनाइएको छ ।

 

काठमाडौं, ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा आयोजना हुने  साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीका १४ हजार, सशस्त्र प्रहरीका छ हजार, विशेष प्रहरीका करिब दुई हजार र सेना गरी करिब २२ हजार सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।

 

नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटानका गरी पाँच हजार खेलाडी, प्रशिक्षक तथा सहयोगी कर्मचारी गरी आठ हजार जनाको सहभागिता हुनेछ । काठमाडौँमा २९, ललितपुरमा ११, पोखरामा नौ र जनकपुरमा (कुस्ती) एउटा खेल प्रतियोगिता आयोजना केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । उनले भने, ती खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन काठमाडौँमा करिब १० हजार, ललितपुरमा सात हजार, पोखरामा दुई हजार सात सय र जनकपुरमा एक हजार सातभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् ।

 

भारत र पाकिस्तानबीच काश्मीरलाई लिएर विवाद चर्किएपछि त्यसको प्रभाव खेलाडीमा पनि पर्नसक्ने भन्दै त्यसका लागि विशेष किसिमको सुरक्षा योजना तयार पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

भारत र पाकिस्तानका खेलाडी र समर्थकबीच हुनसक्ने सम्भावित हुलदङ्गाका लागि होटेल देखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा समेत विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको समितिले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार