• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेपाललाई फकाउँदै ओली, सँगै लन्च

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच झण्डै तीन महिनापछि संवाद भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब चार घण्टा छलफल भयो ।

 

प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न विहान ११ बजे बालुवाटार छिरेका थिए । उनी दिउँसो ३ बजेमात्रै त्यहाँबाट निस्किएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री निकट स्रोत अनुसार, नेपाल पुग्दा ओलीको खाना खाने समय भएको थियो। नेपाल भने खाना खाएरै गएका थिए। तर, ओलीले एउटाले खाने अर्काले हेरिरहने हुन्न भनेपछि नेपाल पनि सँगै टेबलमा बसेर केही खानेकुरा खाएका थिए। 'खाना खाने टेबलदेखि सुरू भएको गफ चार घण्टा चल्यो,' बालुवाटार स्रोतले बतायो।

 

प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधान गर्दै, एकीकरणको सबै काम सक्नुपर्ने बताएका नेपालको भनाई उद्धृत गर्दै नेपाल निकट एक नेताले बताए । ‘तपाईंलाई के के विषयमा चित्त बुझेको छैन छलफल गर्दै जाउँला, पार्टीमा तपाईंप्रति अलिकति अन्याय भयो कि भन्ने मलाई अनुभूति भएको छ’ ओलीले नेपालसँग भने ।

 

नेता नेपालले पनि आफूले व्यक्ति भन्दा पनि पद्धतिको कुरामा जोड दिएको बताएका थिए । ‘मैले पार्टी बाहेक अरु केही सोचेको छैन, जति पनि असहमति राखेको छु, पार्टीकै हितका लागि हो,’ नेपालको भनाइ उद्धृत गर्दै उनी निकट नेताले कान्तिपुरसँग भने, ‘व्यक्तिमा भन्दा पनि मेरो जोड पद्धतिमा थियो, नेतृत्वका हिसाबले त्यसमा तपाईंको भूमिका हुनुपर्थ्यो तर त्यसो हुन सकेन ।’

 

जवाफमा ओलीले यसअघि जे भएता पनि अब पार्टीमा सबैको कुरा सुन्ने वातावरण तयार पार्ने बताएका थिए । भेटपछि नेता नेपालले उनी निकटहरुसँग छलफलले राम्रै सुरुवात गरेको प्रतिक्रिया दिएका छन् । ‘धेरै विषयमा कुरा भए, ठीकै सुरुवात भएको छ, कसैलाई एक्ल्याउने भन्दा पनि हार्दिकता बढ्दा सबैलाई राम्रो हुन्छ,’ नेपालले उनी निकटस्थहरुलाई बताए ।

 

यसअघि गत भदौ ५ गते बसेको नेकपा सचिवालय बैठकमा दुई नेताबीच व्यक्तिगत स्तरमै आरोपप्रत्यारोप भएपछि उनीहरुबीच फेरि एक्लाएक्लै संवाद भएको थिएन । प्रधानमन्त्री ओली दोस्रोपटक उपचारका लागि सिंगापुर उठ्नुअघि बसेको सचिवालय बैठकमा नेता नेपालले स्वास्थ्य लाभको कामना गरेपछि ओलीले त्यसलाई इन्कार गरेका थिए । त्यसअघि साउन ३१ को नेकपा सचिवालय बैठकले नेपालको वरियता एक तह घटुवा गरेर उनलाई वरिष्ठताको चौथो क्रममा राख्ने निर्णय गरेको थियो ।

 

त्यतिबेला नेपालले विवादको बिट मार्दै प्रधानमन्त्रीलाई, ‘तपाईं (उपचारका लागि सिंगापुर) जाँदै हुनुहुन्छ, तपाईंलाई स्वास्थ्य लाभको कामना छ’ भनेका थिए। बैठकमा उपस्थित स्रोतअनुसार ओलीले तत्काल जवाफ फर्काए, ‘तपाईंले मेरो मृत्यु चाहनुभएको छ, स्वास्थ्य लाभको कामना गर्नुपर्दैन।’ नेपालले उनीनिकट नेताहरूसँग आफूले शुभकामना दिँदा पनि प्रधानमन्त्रीले चाहिँदैन भनेपछि ‘तपाईं यति निकृष्ट र आपराधिक ढंगले पनि सोच्नुहुन्छरु’ भनेर प्रश्न सोधेको बताएका थिए।

 

कात्तिक पहिलो साता मृगौलामा समस्या देखिएपछि ओली ग्राण्डी अस्पताल भर्ना हुँदा समेत नेपाल स्वास्थ्यस्थित बुझ्न गएका थिएनन्। यसअघि नेपालले गत भदौ ३ मा पार्टीका विभाग प्रमुख तथा जनवर्गीय संगठनका प्रमुखहरुको चयन र २०७५ असोजमा पार्टीको प्रदेश अध्यक्ष सचिव तथा इन्चार्ज र सहइन्चार्ज नियुक्तिको निर्णयका विरुद्धमा फरक मत दर्ता गराएका थिए ।

 

पार्टीका निर्णयमा पनि अध्यक्षद्वयको मनपरी भएको भन्दै नेपालले असन्तुष्टि जनाउँदै आएका छन्। पछिल्लोपटक सात प्रदेश प्रमुख नियुक्त गर्न अध्यक्षद्वयले आफ्ना निकट व्यक्ति छानेपछि नेपालले सचिवालय बैठकमा नोट अफ डिसेन्ट नै लेखेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार