• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

बंगलादेशका राष्ट्रपति हमिदसँग विभिन्न दलका नेताहरुले गरे भेटवार्ता

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपालका विभिन्न दलका नेताहरुले भेटवार्ता गरेका छन् ।

 

भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

 

नेपाल र बङ्गलादेश विकास र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढिरहेको प्रसङ्ग जोड्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझारूपमा लाग्नुपर्नेमा जोड दिए । नेपालको परिवर्तन र शान्ति प्रक्रियामा अध्यक्ष दाहालको  भूमिकाको उनले खुलेर प्रशंसा समेत गरे ।

 

आजै नेपाली समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग समेत भेट गरेका छन ।

 

कांग्रेस सभापतिसँगको भेटवार्तामा नेपाल र बंगलादेशबीचको सम्बन्ध थप मजबुत बनाउने लगायतका विषयमा छलफल भएको सभापति देउवाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

 

यस्तै बंगलादेशका राष्ट्रपति श्री मो. अब्दुल हमिदसँगको भेट फलदायी भएको प्रधानमन्त्री ओलीले आफनो ट्विट मार्फत बताएका छन् । उनले लेखेका छन्, नेपाल सरकार,नेपाली जनता, आफ्नो व्यक्तिगत तर्फबाट राष्ट्रपति हमिद, उनकी श्रीमती र प्रतिनिधिहरुलाई हार्दिह स्वागत गर्दछु । उहाँहरुको नेपाल बसाइ सुखद बनोस् ।

 

राष्ट्रपति हमिद  भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार