• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

‘म मान्छेहरुको चित्त दुखाउन जान्दिनँ’

गीत/कविता लेखनको शुरुवात र यसको प्रेरणा ?
मेरो प्रेरणा अथवा कसरी शुरु गरे भन्दा पनि त्यो मेरो भाग्यमा लेखिएको रहेछ । न कुनै प्रेरणा याद छ न कुनै शुरुवातको सम्झना ।

 
यो क्षेत्रमा कसरी आउनुभयो ? 
अभ्यास गर्दागर्दै सिकेको कुरा हो । शुरु शुरुमा कसरी लेख्न आयो भन्ने कुरा सायद कुनै बिरह थियो होला जुन मैले भोग्नु पर्यो । त्यसबाट मन शायद लेखनतर्फ गयो । 


गीत कविता लेखनले मात्र जिविकापार्जन चल्छ कि अरु पनि पेशा गर्नुहुन्छ ?     
मैले आफनो जीवनकालमा गीत, कविता र साहित्यलाई जोगाउनको लागि बिभिन्न कामहरु गरेँ । जसमध्य पत्रकारिता, अनुवाद, विज्ञापन एजेन्सी मार्फत कपिराइटिङ्गका कामहरु गरेर मैले मेरा कविता र गीतहरुलाई जोगाएको हो ।  


तपाईले गर्ने स्थायी/नियमित साधना के हो ?
बिहान उठेर व्याडमिन्टन खेल्न जान्छु । फर्केर आएर कागती पानी खान्छु । भात पकाउने काम गर्छु । कहि बाहिर जानुपर्ने कामहरु आयो भने जान्छु होइन भने घरमा नै बसेर लेख्ने पढ्नेको कामहरु गरिरहेको हुन्छु । यो बाहेक म कहिले घुम्न गइरहेको हुन्छु । 


तपाई अन्य कवि भन्दा अलि फरक हुनुहुन्छ रे, के हो कुरा ?
यो कुरा जसले भन्छन् उनीहरुलाई नै सोध्दा राम्रो होला । म त जे हुँ त्यहि नै हुँ । 


तपाई आफना गीत/कविताहरुलाई अरुसँग तुलना गर्दा कस्तो पाउनुहुन्छ ? 
म कसैसँग पनि तुलना गर्दिन । अरुले तुलना गर्दा कसैले प्रेमले गरेका हुन्छन् त कसैले अत्याधिक भावुक भएर गर्छन । त्यसको जिम्मेवारी मैले बोक्न मिल्दैन । म आफु आफनो क्षमताले भ्याउनेसम्म कसरी लेख्न सकिन्छ भन्ने कुराहरु मात्र सोचिरहेको हुन्छु । 


एउटा सर्जक भएको नाताले तपाईले बुझन् थालेको समय र आजको समयमा समाजमा के फरक पाउनुभएको छ ?
यसमा निश्चित रुपमा भन्नुपर्दा मैले भोगेको पहिलेको जुन समाज थियो त्यो समाज निश्चित रुपले आर्दशवादी थियो र एकआपसमा आदर प्रेम त्यतिसम्म थियो तर अहिले त्यो बदलिएर भौतिक समाज  र भर्रच्युल समाजमा परिणत भएको छ । 


अहिलकोे साहित्य, संगीत पत्रकारिता र राजनीतिलाई कसरी हेर्नुहुन्छ ? 
अहिले साहित्यमा गम्भिर रुपले काम गरिरहेका मान्छेहरु पनि छन् र सतही रुपमा काम गरिरहेका मान्छेहरु पनि । त्यसकारणले अहिले वर्तमान साहित्यलाई तुरुन्तै यो दिशातिर गइरहेको छ, त्यो दिशातिर गइरहेको छ भन्न सम्भव छैन । अहिले पत्रकारिता दुखका साथ भन्नुपर्दा, पत्रकारितामा पत्रकार त रहेनन्, किनकी दुई चारजनाले राम्रो पत्रकारिता गरेर त्यसको खासै मान्यता हुँदैन । अहिलेको समाजमा पत्रकारितालाई मार्केटिङले निर्देशित गर्ने भईसकेपछि त्यसले समाजमा के गर्छ भन्ने कुरा म व्याख्या गर्न सक्दिन । तर यसमा के हुन्छ भनेर मान्छेहरुले अनुमान भने लगाउन सक्छन् । 


अहिले नेपाली संगीत आत्मा नभएको प्राणी, फुल कुनैपनि त्यस्तो चिज हुन्छ जुन त्यो रुपमा बदलिएको छ । अहिलेको संगीतमा आत्मा छैन । अब राजनीतिको कुरा गर्नुपर्दा यो मुलुकमा राजनीति भइरहेको नै छैन । राजनीतिको स्थान यहाँ कहि पनि छैन । यहाँ जसले आफुलाई नेता भन्ने ट्याग लगाएर बसिरहेका छन् उनीहरुले जानेको भए उनीहरु मुलुकको नेता हैन प्रबन्धक हुनुपर्थ्यो । अहिले समयको माग पनि त्यहि नै हो । हाम्रो मुलुकमा राजनीति एकदमै खराब अवस्थामा छ र यो सप्रिन्छ भन्ने कुरामा म विश्वस्त छैन । यो भन्दा पनि नराम्रो ठाउँसम्म पुग्नेवाला छ । 


तपाईको आफुसंग भएको खुवी के हो ? 
म जानेर कसैको चित्त दुखाउन सक्दिनँ, नदुखाउने प्रयास गर्छु । कतै अन्जानमा चित्त दुखाएको रहेछु र पछि थाहा पाएँ भने त्यसलाई सुधार्ने प्रयास गर्छु । म मान्छेले मान्छेलाई प्रेम गर्नुपर्छ भन्ने कुरामा बिश्वास गर्छु ।


एउटा मान्छेले आफनो खुवी कसरी चिन्ने ? 
मान्छेले काम गर्दै जाँदा आफुले आफैलाई होसपुर्वक हेर्यो भने मसँग संगीत, कला, साहित्य वा राजनीति के छ, उसलाई यो थाहा हुन्छ । यसरी नै चिन्ने भनेर एउटा मापदण्ड भने मान्छेपिच्छे फरक हुन्छ । 

 

प्रस्तुति : सुकृत नेपाल 
      
 

 


 


    

  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार