• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

भक्तपुरमा बङ्गलादेशका राष्ट्रपति हमिदको जुजु धौले स्वागत

भक्तपुर । चारदिने नेपाल भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गरेका छन् । भ्रमणका क्रममा राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्न झ्याले दरबार, गोल्डेन गेट, शिव मन्दिर लगायतको अवलोकन गरे । सो अवसरमा उहाँले भक्तपुर नगरपालिकाद्वारा प्रस्तुत गरिएको माक प्याखँ नाच, देवी नाच, ख्याक नाच लगायतको अभिरुचिका साथ अवलोकन गरे ।


हेलिकप्टरबाट सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय अवतरण गरेका राष्ट्रपति हमिद दूधपाटी हुँदै भक्तपुर दरबारस्क्वायर पुगेका थिए । त्यहाँ उनलाई भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए ।

 

राष्ट्रपति हमिदले सकिमना पूर्णिमा (कात्तिक पूर्णिमा) को अवसरमा तौमढीमा विभिन्न गेडागुडीको समिश्रणबाट बनाइएको कला आकृतिको अवलोकन समेत गरे । भ्रमणका क्रममा उनले यहाँ राखिएका विभिन्न सामग्रीबारे चासो राख्नुका साथै भक्तपुर भ्रमणमा आएका बाह्य पर्यटकसँग कुराकानी गरेका थिए । राष्ट्रपति हमिदसँगै उनको धर्मपत्नीसहितको टोली नेपालको ऐतिहासिक पर्यटकीय नगरी भक्तपुरको अवलोकन गर्न यहाँ आएको हो ।

 

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र पर्यटन सूचना केन्द्रका अधिकृत दामोदर सुवालले राष्ट्रपति हमिदलाई भक्तपुरको कला र संस्कृतिबारे जानकारी गराएका थिए । उनलाई भक्तपुरको जुजु धौले स्वागत गरिएको थियो भने प्रसिद्ध मयूरको झ्याल उपहार प्रदान गरियो । राष्ट्रपति हमिदका साथ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र बङ्लादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र सहभागी थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार