• शनिबार ८-२१-२०७६/Saturday 12-07-2019
रंगमञ्च

‘म व्याकस्टेज बसेर लाइटको काम गर्न रमाउँछु’

रंगमञ्चको शुरुवात
रंगमञ्चमा लागेको लगभग पाँच वर्ष भयो । म प्राय नाटकहरु हेर्ने गर्थे । स्कुल पढ्दा देखि नै मलाई नाटक हेर्न एकदमै रुची लाग्थ्यो र भरसक कुनै पनि नाटक छुटाउँदिन थिए । मैले कक्षा १२ सकेर बिए पढ्दा पनि नाटकलाई छोड्न सकिन । मेरो ध्यान नाटकमा नै गइरह्यो ।  त्यतिबेला नाटक हेर्न गुरुकुल गइन्थ्यो । जब गुरुकुल बन्द भयो, त्यसपछि  अब नयाँ थिएटर कहाँ खुल्ने होला भनेर म खोजी हिड्थे । म भित्र दर्शक कै रुपमा पनि नाटकप्रति त्यो एउटा क्रेज चाँहि थियो । जब मलाई मण्डला खुल्न लागेको भन्ने कुरा थाहा भयो । मण्डलामा नाटक सम्बन्धी कक्षाहरु हुन्छ भन्ने कुरा मैलै पत्ता लगाइसकेको थिए । तर मलाई म रंगमञ्चमा नै लाग्छु भन्ने इच्छा भने कहिले आएन । 

 

नाटकहरु हेरिरहँदा मलाई यो पछाडि के हुन्छ भन्ने कुराले एकदमै उत्सुक बनाईरहन्थ्यो । नाटकमा एकपछि अर्को सिनहरु कसरी मिलेर आउँछ । यी कुराहरु कसरी सम्भव छ । लाइट कै कुराहरुमा पनि यो कसरी भइरहेको छ भन्ने सोच्ने गर्थे । यही उत्सुकताले मैले सुनिल पोखरेल दिन लाग्नु भएको नाटकको प्रशिक्षण कक्षा लिने सोच बनाए । त्यसैबेला ल्याब ३ मण्डलाले घोषणा गरेको थियो । मैले फेसबुक पेज मार्फत त्यो देखे र अडिसन दिए । रंगमञ्चलाई आफनो पेशा बनाउँदिन भन्दा भन्दै पनि यसमा लागेको आज पाँच वर्ष भएछ । 

 


 

लाइटम्यानको जागिर
मैलै पहिलो प्रोडक्सनमा नै म टेक्निकलमा काम गर्छु भनेर सरलाई (सुनिल पोखरेल) भनेको थिए । सुनिल सरले इच्छा पनि देखाउनु भएको थियो । पहिलो त एडी गर भनेर भन्नुभयो । त्यसपछि एडीमा पनि दिनुभएन, तिमी लाइटमा पनि अहिले काम नगर भन्नुभयो । अहिले रोल नै गर भन्नुभयो । त्यतिबेला हाम्रोमा ३० जना बिद्यार्थीमा ६ जना मात्र केटी बिद्यार्थी । जुन कथा, नाटक हामीले रोजेका थियौं, त्यसको लागी केटी पात्रहरु चाहिन्थ्यो । त्यसैले केटी पात्र कम भएको कारणले पनि पहिलोपटक मैले सुनिल सरले भन्नु भएको जस्तो नै गरे । 


पहिलो नाटक   
मैले अभिनय गरेको पहिलो नाटक ‘जार’ हो । त्यसमा मेरो सहायक भुमिका थियो । सहायक भुमिका भएको कारणले सिनहरु पनि खासै त्यति धेरै थिएन । सिन थोरै भएपनि पुरा समय नै दिनु पर्थ्यो । त्यतिबेला म काम पनि गर्थे । म दुबैतिर समय मिलाउँदै काम गरिरहेकी थिए । मैले केही माहिनाको लागी काममा पार्ट टाइम मिलाए । नाटकको लागी म जति समय चाहिन्थ्यो त्योभन्दा धेरै नै दिन्थे बरु काममा कम समय दिने गर्थे । यी सबै कुराहरुमा म उत्सुकताका साथ नै लागीरहें । नाटकमा मेरो रोल त छदैंछ त्यो संगसंगै लाइटमा पनि मेरो मन जान थाल्यो । लाइटको काम अरुले नै गरिरहेको छ भने पनि त्यो कसरी हुन्छ भन्ने कुरा म उत्सुकताका साथ हेर्थे । सेट बनाइरहेको छ भने पनि त्यो कसरी बनाइरहेको छ भने हेर्थे । अझ घरमा भनेर म दिनमा मात्र नभएर राती पनि सेटको डिजाइन हेर्न बस्थे । मलाई स्टेजमा हुने मजा जुन कलाकारलाई र दर्शकलाई हुन्छ । त्यो भन्दा बढि मज्जा मलाई ब्याक स्टेजको प्रक्रियामा हुन्थ्यो । ब्याकस्टेज काम मात्र नभएर एउटा नाटक तयार गर्ने पुरा प्रक्रियामा म रमाइरहेकी थिए । फेरी रंगमञ्चमा लाइटको काम जो कोहीले गर्न पनि सक्दैन । त्यसैले पनि मलाई लाइटमा दिनप्रतिदिन रुची बढ्दै गएको थियो । 

 


 

लाइटमा पहिलो अनुभव
मैले पहिलो पटक व्याकस्टेजमा लाइटमा काम गरेको शंकर रिजालले निर्देशन गरेको नाटक ‘एकलव्यको अन्तिम टेप’ भन्ने हो । त्यसमा लाइटको काम गरेकी थिए र म स्टेज म्यानेजर पनि थिए । नाटक सोलो पर्फोमेन्सको थियो र हामीसँग काम गर्ने जनशक्ति पनि एकदमै कम थिए । नाटकको लाइट साधारण नै छ भनेर मलाई निर्देशकले बिश्वास गरेर काम दिएका थिए । मैले यो नाटकमा लाइट अपरेटरको काम गर्ने मौका पाएकी थिए ।  

 

त्यसपछि मैले सरिता शाहले निर्देशन गरेको नाटक ‘लु’ मा लाइट अपरेटको काम गरे । यसमा पनि  मलाई लाइटको काम गर्न खासै कठिन भएन । सेटको डिजाइन पनि खासै गाह्रो थिएन । लाइट अपरेटर गर्नको लागी हात बसाउन अलि समय लाग्ने हो । यसमा पनि मैले सजिलो तरिकाले काम गरे । तर जब सुनिल पोखरेलले निर्देशन गरेको नाटक ‘जयमाया आफुमात्रै लिखापानी आइपुगी’ भन्ने आयो, पहिला त मलाई सुनिल सरले एडी गर भन्नुभएको थियो । तर मलाई एडीमा भन्दा लाइटमा नै काम गर्नु थियो । मैले मलाई लाइटमा नै काम दिनु भने र त्यहाँ मलाई लाइट कै काम दिइयो जुन मेरो लागी त्यति सजिलो भने थिएन । सुनिल पोखरेल, अनुप बराल, बिमल सुवेदीले जति पनि नाटक बनाउनु भएको छ त्यसमा अरु नाटकहरु भन्दा अलिकति डिजाइन कठिन हुन्छ भन्ने मैले सुनेकी थिए । यो हुनको कारण उहाँहरुले बनाएको नाटकको डिजाइन सानो हुँदैन । त्यो तहतहमा हुन्छ । त्यसैले नाटकको जति तह बढ्यो त्यति नै अपरेट गर्ने मान्छेलाई काम बढ्ने भयो । मलाई त कठिन नै भएको थियो । सुरुमा मैले एकदमै गाली पनि खाए । गाली खाएपनि मैले आफनो कामलाई भने छोडिन् । यो नाटकमा लाइटमा काम गर्दै जाँदा मैले धेरै कुराहरु सिक्ने मौका पाए ।  


व्याकस्टेजमा दर्शकको चासो 
मलाई व्याकस्टेजमा बसेर लाइटको काम गर्दा दर्शकबाट टाडा भए भन्ने कहिले लागेन । मेरो लागी प्रचार भन्दा पनि काम ठुलो हो । यहाँ धेरैलाई प्रचार कमाउन मन लाग्छ तर म प्रचारको भुखि होइन । मेरो शुरुबाटको रुची पनि व्याकस्टेजमा बसेर लाइटमा काम गर्ने नै थियो । रंगमञ्चमा लाग्दा मलाई म अभिनय गरेर प्रचार कमाउँछु भन्ने पनि थिएन । मलाई केवल रंगमञ्च के रहेछ र रंगमञ्चमा स्टेजका डिजाइन र लाइटको काम कसरी हुँदोरहेछ भन्ने हेर्नु मात्र थियो । रंगमञ्च नै मेरो पेशा होला भन्ने पनि मैले सोचेकी थिइन । मलाई गाह्रो काम गर्न पाउँदा एकदमै खुशी लाग्थ्यो । जब कठिन कठिन लाइटका डिजाइनहरुमा म काम गर्न पाउँथे तब मलाई एकदमै खुशी लाग्थ्यो किनभने यस्तो डिजाइनहरु हत्तपत्त पाइदैन्थ्यो । रंगमञ्चमा व्याकस्टेजमा बसेर लाइटको काम गर्नुको चार्म नै बेग्लै थियो । 

 


 

सजिलो अभिनय कि व्याकस्टेज लाइट
यसमा दुबै गाह्रो काम हो । रंगमञ्चमा अभिनय गर्नु पनि सजिलो छैन र एउटा नाटकको पुरा लाइट डिजाइन गर्ने काम पनि सजिलो होइन । अहिले मैले कुनै नाटकको लाइट चलाएर हेर्छु र मैले अभिनय  पनि गर्ने भएर र साथै मैले नाटक निर्देशन पनि गरेकी छु । यही कारणले कुनै पनि नाटक हेर्दै जाँदा यसमा केही नमिलेको हो कि, केही कुराको कमी भएकोे हो कि भन्ने पनि लाग्छ । यसमा कलाकारको काम अझै राम्रो हुन सक्थ्यो भन्ने पनि सोच्ने गर्छु । व्याकस्टेजमा बसेर हेर्दा यी कुराहरु आउँछ । लाइट अपरेटरको काम पनि सजिलो छैन र कलाकारिता पनि सजिलो छैन । आ–आफनो ठाउँमा बसेर हेर्दा दुबै उत्तिकै कठिन छ । 


लाइटम्यानको कमाई
कुनै प्रोडक्सनमा टिमका मान्छेहरु जे पाउँछन् त्यहि नै हामीलाई पनि दिने हो । तर कुनै कुनैमा टेक्निसियनलाई भने अलिकति कम नै हुन्छ । यो चाँही कुनै नाटकको रिर्हसलमा टेक्निसियन नआएपनि हुने हुनाले केही कम हुने हो । अहिले कमाई राम्रो नै हुन्छ । 

 

प्रस्तुति : सुकृत नेपाल


 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार