• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
पत्रपत्रिका

‘जुवाडे’ अस्पतालमा, कारवाही छल्ने बाहना

काठमाडौं । जुवा खेलेको आरोपमा कात्तिक ९ गते महाराजगन्जस्थित एक घरबाट समातिएका ‘जुवाडे’ मा स्वास्थ्य समस्या देखिएपछि उनीहरुमाथि कारबाही अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ। तिहारको बेला महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले २५ जनालाई एउटै घरबाट पक्राउ गरेको थियो।

 

उनीहरु बिरामी परेपछि प्रहरीले अस्पताल लैजाने र ल्याउने गरेको छ। केही बिरामीको अवस्था गम्भीर देखिएकाले अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना भएकाले कारबाही छल्न खोजेको चर्चा चलेपछि प्रहरीले त्यसतर्फ चासो दिएको छ। उनीहरुमाथि अनुसन्धानका लागि वृत्तले आइतबारै जिल्ला अदालत काठमाडौंबाट थप दुई दिनको म्याद पाएको छ।

 

दसैं तिहारका बेला प्रहरीले जुवा खेलिरहेका ६ सयजनालाई पक्राउ गरेको थियो। उनीहरुबाट ३ करोड ३० लाख १२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले सामान्य जुवाडेलाई कारबाही गरेर छाडिसकेको छ। मोटो रकमसहित पक्राउ परेका केहीले कारबाही छल्न स्वास्थ्य समस्या देखाउने गरेको प्रहरीले बताउँदै आएको छ।

 

मोटो रकमसहित पक्राउ परेका २५ जनामध्ये केही सातायता ह्याम्स हस्पिटलमा उपचाररत छन्। मोटो रकमसहित पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठ, पवित्रकुमार कार्की, बलराम सापकोटा (बले), सोहेल कार्की, पवनकुमार गुप्ता, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, शम्भुकुमार बुढाथोकी, रञ्जन राजवंशी र मुकुन्द बस्नेतको स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरिएको छ।

 

हस्पिटलमा उपचारत केहीले कारबाही छल्न त्यसो गरेको शंका भएपछि प्रहरीले अस्पतालसँग पनि सोधपुछ गरेको छ। ‘केहीले कारबाही छल्न त्यसो गरेको भेटियो भने निको भएपछि कारबाही गर्छौं,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का एसएसपी श्याम ज्ञवालीले भने। उनले केही दिन अस्पतालमा बसे पनि निको भएपछि तोकिएबमोजिम थुनामा राखिने बताए।

 

यता महानगरीय प्रहरी वृत्त महाराजगन्जले भने हिरासत छल्न सामान्य रोग देखाएर जुवाडे अस्पताल भर्ना भएको बताउँदै आएको छ। ‘प्रहरीले पक्राउ गरेपछि आत्तिएर बढी सोचेपछि सामान्य समस्या त देखिन्छ नै, त्यसैलाई ठूलो रोग बनाएर छल्ने उपाय अपनाएको देखियो, त्यसकारण अस्पताल र डाक्टरसँग सत्य कुरा बुझेर कारबाही अघि बढाउँछौं,’ वृत्तका एक प्रहरी अधिकारीले भने।

 

वृत्तका डिएसपी उमेश लम्सालले जुवाडेमा समस्या देखिएपछि अस्पताल लैजाने र ल्याउने गराइरहेको बताए। उनका अनुसार मोटो रकमसहित कारबाहीमा परेका १७ जना प्रहरी हिरासतमै छन्। उनीहरुमाथि छानबिन गरी कारबाही अघि बढाइएको छ। ‘हामीले बिरामी भएकालाई अस्पताल लैजाने र ल्याउने गरेका छौं ।

 

डाक्टरको सल्लाहअनुसार बिरामीको उपचार भइरहेको छ,’ उनले भने, ‘तर बिरामीमा त्यस्तो ठूलो रोग देखिएको छैन, सामान्य समस्या देखिएको छ। अस्पतालले पूर्ण निको भयो नभनेसम्म उपचार भइरहन्छ।’ जुवाडेसँग बयान लिइसकेको उनले बताए। ‘स्वास्थ्य समस्या देखिएकाहरुलाई निको भएपछि कारबाही प्रक्रिया थाल्छौं,’ लम्सालले भने, ‘धेरैजसो मोटो रकमसहित समातिएकाले कानुनबमोजिम कारबाही हुन्छ।’नागरिक 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार