• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

‘सिमलको रुख’ काल्पनिक स्तम्भ

बुटवल ।  पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिका–५ को भारतीय सीमावर्ती क्षेत्र अहिले घनाजंगल बनेको छ । यहाँ दशगजा कहाँ छ भन्ने न राज्यलाई थाहा छ न त स्थानीयलाई ।भारतीय पक्षले एउटा सिमलको रूखलाई सीमास्तम्भ भन्छ । सुरक्षाकर्मीले त्यहीँसम्म गस्ती गर्छन् । दुवैतर्फका किसानले त्यही रूखलाई आधार मानेर भूमि उपभोग गर्छन् ।

 

तर, सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ रूखलाई सिमाना मान्न तयार छैनन् । ‘त्यहाँभन्दा धेरै परसम्म नेपाली भूभाग हो । भारतले अतिक्रमण गरेर विवाद बढेपछि रूखलाई काल्पनिक स्तम्भ मानिएको छ,’ उनले भने, ‘राज्यको बलियो उपस्थिति र कूटनीतिक पहल नहुँदा आफ्नै भूमि जोतभोग गर्न पाएका छैनौं ।’

 

केही स्थानमा कुलेसोलाई सिमाना मानिएको छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को आडमा सीमापारिकाले नेपाली भूमिमा खेती गरिरहेका छन् । भारतीय पक्षले अहिले धनैया क्षेत्रमा नेपालीलाई खेती गर्न रोक लगाएको छ । जबकि आफूहरूसँग उक्त जग्गाको लालपुर्जा रहेको स्थानीय बताउँछन् ।

 

अभियानका उपाध्यक्ष आदम खाँका अनुसार सुस्ताको ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमध्ये १४ हजार हेक्टर अतिक्रमणमा परेको छ । एसएसबीले ०६२ सालदेखि विवादित भूमि भन्दै १९ हजार ९ सय ८० हेक्टरमा खेती गर्न रोक लगाएको छ ।

 

‘द्वन्द्वकाल थियो, सुरक्षाकर्मीको उपस्थिति थिएन । हामी भूमि बचाउन भारतीय एसएसबीसँग जुधेका थियौं,’ उनले भने, ‘विडम्बना, पछि दुवै देशका सुरक्षा अधिकारीले नेपाली लालपुर्जा भएको भूमिलाई पनि विवादित भन्दै खेती गर्न रोक लगाए । अहिले सुस्ता जम्मा ७ हजार हेक्टरमा खुम्चिएको छ ।’

 

स्थानीयका अनुसार यहाँ सरकारले ०२२ सालमा बस्ती बसालेको थियो । तर ०३४ सालमा नारायणी बाढीले डुबानमा पारेपछि उनीहरूलाई त्रिवेणी क्षेत्रमा लगियो । त्यही मौकामा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको ६५ वर्षीया दीपरानी हरिजनले बताइन् । ‘बाढी आएपछि ज्यान जोगाउन गएका थियौं,’ उनले भनिन्, ‘फर्केर आउँदा हाम्रो जमिन भारतले कब्जा गरेको थियो ।’

 

सुस्ता–५ का ओमप्रकाश चौधरीले आफ्नै साढे तीन बिघा जग्गा भोगचलन गर्न पाएका छैनन् । ‘नापी कार्यालयमा हाम्रो नाममा रहेको जग्गा अहिले भारतीयले आफ्नो बनाइसके,’ अर्की स्थानीय माधुरी भरले भनिन् ।

 

सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक भरत खनियाँले सिमलको रूखबाट वारि र पारि भन्ने गरिए पनि त्यो आधिकारिक सिमाना नरहेको बताए । ‘भारत सिमलको रूखसम्म आएपछि अतिक्रमण रोकिएको थियो,’ उनले भने, ‘अहिले त्यसैलाई आधार मानिएको छ । दुई देशबीच उच्चस्तरमा नापनक्सा गरेपछि मात्र सिमाना तय हुनेछ ।’ कान्तिपुर 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार