• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्री सचिवालय सदस्यहरुले सामूहिक राजीनामा दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सबैले सामूहिक राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।

 

प्रधानमन्त्री ओलीको सचिवालयमा काम गर्ने कर्मचारीदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेता तथा कार्यकर्ता संतुष्ट नभएको गुनासा सुनिएका थिए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव ईन्द्र भण्डारी, सचिवालयमै रहेका रामशरण बजगाईंलगायतले आगामी मङ्सिर १ गतेबाट लागु हुनेगरी सामूहिक राजीनामा दिन लागेका हुन् ।

 

'प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्ने भएपछि हामी सल्लाहकारहरूले छलफल गर्‍यौं र सामूहिक राजीनामा दिने निर्णय गर्‍यौं', सचिवालयमा रहेका एक सदस्यले भने ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् हेरफेरमा सहमति जुटिसकेको स्रोतको भनाइ थियो  ।

 

२०७५ भदौ देखि नै मन्त्रिपरिषद् हेरफेरको चर्चा चले पनि साइत भने जुरेको थिएन । मन्त्रिपरिषद् हेरफेर गरेर केही नयाँ अनुहारलाई मौका दिन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले निकै जोड दिँदै आएका थिए । तर प्रधानमन्त्री ओलीले यसलाई रोकेर राखेका थिए । अहिले दुई अध्यक्षबीच लाग्दो मङ्सिरमै मन्त्रिपरिषद् हेरफेर गर्ने समझदारी जुटिसकेको र केहीको नाम समेत तय भएको स्रोतका दाबी छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार