• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
पत्रपत्रिका

प्याड बनाएर आत्मनिर्भर

ललितपुर । ललितपुर, सानागाउँकी ३७ वर्षीया किरन महर्जन कपडाको प्याड बनाउन सिकिरहेकी छन्। दसैंअघि प्याड बनाउन थालेकी उनी अहिले आफैले बनाएका प्याड प्रयोग गर्छिन्। अहिले उनकी १९ वर्षीया छोरीले पनि कपडाकै प्याड प्रयोग गर्न थालेकी छन्।

 

‘छोरीले सुरुमा कपडाको प्याड प्रयोग गर्न हिच्किचाएकी थिइन् । तर, मैले यसबारे बुझाएपछि अहिले नियमित प्रयोग गर्छिन्,’ किरनले भनिन्। उनले कपडाको प्याड केमिकलरहित भएकाले स्वास्थ्यलाई असर नगर्ने र लगाउन सजिलो भएको बताइन्। कपडाको प्याड पुनः प्रयोग गर्न सकिने भएकाले पनि प्रभावकारी भएको उनको भनाइ छ। ‘एक पटक प्रयोग गरेको प्याड डिटोल पानीमा भिजाएर राम्रोसँग सफा गरी पुनः प्रयोग गर्छु,’ उनले भनिन्। पातलो कपडाबाट बनाइने भएकाले यसलाई डिटोल पानीले धोएर पुनःप्रयोग गर्न मिल्ने उनको भनाइ छ।

 

कपडाको प्याडको मूल्य पनि सस्तो भएको उनी बताउँछिन्। ‘त्यसैले यो मध्यमवर्गका लागि उपयोगी छ,’ उनले भनिन् । ललितपुर, जावलाखेलस्थित एक्पोज नेपालको कार्यालयमा किरनजस्तै अन्य महिला प्याड बनाउन सिकिरहेका छन्। सिकिसकेका महिलाले नयाँलाई सिकाउँदैछन्। प्याड बनाउन सिकिरहेका महिला बजारको प्याडभन्दा कपडाको प्याड प्रभावकारी भएको बताउँछन्। सुती र फ्लाटिन कपडाबाट बनाइने भएकाले यसलाई लामो समयसम्म प्रयोग गर्न मिल्ने उनीहरूको भनाइ छ। नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार