• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

चिनियाँ ह्याकरसहित ९ जना थुनामा

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथको स्विच ह्याक गर्ने छजना चिनियाँ ह्याकरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ। न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको संयुक्त बाणिज्य इजलासले एटीउम ह्याक गर्ने क्रममा पक्राउ परेका तीनजना नेपालीलाई धरौटीमा छाड्ने आदेश गरे पनि प्रहरीले विदेशी विनिमय नियमित गर्ने ऐनबमोजिम कारबाहीका लागि अभियोगपत्रमा माग गरेकाले उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकुमा पठाउने आदेश गरेको हो।


चिनियाँ ह्याकरलाई थुनामा राख्न र एकजना नेपालीलाई ३० लाख रुपैयाँ, दुई जनालाई जनही २६ लाख रुपैयाँ धरौटी माग गर्दै मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको छ। चिनियाँले एटिएमबाट निकालेको नेपाली रकम नेपाली नागरिकले युआन, डलर साटिदिने मनी एक्सचेन्जका तीनजना मुद्दामा तानिएका थिए। मुद्दामा तानिएका देवनाथ लामिछानेलाई ३० लाख रुपैयाँ, रोशन प्रधान श्रेष्ठ र रेवती दुवाडीबाट जनही २६ लाख रुपैयाँ नगद वा, जेथा जमानी दिएमा पुर्पक्षका लागि धरौटीमा छोड्न आदेश भएको हो।

 

उनीहरूलाई पुर्पक्षका लागि धरौटीमा छोड्न आदेश भएपनि विदेशी विनिमय नियमित गर्ने ऐन बमोजिम कार्वाहीको लागि प्रहरीले अभियोगपत्रमा माग गरेकाले कारण तीनैजनालाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको पाटन उच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। झु लियाङगाङ्समेत ६ जना चिनियाँ नागरिकको अनुसन्धानको समयमा भएको बयान, उनीहरु बसेको होटल कोठाबाट बरामद भएका कार्ड, एटिएम बुथबाट रकम निकाल्दै गरेको सीसीटिभी फुटेज, नगद रकमबाट अभियोग दाबी पुग्ने भएकाले थुनामा राख्न आदेश भएको छ।


गत भदौ १४ मा एटिएमबाट पिन ह्याक गरी रकम निकालेर भाग्न लाग्दा प्रहरीले ५ जना चिनियाँलाई दरबारमार्गबाट पक्रेको थियो। चाइना एयरबाट काठमाडौं आएका ५ जना चिनियाँ नागरिकले विभिन्न बैंकका एटिएम बुथमा प्रवेश गरी पिन ह्याक गरेका थिए। प्रहरीले ४० वर्षीय लु जियालिङ, ३५ वर्षीय चेन विनविन, ३२ वर्षीय झु लियाङगाङ, ३० वर्षीय क्यु याङयिङ, २९ वर्षीय लिन जिनमिङलाई पक्राउ गरेको थियो। उनीहरूकै बयानका आधारमा प्रहरीले विमानस्थलबाट अर्का एक चिनियाँ मुलका फ्रान्सेली नागरिक सु लुसलीलाई पक्रेको थियो।

 

उनीहरूले उच्च प्रविधिमार्फत पिन ह्याक गरी १ करोड २६ लाख २९ हजार रुपैयाँ निकालेर भाग्ने तयारीमा रहेका बेला प्रहरीले पक्रेको थियो। प्रहरीका अनुसार एटिएम बुथमा पाँच घण्टाभित्रमा १५ सयपटक कार्ड घोटेका थिए। राष्ट्रिय वाणिज्य बैंकको ठमेलस्थित एउटा एटिएम बुथमा स्विच ह्याक गर्न कार्ड प्रयोग गर्ने क्रममा मेसिनले कार्ड सिज गरेपछि पैसा निकाल्न असफल भएको प्रहरीले बताएको थियो। १३ भदौमा दरबारमार्ग वरिपरि, ठमेल, बालुवाटारआसपास एटिएम बुथबाट स्विच ह्याक गरी पैसा निकालिएको थियो। नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार