• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

भारतीय राजदूतलाई फोनमा कांग्रेस सभापति देउवाले भने, 'कालापानी र लिपुलेक नेपालको भूमि हो'

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिपुलेकको बारेमा नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग आज टेलिफोन संवाद गरेका छन् । 

 

सभापति देउवाले टेलिफोन मार्फत, भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

 

'सभापति शेरबहादुर देउवाले आज (बिहीबार) नेपालका लागि भारतीय राजदूत मञ्जिवसिँह पुरीसँग कालापानी र लिपुलेकका सन्दर्भमा टेलिफोन संवाद गर्नुभएको छ,' प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नक्सा प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनुभएको छ ।'

 

भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विट मार्फत कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेको थियो ।

 

कांग्रेसले विज्ञप्ति सार्वजनिक गर्दै मुलुकको सार्वभौम र राष्ट्रियता जस्तो महत्वपूर्ण प्रश्नमा विषयमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने बताएको छ । उनले नेपालको कुनै पनि स्थानको भूमि माथि हुने अतिक्रमण कांग्रेसलाई अस्वीकार्य रहेको पनि जिकिर गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार